|

काठमाडौँ : सरकारले ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम’ शुरु गर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘एक चिकित्सक/स्वास्थ्यकर्मी' कार्यविधि २०७७ मा पास गरिसकेको छ। सोही कार्यविधिअनुसार यही फागुन १ गतेदेखि काठमाडौंका तीनवटा ठूला सरकारी अस्पतालमा ‘एक चिकित्सक/स्वास्थ्यकर्मी’ कार्यक्रम सञ्चालन गरिन लागेको हो।

‘एक चिकित्सक/स्वास्थ्यकर्मी’ कार्यक्रम उपत्यकाका तीन ठूला संघीय सरकारी अस्पताल वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पतालमा यो कार्यक्रम शुरु गर्न लागेको हो।

‘एक चिकित्सक, एक स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ मा कुनै पनि सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक वा स्वास्थ्यकर्मीलाई एकभन्दा बढी संस्थामा काम गर्न नपाउने व्यवस्था लागू गरिने उल्लेख छ।

‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ स्वास्थ्य मन्त्रालयको महत्त्वाकांक्षी कार्यक्रम हो।

यसअघि यो कार्यक्रम स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७७।७८ मा लागू गर्न देशभरका १० वटा अस्पताल (प्यूठान अस्पताल, गोरखा अस्पताल, नुवाकोट अस्पताल, गजेन्द्रनारायणसिंह अस्पताल र पाँचथर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, भरतपुर अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल)मा बजेट विनियोजन गरेर कार्यक्रम लागू भएको घोषणा गरिए पनि कार्यान्वयन भने हुन सकेको थिएन।

यही कार्यक्रम अहिले आएर काठमाडौंका तीन ठूला अस्पतालमा सञ्चालन गर्न लागिएको हो।

स्वास्थ्य मन्त्रालयका नीति योजना महाशाखाका प्रमुख डा. कृष्ण पौडेलका अनुसार योपटक काठमाडौं उपत्यका तीनवटा ठूला सरकारी अस्पतालमा यो कार्यक्रम सञ्चालनमा ल्याउने निर्णय भएको बताए।

‘हामीले सकभर फागुन १ गतेबाटै वीर, परोपकार प्रसूति र कान्ति अस्पतालमा एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ सञ्चालन गर्ने तयारी गरेका छौँ। यदि फागुन १ गतेबाटै नसकिए पनि फागुन महिनाभित्र यी अस्पतालमा यो कार्यक्रम सञ्चालनमा आउँछ’‚ डा. पौडेलले भने।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक उच्च अधिकारीका अनुसार भने हाल वीर, कान्ति र परोपकार प्रसूतिगृहमा फागुनदेखि यो कार्यक्रम लागू गर्ने भनिए पनि आवश्यक बजेट नरहेको बताउँछन्। ‘अहिले यी अस्पतालमा यो कार्यक्रम लागू गर्न आवश्यक बजेट छुट्याइएको छैन। यो कार्यक्रमअन्तर्गत चिकित्सक र स्वास्थ्यकर्मीलाई दिने बजेट नछुट्याई यो निर्णय गरिएको छ। त्यसैले अहिलेलाई सस्तो लोकप्रियताका लागि मात्रै यो कार्यक्रम लागू गर्ने घोषणा गरिएको छ’‚ ती कर्मचारीले भने।

यो कार्यक्रम लागू भएपछि ती स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकले निजी अस्पतालमा काम गर्न पाउनेछैनन् भने कार्यक्षमताको आधारमा २ सयदेखि ३७५ प्रतिशतसम्म नन-प्राक्टिस भत्ता पाउनेछन्। चिकित्सक बाहेकका स्वास्थ्यका जनशक्तिलाई कार्यक्षमताको आधारमा ४० प्रतिशतसम्म भत्ता उपलब्ध गराउने एक चिकित्सक/स्वास्थ्यकर्मी कार्यविधि २०७७ नेपाल उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.