कावासोती : नेपाली सेनाको बम डिस्पोजल टोलीले पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा भेटिएका ९ वटा बेवारिसे बम सोमबार निष्क्रिय बनाएको छ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले कावासोती–१ मा रहेको नेपाली सेनाको २ नं वन तथा पर्यावरण सुरक्षा गण हात्तीखोरको टोलीले बम फेला परेको स्थानमा पुगेर सबै बम निष्क्रिय पारेको जानकारी दिए।
प्रहरी प्रमुख तिवारीका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले आइतबार फेला परेका ८१ एमएम मोटरका बम (गोला) निष्क्रिय पारेको हो।
आइतबार बारीमा बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए। स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार बालबालिकाले जङ्गलनजिकै रहेको बारीमा ती बमका गोला देखेका थिए।
जङ्गलमा गाईवस्तु चराउन गएका गोठालाहरूले बारीमा बम देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा ९ वटा बम फेला परेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।