|

विराटनगर : नेकपा माओवादी केन्द्रले ‘वाइफाई फ्रि विराटनगर, सामाजिक न्यायसहितको समृद्ध महानगर’ भन्ने नाराका साथ आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ।

विराटनगरको मारवाडी सेवा सदनमा आयोजित कार्यक्रममा पूर्व शिक्षमन्त्री तथा नेकपा मओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्।

विराटनगर महानगरपालिकालाई निर्विकल्प  रुपमा एक नम्बर प्रदेशको राजधानी बनाउने विषय प्रतिबद्धतापत्रमा उल्लेख छ। यसका साथै आधारभूत आवश्यकताको परिपूर्ती र गरिबी न्यूनिकरणका लागि गरिबमैत्री अभियान संचालन गर्ने, उद्योग तथा व्यवसायको विकासका लागि रोजगारमुलक उद्योगको लागि अभियान चलाउने र विराटनगर जुटमिललाई पुनः संचालनमा ल्याउने उल्लेख छ।

यसका साथै भौतिक पूर्वाधार (सडक तथा हवाई यातायात, खानेपानी, संचार माध्यम, सडकबत्तिको व्यवस्था गर्ने, २४ सै घण्टा विद्युत् आपूर्ति गरिने, रिङरोड, बाइपास सडक तथा अन्तराष्ट्रिय विमानस्थलको निर्माण गर्ने लगायत विषय प्रतिबद्धता पत्रमा उल्लेख छ।

यसका साथै बालमैत्री नगर तथा स्मार्ट सिटी निर्माण गर्ने, व्यवस्थित बसोबास, खुल्ला दिशामुक्त क्षेत्र तथा हराभरा स्वच्छ विराटनगर निर्माण गर्ने, सुशासन, कला संस्कृतिको जगेर्ना तथा महिला सशक्तिकरणमा जोड दिने उल्लेख छ।

यसका साथै आय वृद्धी र उपभोग व्यवस्थापनबाट नगरवासीहरुको बचत गर्ने क्षमतामा वृद्धि गर्ने, सरकारी, निजी र सहकारी क्षेत्र मार्फत आवश्यक पूँजी निर्माण गर्ने, नगरमा उपलब्ध स्रोतलाई प्राथकिताका आधारमा उच्च प्रतिफलयुक्त एवं आर्थिक सामाजिक दृष्टिले महत्वपूर्ण रहेका पूर्वाधारमा लगानी गर्ने, कृषिको वैज्ञानिकीकरण तथा राष्ट्रिय भू–उपयोग नीतिको आधारमा उपलब्ध भूमीको समूचित उपयोग गरी खाद्य सुरक्षा, सुरक्षित सहरीकरण, दिगो पूर्वाधार विकास र वातावरण संरक्षण सुनिश्चित गर्ने प्रतिबद्धता समावेश छ।

भूमीहीन तथा सुकुम्बासी समस्या समाधानका लागि पहल गर्ने, भूमीहीन सुकुम्बासीहरुलाई न्युनतम जमिन उपलब्ध गराउने लगायत प्रतिबद्धता माओवादीको छ।

लगानीमैत्री वातावरण सृजना गरी स्थानीय स्रोत एवं सिपको उपयोग मार्फत लघु घरेलु, साना, मझौला तथा ठूला उद्योगको स्थापना र संचालनलाई थप प्रोत्साहित गर्ने पनि उल्लेख छ। पर्यटन प्रबद्र्धनका लागि सिंघीया र केसलिया खोलाको किनारा संरक्षण गर्दै सफा, स्वच्छ र आकर्षक नदी निर्माण गर्नुका साथै हरित नदी किनारा बनाई आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने, नदि किनारामै केही ठाउँमा विभिन्न जातीय समुदायको संस्कृती झल्काउने सामाग्रीसहित विभिन्न परिकारयुक्त चमेनागृह सुविधाको पार्कहरु निर्माण गरी उपयोग गर्ने, स्वतन्त्र शिक्षाप्रतिको मौलिक हक कायम राख्न ‘निःशुल्क शिक्षा सबैकालागि शिक्षा’ भन्ने कुरालाई कार्यान्वयन गर्ने, खानेपानी, पोषण, स्वास्थ्य तथा वातावरणको विशेष व्यवस्था गर्ने पनि उल्लेख गरिएको छ।

प्रत्येक वडामा ‘वृद्धवृद्धा अध्ययन तथा इतिहास समिक्षालय’ स्थापना गरी संचालन गर्ने, एक घर एक रोजगारको कार्यक्रम ल्याउने पनि प्रतिबद्धता पत्रमा उल्लेख छ। यस्तै खेलकुदको क्षेत्रलाई पनि विशेष प्राथमिकतामा राखेर प्रत्येक खेलको वडास्तरमा प्रशिक्षण तथा तालिम आयोजना र खेल सामाग्रीको उचित व्यवस्था गर्ने, विराटनगर उपमहानगरपालिका भित्रको सहिद रंगशालाहरुलाई व्यवस्थित गर्ने र वैजनाथपुर रंगशालालाई अन्तराष्ट्रियस्तरको खेलकुद मैदानको रुपमा विकास गर्ने पत्रमा उल्लेख छ।

लैङ्गिक समानता तथा समावेशिकरणलाई लागू गरिने, सेवा प्रवाह र सुशासन कायम गर्ने लगायतका विषय प्रतिबद्धता पत्रमा समावेश गरिएको छ।

‘प्रतिबद्धताअनुसार काम गर्छौं’

प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा विराटनगर महानगरपालिकाका माओवादी केन्द्र प्रमुखका उम्मेदवार भोगेन्द्र यादवले समुन्नत सहर निर्माणका लागि आफू निरन्तर लागिरहने बताए। पार्टीले सार्वजनिक गरेको घोषणापत्रकै आधारमा चुनाव जितेर गएपछि पनि काम गर्ने प्रतिबद्धता उनले जनाए।

कार्यक्रममा उपप्रमुखकी उम्मेदवार नमिता न्यौपानेले 'सामाजिक न्यायसहितको विराटनगर, समृद्ध, स्वच्छ र हराभरा विराटनगर' निर्माणका लागि आफूहरु सक्षम रहेको बताइन्। उनले विराटनगरलाई ५ वर्षमै देशको नमूना महानगर बनाउने योजना रहेको बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.