|

काठमाडौं : प्रतिनिधिसभामा पहिलो दल रहेको नेपाली कांग्रेस तेस्रो दलको नेतृत्वको सरकारमा सहभागी छ। ८९ सिटसहित सबैभन्दा ठूलो दल रहेको कांग्रेसले ३२ सिट रहेको माओवादी केन्द्रको नेतृत्वको सरकारमा आफ्ना मन्त्री पठाएको छ। 

सरकारमा ८ मध्ये चार मात्रै मन्त्री पठाएको कांग्रेस सरकारको नेतृत्व  लिन अग्रसर देखिएको छ। पछिल्लो समय शीर्ष नेताबाट आएका अभिव्यक्तिलाई हेर्दा कांग्रेस सरकारको नेतृत्व लिन अग्रसर देखिएको भान हुन्छ।  

कांग्रेसका सभापति र महामन्त्री नै प्रचण्ड नेतृत्वको सरकारको आलोचना गर्दै चाँडै सरकारको नेतृत्वमा आफूहरू आउने बताउन थालेका छन्। 

०७९ चैत २८ गते नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै भने, ‘आज हाम्रो पार्टी सरकारमा छ। अब सरकारको नेतृत्व गर्ने सम्भावना पनि छ। धेरै वर्ष सरकारको नेतृत्व गरेको पनि हो।’ 

यस्तै कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरे। शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीलाई किन यति फुर्सद? भन्दै आक्रोश व्यक्त गरे। 

महामन्त्री थापाले भने, ‘हाम्रो प्रधानमन्त्रीलाई किन यति फुर्सद छ? उद्घाटन, शिलान्यास र भाषणमा समय व्यतित गरिरहनु भएको छ। म चकित परिरहेको छु। प्रधानमन्त्रीले टिम चलाउने हो एक्लै हिँड्ने होइन। प्रधानमन्त्रीले योबेला सबैभन्दा चुस्त टिम बनाउनुपर्छ । टिमलाई चलाएर अघि बढ्नुपर्छ।’

साथै कांग्रेसले पाँच वर्ष सरकारको नेतृत्व गर्ने उनको दाबी छ। महामन्त्री थापाले भने, ‘पाँच वर्ष देशको सरकार कसले चलाउने ? कांग्रेसले चलाउने। प्रदेश र स्थानीय सरकार हामीले चलाउने। अब कसैलाई दोष दिएर पन्छिन पाइन्न। परिणाम दिनु पर्छ, रिजल्ट चाहिन्छ। त्यो रिजल्ट दिने कुरामा हामी काम गर्छौं।’

कांग्रेस नेताहरूका पछिल्ला अभिव्यक्तिबाट स्वंय प्रधानमन्त्री प्रचण्ड संशकित देखिएका छन्। कांग्रेसको जिम्मेवार व्यक्ति सभापति र महामन्त्रीले सरकार परिवर्तनको विषयमा अभिव्यक्ति दिएपछि उनी सशंकित बनेका हुन्। 

प्रधानमन्त्री प्रचण्डले शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा कार्यकर्तासँगको छलफलमा स्थिति सहज नभएको तर्क गरे।  

‘अहिले हामी सरकारमा छौँ, मन्त्री छौँ, प्रधानमन्त्री छौँ, त्यसकारण अहिलेको उपलब्धि उल्टिँदैन होला जस्तो लाग्न पनि सक्छ, म बुझिने गरी भन्न चाहन्छु, यो स्थिति सहज छैन,’ गठबन्धन भत्किनसक्ने तर्फ संकेत गर्दै उनले भने, ‘सम्पूर्ण परिवर्तनलाई कसरी असफल बनाएर विचलनमा लैजान सकिन्छ भन्ने कसरत ठूलै छ।’

माओवादी केन्द्रका नेता शिवकुमार मण्डल कांग्रेसलाई आफूहरूलाई विश्वास गरेकाले धोका दिए दुर्भाग्यपूर्ण हुने बताउँछन्। 

