|

काठमाडौं : आइसीसी विश्वकप लिग टू क्रिकेटमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई जितका लागि २ सय ९८ रनको विशाल चुनौती प्रस्तुत गरेको छ।

घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले ४९ दशमलव  १ ओभरमा सबै विकेट गुमाएर २ सय ९७ रन बनाएको हो।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको यो नै अहिलेसम्मको उच्च स्कोर हो। यसअघि नेपालले नामिबियाविरुद्ध ४७ दशमलव ४ ओभरमा २ सय ८७ रन बनाएको थियो। 

नेपालका लागि आसिफ शेखले शतकीय पारी खेले । १ सय १० बल खेलेका उनले १२ चौका र २ छक्काको मद्दतमा १ सय १० रन जोडे। कुशल भुर्तेलले ४५, भीम सार्कीले ४४, कप्तान रोहित पौडेलले ३०, आरिफ शेखले १५ रन बनाउँदा कुशल मल्ल २, ज्ञानेन्द्र मल्ल ११, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने ७/७ र करण केसी ८ रन बनाएर आउट भए। सोमपाल कामी ४ रनमा अविजित रहे। 

किर्तिपुर क्रिकेट मैदानमा अहिले पीएनजीले जवाफी ब्याटिङ गरिरहेको छ। त्रिकोणात्मक सिरिजमा नेपालले युएई र पीएनजीसँग समान २–२ खेल खेल्नेछ ।

नेपालले फागुन २८ मा युएईसँग, फागुन २९ मा पपुवा न्युगिनीसँग र चैत २ मा युएईसँग अन्तिम खेल खेल्नेछ। यसअघि नेपालले युएई भ्रमणमा तीन जित निकाल्दै ६ अंक बटुल्न सफल भएको थियो ।

घरेलु मैदानमा हुने चार खेल क्लीन स्वीप गर्न सके नेपालले शीर्ष तीनमा रहँदै सिधै विश्वकप छनोटमा स्थान बनाउने छ।

नेपाल ३२ खेलबाट ३२ अंक जोडेर तालिकाको पाँचौ र समान खेलबाट ३१ अंक जोडेर युएई छैटौँ स्थानमा छ। ५० अंकसहित स्कटल्याण्ड च्याम्पियन बनिसकेको छ । दोस्रो स्थानको ओमानको ४४ अंक छ । ३९ अंकसहित नामिबिया तेस्रो स्थानमा छ । ३५ अंकसहित अमेरिका चौथो स्थानमा छ ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.