|

दाङ : लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसको अवसरमा विभिन्न ६१ जना व्यक्तिलाई विभूषित गरेको छ।

बुधबार दिवसका अवसरमा प्रदेश प्रमुख जनसेवा पदकबाट मरणोपरान्त जनार्दन यादव र जितबहादुर थापालाई विभूषित गरिएको छ। यादवलाई संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पुर्‍याएको र थापालाई जनयुद्धमार्फत लोकतान्त्रिक गणतन्त्र स्थापनामा विशेष योगदान पुर्‍याएको भन्दै विभूषित गरिएको हो। थापा घाइते समेत हुन्।

त्यस्तै मुख्यमन्त्री प्रज्वलदीप पदकबाट डाक्टर मोहिउद्दिन किदबाई र डाक्टर राजन पाण्डेलाई विभूषित गरिएको छ। डाक्टर किदबाईलाई नेपालमै अधिक जनताको शल्यक्रिया गरी जनस्वास्थ्यमा उल्लेख्य योगदान गरेको र पाण्डेलाई तराईका थारू समुदायमा समस्याका रूपमा रहेको सिकलसेल एनिमिया र थालसेमिया सम्बन्धी स्वास्थ्य समस्या पत्ता लगाई उक्त रोगको उपचारलाई प्रभावकारी बनाउने सम्बन्धमा अध्ययन अनुसन्धानमा सहयोग पुर्‍याएको भन्दै विभूषित गरिएको हो।

त्यस्तै प्रदेश सेवा समर्पण पदकबाट डाक्टर विकास देवकोटा, पूर्णमान वली, सीता घिमिरे, मोहन पाण्डे, पुष्पराज पाण्डे, शिवप्रसाद चौधरी, टंकबहादुर गुरुङ, डाक्टर परवेज आलम, शारदाकुमारी चौधरी, कुन्दनकुमार सिंह, भोगबहादुर खड्कालाई प्रदान गरिएको छ। त्यस्तै उजीरसिंह दीप पदकबाट डीएसपी मुकुन्दप्रसाद रिजाल, प्रहरी निरीक्षक रञ्जु केसी, हृदयेशकुमार सापकोटा, नवीन चुदाली, दामोदर मल्ल, मदन गैरे, सुरेन्द्र केसी, मोहन विष्टलाई प्रदान गरिएको छ।

समाजसेवा श्री पदकबाट डाक्टर किशोर खत्री, विमल रिजाल, टोपबहादुर घर्ती, मोहम्मद इरफान सिद्दिकी, मेघराज कक्षपति, खेम पुन (मरणोपरान्त) विभूषित गरिएको छ।

त्यस्तै प्रदेश रत्नपदकबाट कृष्णराज सर्वहारी, नारायण खड्का, भूपाल पोख्रेल, भीमप्रसाद वाग्ले, हरिबहादुर वली, आशुतोष बराल, जीवन गिरी, शिवनन्दन जयसवाल, हरिकेश यादव, गिरिराज शर्मा, केशबहादुर कार्की, पूर्णबहादुर चौधरी (मरणोपरान्त), पवित्रा घर्तीमगर, मेघराज ज्ञवाली, जगतराम यादव, कर्णबहादुर बुढामगर, ध्रुव गन्धर्व, मनोज पौडेल, टीकाराम अर्याल, शिबु खनाललाई विभूषित गरिएको छ।

त्यस्तै प्रदेश प्रज्ञा पदकबाट डा. इन्द्रबहादुर भण्डारी, प्रा.डा. लक्ष्मण ज्ञवाली, अमिर आजम मियालाई विभूषित गरिएको छ। प्रजापति गौतमी पदकबाट औँशी विक, राधा घिमिरे (मरणोपरान्त), मीना शर्मालाई विभूषित गरिएको छ। दंगीशरण बलिहाङ पदकबाट चन्द्रिका यादव (मरणोपरान्त), लल्लुराम थारू, गोवर्धन थापा, मनोज पौडेल, दुर्गेश यादव (मरणोपरान्त) विभूषित गरिएको छ।

यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आगामी पाँच वर्षमा प्रवेशवासीलाई नमुना राजधानी शहर हस्तान्तरण गर्ने बताए। कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी पाँच वर्षभित्र प्रदेशको राजधानीलाई नमुना शहरका रूपमा विकास गर्ने दावी गरे।

‘मिनी नेपालका रूपमा रहेको प्रदेशलाई मुलुककै उत्कृष्ट र नमुना प्रदेश बनाउने अभियानमा सरकार लागि परेको छ’‚ उनले भने, ‘हामी आगामी ५ वर्षभित्र पूर्वाधार सम्पन्न र जनतालाई समृद्ध र आत्मनिर्भर बनाउने गरी काम गरिरहेका छौं। नागरिकलाई परिवर्तनको आभास दिलाउने गरी काम गर्छौ।’

उनले प्रदेशको समृद्धिका आधार खोजी गर्दै सरकार अगाडि बढ्ने समेत बताए। उनले भने, ‘प्रदेशको समृद्धिका आधारको खोजी गर्दै सरकार अगाडि बढ्नेछ। कृषि र पर्यटनको माध्यमबाट आर्थिक समृद्धिको आधार खडा गरेर लुम्बिनीलाई समृद्ध र समुन्नत प्रदेश बनाउनेछौं।’

पूर्वाधारको विकासले मात्र प्रदेश समृद्ध नहुने भन्दै जनताको जीवनस्तर उकास्ने गरी काम गर्ने समेत बताए। समृद्धिसँग पूर्वाधार विकासलाई मात्र जोड्ने गरिन्छ तर पूर्वाधारको विकास हुँदैमा मुलुक समृद्ध बन्दैन। जनताको जीवनस्तरमा सुधार नआउँदासम्म समृद्धिको अर्थ रहँदैन भन्ने विषयलाई आत्मसात गर्दै सरकारले पूर्वाधारको विकाससँगै नागरिकको जीवनस्तर उकास्ने विषयलाई पनि सँगसँगै अगाडि उनको भनाइ थियो।

संघीयता कार्यान्वयनका लागि प्रदेश सरकारका पाँच वर्ष उपलब्धिमूलक रहेको भन्दै उनले पूर्वाधार र कानुनको अभावमा शून्यबाट कार्य प्रारम्भ गरेको प्रदेश सरकारले पाँच वर्षमा ७२ वटा कानुन निर्माण गरेको पनि उल्लेख गरे। उनले प्रदेशवासीले अपनत्व महसुस गर्ने गरी प्रदेशको राजधानी र नामकरण टुंगो लगाएका भन्दै संघीयता कार्यान्वयनसँगै अब विकास र समृद्धिको यात्रालाई तीव्र रूपमा अगाडि बढाउने पनि बताए।

स्थापना दिवसको अवसरमा विभिन्न समुदायको कला संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएको थियो। पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई नगद २५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरेर पुरस्कृत गरिएको थियो।

भूम्या झाँकी घोराही प्रथम भएको छ। नौमती बाजा नेपाल मगर सांस्कृतिक संघ राप्ती दोस्रो र बड्का नाच जागृति सांस्कृतिक राप्ती ७ तेस्रो भएको छ। झुम्रा नाच प्रस्तुत गर्ने शिव युवा क्लब लमही र नव प्रगतिशील युवा क्लब राप्तीले सान्त्वना पुरस्कार पाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.