‘विगतमा पनि कांग्रेसले आफूले बोलेको कुराहरूलाई कार्यान्वयन नगरेको सर्वविदितै छ। त्यसका बाबजुद पनि लोकतान्त्रिक विधि र पद्धतिलाई मान्ने संविधानको कार्यान्वयन गर्ने विषयमा न्यूनतम कुराहरू पूरा गर्न सक्छ भनेर गठबन्धन बनेको हो,’ उनले भने, ‘तर, धोका दिने र सरकारको नेतृत्व गर्ने अवस्था आए दुर्भाग्यपूर्ण हुन्छ र राजनीतिक रूपमा ठूलो संकट आइपर्ने परिस्थिति बन्न सक्छ। कांग्रेसले एक्लै जितेर ल्याएको परिणाम होइन। माओवादी केन्द्रले इमान्दारिता पूर्वक कार्यान्वयन गरे पनि कांग्रेसले बेइमानी देखाउने चिन्ता बढेको छ। कांग्रेस महत्वाकांक्षी बन्ने कुरा नौलो होइन। तर, पनि हामीले विश्वास गर्यों।’

राष्ट्रपति पाएपछि कांग्रेसबाट ‘बेइमानी’ काे डर!

प्रधानमन्त्री प्रचण्डले माघ १३ गते पार्टीको केन्द्रीय समिति बैठकबाट राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने निर्णय गराए। पुस १० मा भएको अनौपचारिक समझादारीमा राष्ट्रपति एमालेलाई दिन राजी भएका प्रचण्ड एकाएक आफ्नो निर्णयबाट व्याक भए। 

उनले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुको अर्थ कांग्रेसलाई राष्ट्रपति दिनु थियो। सोही अनुरूप उनले फागुन १२ गते मंसिर ४ को गठबन्धन ब्यूँताए। उक्त विषयलाई लिएर सत्ता गठबन्धन दल एमाले, राप्रपा सरकारबाट बाहिरिए। प्रचण्डले सरकारको नेतृत्वमा आफ्नो सुनिश्चितता खोज्न कांग्रेसलाई राष्ट्रपति, जनता समाजवादी पार्टीलाई उपराष्ट्रपति बनाउन सहयोग गरे। 

राष्ट्रपतिमा एमाले र राप्रपा बाहेकको सहमति बन्यो। फागुन २५ गते मुलुकले तेस्रो नयाँ राष्ट्रपति पायो। कांग्रेसबाट रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए।उपराष्ट्रपति जनता समाजवादी पार्टीले हात पार्यो। जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भए।

प्रधानमन्त्री सुनिश्चित गर्न राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख त्यागेका प्रचण्ड पुनः संकटमा देखिएका छन्। माओवादी केन्द्रलाई कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने डर छ। 

‘पुस १० गतेसम्मको घटनाक्रम हेर्दा कांग्रेसले धोका दिएको स्पष्ट हुन्छ। ३२ सिटमा रहेका हामी (माओवादी केन्द्र) लाई प्रधानमन्त्री दिन कांग्रेस तयार छैन। यो स्वभाविक पनि हो। किनकि कांग्रेस संसदको सबैभन्दा ठूलो दल पनि हो,’ माओवादी केन्द्रका एक नेताले थाहाखबरसँग भने, ‘कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने सम्भावना छ।’ 

अहिलेको गठबन्धन दलबीच दुई वर्ष प्रचण्डले सरकारको नेतृत्व गरेपछि बीचको एक वर्ष नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री दिने सहमति छ। त्यसपछि मात्रै शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने समझदारी भएकाले अझै तीन वर्ष कुर्न नसक्ने परिस्थितमा कांग्रेस पुगेको शीर्ष नेताकै अभिव्यक्तिबाट पुष्टि हुन्छ। 

मन्त्रिमण्डल अपूर्ण

प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलले अझै पूर्णता पाएको छैन। चैत १७ भएको मन्त्रिमण्डल विस्तार अपूर्ण हुँदा ६ वटा मन्त्रालयको जिम्मा प्रचण्डको काँधमा रहेको छ। कांग्रेसले चार र जसपाले एक मन्त्रीको नाम नदिँदा मन्त्रिमण्डल अपूर्ण बनेको हो। कांग्रेस भित्रको शेखर–गगन समूहले तीन मन्त्रालयमा दाबी गरेपछि देउवाले नाम पठाउन ढिलाई गरेका हुन्।

