|

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन १४ क्याम्पसमा रोकिएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले ४८ क्याम्पसहरूमा निर्वाचन भइसकेको पनि अझै यी जिल्लामा हुन नसकेको जानकारी दिए।

त्रिविका ६२ आंगिक क्याम्पस छन्। ‘अरू क्याम्पसमा समानुपातिकसहित निर्वाचन सम्पन्न भइसक्यो, शुक्रबार मात्रै ३ वटा क्याम्पसमा भयो,अब १४ वटा क्याम्पसमा हुन बाँकी छ,’ उनले भने। 

उनका अनुसार काठमाडौं उपत्यकासहित बाहिर जिल्लाका क्याम्पसहरूमा निर्वाचन पनि रोकिएको छ। उपत्यकामा आरआर क्याम्पस, विश्वभाषा क्याम्पस, नेपाल कर्मस क्याम्पस, पाटन संयुक्त क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस र अमृत साइन्स क्याम्पसमा निर्वाचन रोकिएको छ।

छिटो निर्वाचन गर्न अदालतको अन्तरिम आदेश तर अझै अन्योल

नियमित हुन नसकेको स्ववियु निर्वाचन त्रिविले १४ वर्षपछि चैत ५ गते देशभरका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा गर्न मिति तोकेको थियो। तर उक्त दिन विद्यार्थी संगठनहरूकै विवाद, क्याम्पस प्रशासनको कमजोरीलगायत कारणले सबै क्याम्पसमा निर्वाचन हुन सकेन। 

त्यसपछि त्रिविले विभिन्न विवादका कारण चुनाव रोकिएका क्याम्पसमा यही चैत १२ गतेभित्र स्ववियु निर्वाचन गर्न क्याम्पसहरूलाई निर्देशन दिएको थियो।

त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले परीक्षा सञ्चालन हुने भएकाले सोभन्दा अगाडि नै रोकिएका क्याम्पसमा स्ववियु निर्वाचन गराउन निर्देशन दिँदै आपसी सहमति गरी निर्वाचन प्रक्रिया अगाडि बढाउनु भनेका थिए तर निर्देशनको ७ दिन बित्दा पनि निर्देशन पालना भएन।

समयमा निर्वाचन नभएपछि छिटो गर्न उच्च अदालत पाटनमा रिट परेको थियो। उच्च अदालत पाटनले चैत १४ गते रोकिएको रत्नराज्य, नेपाल कमर्श र पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तत्काल गर्न अन्तरिम आदेश जारी गरिसकेको छ। 

‘विद्यार्थीको हक हितका लागि स्थापित स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई अनिश्चितकालसम्म स्थगन गर्न मनासिव नदेखिँदा विद्यार्थीको हकहितलाई दृष्टिगत गर्दा सुविधा सन्तुलनको दृष्टिले यथाशक्य चाँडो सम्बद्ध सबै पक्षलाई समावेश गराई समन्वय गरी निर्वाचन हुने मिति तोकी निर्वाचनसम्बन्धी बाँकी काम कारबाही गर्नु/गराउनू’, न्यायाधीश जगदीश घिमिरेको एकल इजलासबाट जारी आदेशमा भनिएको छ। तर पनि अझै निर्वाचन हुन सकेको छैन।

आरआर र पाटन क्याम्पसमा तोकियो निर्वाचन मिति 

आरआर क्याम्पसमा स्ववियु निर्वाचनको लागि पटक पटक सर्वदलीय बैठक बस्यो। आरआर क्याम्पस प्रमुख प्राडा जीवनधर ज्ञवालीले छिटो निर्वाचन गराउन विद्यार्थी संगठन, उम्मेदवारलगायत सम्बन्धितसँग छलफल गर्दै आइरहेको जानकारी दिए।

सहमति भएपछि निर्वाचन गराउने प्रतिबद्धता उनले जनाए। अन्ततः आज (आइतबार) बसेको बैठकले भने मिति तोकेको छ।

एमालेनिकट अनेरास्ववियु आरआर क्याम्पस कमिटीका संयोजक लोकेसकुमार खड्काका अनुसार आइतबार बसेको सर्वदलीय बैठकले चैत २६ गते निर्वाचन गर्ने निर्णय गरेकाे छ। 

पाटन संयुक्त क्याम्पसमा भने यही चैत २५ गते निर्वाचन गर्ने मिति तय भएको छ। क्याम्पस प्रमुख डा.लक्ष्मण सिंह कुवँरले स्थगित निर्वाचन २५ गते गर्ने गरी सहमति भइसकेको जानकारी दिएका छन्। तोकिएको समयमा निर्वाचन हुने र कुनै पनि अवरोध नगर्न उनको आग्रह छ।

त्रिवि भन्छ : वैशाख ४ गतेसम्म निर्वाचन हुन्छ

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक अधिकारीले स्थगित भएका सबै क्याम्पसहरूमा आगामी वैशाख ४ गतेसम्ममा सम्पन्न हुने जानकारी दिए। उनले अहिले पनि निर्वाचन हुने क्रम चलिरहेको बताए।

‘स्ववियु निर्वाचन भइरहन्छ, अस्ति पनि भयो। आगामी वैशाख ४ गतेसम्म चलिरहन्छ, सकिन्छ,’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.