|

सल्यान : राप्ती लोकमार्गअन्तर्गत दाङ, सल्यान, रुकुम सडकखण्ड सुधारको माग गर्दै सल्यानी युवाले हस्ताक्षर संकलन अभियान थालेका छन्।

पटक पटक बजेट छुट्याएर पनि काम नभएको र सडकको अवस्था दिनप्रतिदिन जीर्ण बन्दै गएको भन्दै युवाहरुले हस्ताक्षर संकलन अभियान सुरु गरेका हुन्।

उनीहरुले लोकमार्ग सुधारका लागि सकारात्मक अपेक्षासहित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक डिभिजन कार्यालय दाङ घोराहीमा बुझाउने गरि हस्ताक्षर संकलन अभियान चलाएको समृद्ध सल्यान निर्माण अभियानका संयोजक ध्रुवराज वलीले जानकारी दिए।

उनका अनुसार विशेष गरि कपुरकोट-चोरखोला सडक जीर्ण बन्दै गएको र दुर्घटनाको जोखिमसमेत बढेकाले तत्काल सुधार गर्न शुक्रबार हस्ताक्षर अभियान शुरु गरिएको हो।

प्रतिनिधिमूलक हस्ताक्षर संकलन गरेर सल्यानीको ५ बुँदे ऐक्यबद्धतासहित प्रधानमन्त्री कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक डिभिजन कार्यालयमा डेलिकेशन जाने उनले बताए। सडक जीर्ण भएकै कारण जिल्लाको पर्यटकीय क्षेत्रमा असर पर्नुका साथै पर्यटकहरु आउन छोडेको अभियन्ता वलीको भनाई छ।

राप्ती लोकमार्ग ३ जिल्लाको लाइफलाईन सडकका रुपमा रहेकाले सुधार गर्ने काम चलेको भए पनि त्यसले साकार रुप पाउन सकेको छैन। सल्यानका नागरिक र स्थानीय बासिन्दाले पनि तत्काल राप्ती लोकमार्ग बनाउनु पर्नेमा जोड दिँदै आइरहेका छन्।

अहिले राप्ती लोकमार्ग मर्मतसम्भार गर्न १८ वटा ठेक्का लागेका छन्। जसमध्ये ५ वटा ठेक्का अहिले पनि अलपत्र परेको जानकारी सडक डिभिजन कार्यालय दाङले दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.