‘अब दलहरू सुध्रनु पर्दैन, मतदाताले नै सुधारेर पठाउँछन्’

|

काठमाडौं : वैशाख १० गते उपनिर्वाचन भएका दुई वटा क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन भएका तीनमध्ये तनहुँ–१ र चितवन–२ को मतपरिणाम सार्वजनिक भएको हो। बारा–२ मा मतगणना जारी छ। 

परिणाम सार्वजनिक भएका दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्। तनहुँ–१ मा डा. स्वर्णिम वाग्ले र चितवन–२ मा सभापति रवि लामिछाने निर्वाचित भएका हुन्।

उनीहरू दुवै जना पुराना दलको मत खोसेर लोकप्रिय मतसहित विजयी भए। मतदाताले ब्यालेट बक्समा पुराना  दलहरूप्रति असन्तुष्टि पोखेका छन्। यसपटकको उपनिर्वाचनले दलहरूलाई सोचमग्न बनाएको छ। 

ब्यालेटबाट पोखियो असन्तुष्टि

०७४ सालमा कम्युनिष्ट पार्टी मिलेर चुनावमा होमिए। देशका ठूला भनिएका कम्युनिष्ट दल नेकपा एमाले र माओवादी केन्द्र मिलेर चुनावमा होमिएसँगै जनतामा आशा पलायो– देशले राजनीतिक स्थिरता पाउँछ। 

सोही अनुसार झण्डै दुई तिहाई मत दलहरूले पाए। यद्यपि जनताको आशा दुई वर्षमा तुहियो। ०७७ सालमै कम्युनिष्ट पार्टीहरू फुटे, जनताको सपना पनि त्यहीँ तुहियो। यसपटकको निर्वाचनमा भने जनता पुराना दलप्रति वाक्क दिक्क भएको जनाउ दिएका छन्।

प्राप्त जनमत अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताले चर्को आंकाक्षा राखेका छन्। साथै पुराना दलहरूप्रतिको असन्तुष्टिले नयाँ दल जन्माउने खतरा बढेको विश्लेषण हुन थालेको छ। 

राजनीतिक विश्लेषक डा. डम्बर खतिवडा मंसिर ४ गतेको निर्वाचन र वैशाख १० को उपनिर्वाचनले नयाँ दलहरू जन्मिने संकेत देखाएको दाबी गर्छन्। 

‘नेपालमा कांग्रेस, कम्युनिष्ट कमजोर हुँदै गएको र नयाँ दल जन्मने संकेत देखाएको छ। मतदाताले शास्त्रीय आधारमा मत हाल्ने दिन सकिएको छ। अब मतदाताले विवेक प्रयोग गर्छन्,’ खतिवडाले भने, ‘अब नेपालमा कांग्रेस र कम्युनिष्टको भविष्य छैन। भारतमा पनि कस्तो अवस्था आयो हामीले त्यहाँ पनि हेर्न सक्छौं। कांग्रेसको विकल्प कम्युनिष्ट र कम्युनिष्टको विकल्प कांग्रेस रोज्ने दिन गएका छन्।’

आगामी दिनमा रविको विरुद्धमा पनि नयाँ दल जन्मिने बताउँदै ०७४ को निर्वाचनमा कम्युनिष्ट पार्टीले पाएको दुई तिहाई मत जोगाउन नसक्दा अहिलेको परिस्थिति र्सिजना भएको उनको भनाई छ। 

‘रविको पार्टीको अगेन्स्टमा अर्को विपक्षी दल जन्मिन्छ। कम्युनिष्टले ०७४ सालको निर्वाचनमा देशलाई स्विट्जरल्यान्ड बनाउँछौँ भनेर भोट मागे तर, उनीहरू आन्तरिक झगडाले गर्दा सकिए। ओलीलाई लागेको होला माधव, प्रचण्ड सकिए। तर, ओलीकाे पार्टीको भोट खोइ त? तनहुँ, चितवन र बारामा मंसिरको भन्दा आधा भोट एमालेले पाएको छ,’ खतिवडाले भने। 

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले स्थानीय निर्वाचनमा कांग्रेस, एमालेलाई सङ्केत गरे पनि उनीहरूले शिक्षा नलिएको बताए। उनले जनताले उपनिर्वाचनमार्फत अन्तिम चेतावनी दिएको टिप्पणी गरे। 

‘स्थानीय निर्वाचनमा जनता (सहरी, युवा, व्यावसायिक, विदेशमा रहेका)ले कांग्रेस, एमालेलाई सङ्केत गरेका थिए तर शिक्षा लिएनन्। आमनिर्वाचनमा जनताले स्पष्ट सन्देश दिएका थिए तर पनि सच्चिएनन्। यो उपनिर्वाचनमार्फत अन्तिम चेतावनी दिएका छन्,’ वाग्लेले भनेका छन्, ‘अब उनीहरूसँग एउटा मात्रै विकल्प छ– सच्चिने कि सक्किने?’  

