|
प्रतीकात्मक तस्विर

सल्यान : वर्षा नभएपछि जिल्लाका अधिकांश भागमा हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन्। पानी अभावमा गहुँ, जौ, चना, मसुरो लगायतका हिउँदेखेती खेतबारीमै सुक्न थालेका हुन्।

शारदा नगरपालिका ६ खतिगाउँकी द्रुपती खत्रीले पानी नपर्दा सबै बाली सुकेको बताइन्। ‘गत वर्ष हिउँदमा धेरैपटक वर्षा भएको थियो। तर अहिले एक पटक पनि पानी परेको छैन’,उनले भनिन्, ‘पाखोबारीमा लगाएको गहुँ, तोरी, मसुरो सबै सुक्न थालेका छन्।’ 

अर्की किसान अमृता बस्नेतले अर्को सालका लागि बीउ पनि उठ्दैन जस्तो भएको बताइन्। ‘पानी नपर्दा पाखोबारीमा त केही भएन सिँचाइ भएको खेतको बालीनाली पनि राम्रो छैन’, उनले भनिन्,‘आकाशे पानी जस्तो हुँदो रहेनछ।’ 

वर्षा नहुदाँ हिउँदेबालीका साथै फलफूलका बोटबिरूवा पनि सुकेको धिरना बुढाथोकीले बताइन्।। सिँचाइ सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव परेको र यसले उत्पादनमा कमी आउने उनको भनाइ छ। 

कृषि विकास कार्यालयका अनुसार जिल्लामा करिब १४ हजार २०० हेक्टर क्षेत्रफलमा गहुँ खेती हुँदै आएको छ । ४५ हजार ५६७ हेक्टर खेतीयोग्य जमिनमध्ये ३८ हजार ९२६ हेक्टरमा मात्र खेती हुन्छ। 

सिँचाइ सुविधा नहुँदा यहाँका किसानले आकाशे पानीको भरमा खेती गर्दै आइरहेका छन्। ७ हजार ५९ हेक्टर खेत र ३१ हजार ८ सय ६७ हेक्टर पाखोबारी रहेको जिल्लामा करिब १० हजार हेक्टरमा मात्र आंशिक तथा वर्षभर सिँचाइ हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.