|

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले घरेलु मैदानमा हुने श्रृंखला ‘क्लिन स्विप’ गर्ने लक्ष्यमा रहेको बताएका छन्। 

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले बिहीबार लिगको अन्तिम श्रृंखला घरेलु मैदानमा खेल्दै छ। श्रृंखलामा भ्रमणकारी दुई टोली संयुक्त अरब इमिरेट्स (युएई), पपुवान्युगिनी (पिएनजी) र नेपालबीच त्रिदेशीय खेल हुने छन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने श्रृंखलामा नेपालले सबै खेल ‘क्लिन स्विप’ गरे विश्वकप छनोटको अवसर पाउने भएकाले नेपाली टोलीका कप्तान पौडेलले सबै खेल जित्ने लक्ष्यका साथ खेल्ने बताएका हुन्।

पछिल्लो पटक भ्रमण गरेका देशसँग पुनः घरेलु मैदानमा खेल्दा टोलीलाई दर्शकको साथ हुने र बलिङ र ब्याटिङ सबै थाहा हुने भएकाले खेल्न सहज हुने उनले बताए। उनले घरेलु मैदान भएकाले पनि नेपाली टोलीलाई खेल्न अझ सहज हुने उनको तर्क थियो।

लिग-२ को शीर्ष तीनमा उक्लिनका लागि गरिएको योजनाअनुसार नै नेपाल खेल्न सफल भएको र अन्तिम श्रृंखलामा पनि अपेक्षाअनुसार परिणाम ल्याउने कप्तान पौडेलले विश्वास व्यक्त गरे।

उनले युएई भ्रमणमा ब्याटिङ केही खस्केको तर कीर्तिपुर मैदानमा सबै खेलाडी अभ्यस्त भएकाले राम्रो खेल खेल्ने विश्वास व्यक्त गरे। उनले कुशल भूर्तेल चोटमुक्त हुँदै खेलमा फर्किनेसमेत बताए। 

नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाई बिहीबार शुरु हुने शृंखलाका ४ खेलमा आफूले ध्यान केन्द्रित गरेको र सबै खेल कठिन भएको बताए। युएई र पिएनजी दुवै टोली बलियो प्रतिद्वन्द्वी भएको र लिगको अन्तिम श्रृंखला भएकाले सबै खेल प्रतिष्पर्धात्मक हुने अपेक्षा उनको छ।

श्रृंखलामा सहभागी हुन नेपाल भ्रमणमा आएका टोली युएई र पिएनजीले पनि खेलमा जितकै लागि घरेलु टोलीसँग प्रतिष्पर्धा गर्ने बताए।

सो क्रममा युएई टोलीका खेलाडी सदस्य भृत्य अरविन्दले नेपालमा हुन लागेको श्रृंखला नयाँ श्रृंखला भएको र एकदिवसीय मान्यताका लागि मेहनत गर्ने बताए। उनले घरेलु दर्शकसामु खेल्न आफ्नो टोली आतुर रहेको पनि बताए।

विश्वकप क्रिकेट लिग–२ को पुछारमा रहेको टोली पिएनजीका कप्तान असद भालाले पछिल्लो समय आफ्नो टोली पराजित भए पनि सम्मानजनक खेल खेलेको बताए।

खेलमा भएका केही कमी कमजोरी सुधार गर्दै खेल्न सके अन्तिम श्रृंखलामा सुखद् नतिजा निकाल्ने उनले बताए। खेल जित्ने लक्ष्यका साथ टोलीले अभ्यास गरिरहेको र राम्रो खेलेर लिगको अन्त्य सुखद् गर्ने योजनामा टोली रहेको उनले बताए।

घरेलु मैदानमा बिहीबार शुरु हुन लागेको अन्तिम श्रृखंलाका लागि नेपाली टोली घोषणा पनि भइसकेको छ। ​

रोहितकुमार पौडेलको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ। टोलीमा युएईमा भर्खरै सम्पन्न लिग–२ खेलेका खेलाडीलाई नै निरन्तरता दिइएको छ।

श्रृंखला फागुन २५ गतेदेखि चैत २ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदै छ। लिग-२ को शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउन नेपालले घरेलु मैदानमा हुने यो शृंखलाका ४ वटै खेल जित्नुपर्नेछ भने एकदिवसीय मान्यता जोगाउन २ खेल जित्नुपर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.