|

काभ्रे : जिल्लाको खानीखोला गाउँपालिकाले नयाँ वर्षको अवसर पारेर ‘प्रथम खानीखोला कप खेलकुद प्रतियोगिता’ आयोजना गर्ने भएको छ। गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले वैशाख १ गतेदेखि दुई दिन सञ्चालन हुने प्रतियोगितामा फुटबल, भलिबल र कराते समावेश गरिएको जानकारी दिए।

अध्यक्ष थिङका अनुसार गाउँपालिकाको खेलकुद विकास समितिका आयोजनामा ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारालाई आत्मसात गर्दै खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो।

अध्यक्ष थिङले फुटबल र भलिबलका प्रथम, द्वितीय र तृतीय हुने टिमले पुरस्कार स्वरूप क्रमशः २५ हजार रुपैयाँ, २० हजार र १५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने बताए।

त्यसैगरी करातेतर्फका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले जनही नगद १० हजार, ७ हजार र ५ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउनेछन्। कराँतेमा पुरुषको २५ केजीदेखि ६० र महिलाको २५ देखि ५५ सम्मका तौल समूह प्रतियोगितामा सहभागी हुन पाउनेछन्।

गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखाका प्रमुख विष्णुबहादुर अधिकारीले फुटबल र भलिबल प्रतियोगिता वडास्तरीय तथा करातेतर्फ पुरुष र महिला दुवै खेल खुला हुने बताए। उनका अनुसार सहभागी हुन इच्छुक वडाले ३० चैतभित्र २ हजार शुल्कसहित टिम दर्ता गरिसक्नु पर्नेछ।

त्यस्तै खानीखोला गाउँपालिकाको खेलकुद विकास समितिका संयोजक प्रेमप्रकाश लामाले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई गापाको टिममा समावेश गरिने बताए।

अनुशासन उल्लंघन गर्ने खेलाडी वा टिमलाई खेलबाट निष्काशन गर्नुका साथै कुनै प्रकारको दावी विरोध परे अन्तिम निर्णय आयोजकको हुने उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.