यस्तै जनमत पार्टीका मन्त्री अब्दुल खानले राजीनामा दिएपछि खानेपानी मन्त्रालय मन्त्रीविहीन छ। सभापति देउवाले शेखर–गगन समूहलाई दुई वटा मन्त्रालय दिएपछि असन्तुष्ट बनेको उक्त समूहले तीन मन्त्रालय नछोड्ने अडान लिएको हो। कांग्रेस–जसपाभित्रको आन्तरिक संघर्षले सरकारले पूर्णता पाउन सकेको छैन।

सभापति देउवाको प्रधानमन्त्री बन्ने तीव्र उत्कण्ठाले मन्त्रीको नाम अड्काएर राखेको आरोप माओवादी केन्द्रका नेताहरू लगाउँछन्। देउवा–शेखरको मिलेमतोमा पार्टीभित्रको असन्तुष्टिलाई देखाएर मन्त्रीको नाम नपठाएको माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्य बताउँछन्। 

कांग्रेसले सरकारको नेतृत्व लिन जानाजान मन्त्रीको नाम नदिएको हो? भन्ने हाम्रो प्रश्नमा ती स्थायी कमिटी सदस्यले भने, ‘कांग्रेस नेताहरूका पछिल्ला अभिव्यक्ति हेर्दा उनीहरूले रणनीतिक रुपमा मन्त्रीको नाम दिन ढिलाई गरेको आँकलन गर्न सकिन्छ।’  

सरकारमा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसहित पाँच मन्त्री र एक राज्यमन्त्री, नेपाली कांग्रेसबाट चार मन्त्री, जसपाबाट एक मन्त्री, नेकपा एसबाट दुई मन्त्री, नागरिक उन्मुक्ति पार्टीबाट एक मन्त्री, लोसपाबाट एक र नेपाल समाजवादी पार्टीबाट एक मन्त्री सरकारमा छन्। 

प्रचण्डले भुलेको विगत...

मंसिर ४ मा प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन भयो। प्रतिनिधिसभामा २७५ सिटमध्ये कुनै पनि दलले एकल सरकार बनाउन बहुमत(१३८ सिट) ल्याउन सकेनन्। फेरि पनि गठबन्धनको सरकार बन्ने भयो। तर, कसको नेतृत्वमा सरकार गठन हुने भन्ने विषय अन्योल थियो। यद्यपि गठबन्धनमा रहेका कारणले माओवादी केन्द्रले सरकारको नेतृत्वमा दाबी गर्याे। प्रधानमन्त्री एवं सभापति देउवाले सरकारको नेतृत्व प्रचण्डलाई छोड्ने बताए पनि अन्तिम समयमा पहिलो कार्यकाल आफूलाई दिन आग्रह गरे।

पुस १० गते बिहानसम्म अन्तिम सहमतिका लागि गठबन्धन दल कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, लोसपाले छलफल जारी राखे। तर, देउवा प्रचण्डलाई प्रधानमन्त्री छोड्न राजी भएनन्।

नेकपा एमालेसँग निरन्तर संवादमा रहेको माओवादी केन्द्रले कांग्रेससहितको गठबन्धन छोडेर नयाँ गठबन्धन बनाउने निर्णय लियो। प्रधानमन्त्री पाएपछि प्रचण्ड केपी शर्मा ओली निवास बालकोट पुगे। एमाले प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्न राजी भयो।

कांग्रेसले पूर्वसहमति अनुसार प्रधानमन्त्री नछाडेपछि प्रचण्ड नयाँ गठबन्धन बनाउन राजी भएका हुन्। यद्यपी उनले एमालेसहितको गठबन्धनलाई धेरैदिन टिकाउन सकेनन्। पुस २५ गते कांग्रेससहितका अधिकांश दलको समर्थन पाएका प्रचण्डले कांग्रेसले पुस १० मा पेलेको बिगत बिर्सिए। 

फागुन १२ मा प्रचण्डले कांग्रेसले प्रधानमन्त्री नदिएको रिस बिर्सिएर पुरानै गठबन्धन ब्यूँत्याए। प्रचण्डले पुरानै गठबन्धन ब्यूँत्याएपछि राप्रपाले फागुन १३ र एमालेले १५ गते सरकार र गठबन्धन दुवै छोडेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.