वाग्लेले कांग्रेस, एमाले र माओवादीले पटकपटक अवसर पाए पनि डेलिभरी गर्न नसकेको नेतृत्वप्रति वितृष्णा देखिएको बताए। उनले भने, ‘कांग्रेस, एमाले, माओवादीमा हावी भएको वृद्धतन्त्र र पटक-पटक अवसर पाए पनि डेलिभरी गर्न नसकेको नेतृत्वप्रति जनतामा ठूलो वितृष्णा देखियो! नयाँ दलप्रतिको आकर्षणको प्रमुख कारण पनि त्यही नै हो । के वृद्धतन्त्रबाट मुक्ति दिएर पार्टीमा सुधार र रुपान्तरण प्रक्रिया सुरू होला?’ 

यस्तै अर्का राजनीतिक विश्लेषक मुमाराम खनाल पुराना दलहरू सच्चिनुपर्ने बताउँछन्। उपनिर्वाचनसम्म आउँदा मतदाताको बदलिँदो रूझानबाट परम्परावादी दलहरूलाई सुध्रिनुपर्ने नागरिकको दबाबबाट उनीहरू मुक्त भएको बताए। अब दलहरू आफैं सुध्रिनु नपर्ने बताउँदै मतदाताले आफैं सुधारेर घर पठाउने उनी बताउँछन्। 

‘उपनिर्वाचनसम्म आउँदा मतदाताको बदलिँदो रूझानबाट परम्परावादी दलहरूलाई खुसीको सन्देश के हो भने पुराना दलहरू सुध्रिनुपर्ने नागरिकको दबाबबाट उनीहरू मुक्त भएका छन्,’ उनले भनेका छन्। 

पूर्वपरराष्ट्र मन्त्री रमेशनाथ पाण्डे मंसिर र वैशाखको निर्वाचनमा जनताले पुराना दलको विकल्प खोज्न थालेको बताउँछन्। 

उनी भन्छन्, ‘मंसिरपछि वैशाखको उपचुनावमा फेरि जनताले प्रमुख दलहरूको विकल्प खोज्न थालेको बताएका छन्। तर दलका मुखियाहरूमा भागवण्डाबाट सत्ता भोग्ने, योग्य हैन आफ्नो खोज्ने, बाँडचुड गरेर देशको ढुकुटी रित्याउने बानी छुटेको छैन। यस्तै हो भने इतिहासमा प्रजापरिषदको संख्या ह्वात्तै बढ्नेछ।’

दलहरूमा संशय, सच्चिने कि सक्किने?

मंसिर ४ र वैशाख १० गतेको निर्वाचनमा नयाँ दलहरूप्रति मतदाताको झुकावलाई लिएर पुराना भनिएका दलहरूमा संशय पैदा गराएको छ। सत्तामा छिनाझम्टी गर्ने तर, जनजीविकाका मुद्दामा गम्भीर नबन्ने दलहरूलाई मतदाताले‘ब्यालेटमार्फत सचेत गराएका छन्। 

गठबन्धन गरेका दुवै क्षेत्रमा चुनाव हारेपछि नेपाली कांग्रेस थप सचेत बनेको छ। अघिल्लो पटक चुनाव जितेको तनहुँ–१ गुमाएपछि कांग्रेसभित्र थप संशय पैदा गराएको हो। 

सोमबार संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले उपनिर्वाचनमा पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता औंल्याए। 

उनले भने, ‘अहिले देशको विषम परिस्थिति छ। यसलाई अब कसरी लैजाने? उपनिर्वाचनले पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको जस्तो छ।’

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि पुराना दलहरूप्रति वितृष्णा बढेको स्वीकार गर्छन्। अबको विमर्श पुरानाको सही विकल्पबारे हुनुपर्ने बताउँदै उनले देशको विद्यमान गम्भीर अर्थ÷राजनीतिक संकट र जटिल भूराजनीतिक परिवेशमा नयाँ विकल्पबारे बहस हुनुपर्ने बताए। 

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य दलहरूले आफूले गरेको गल्ती स्वीकार गर्दै सुध्रिएर जानुपर्ने बताउँछिन्। 

‘ठूला दलहरूले जनताको पक्षमा जसरी काम गर्नुपर्ने थियो त्यसरी नगरेकाले लोकप्रियता घटेको छ। जनताले पुराना दलहरूले सोचेअनुसार काम नगरेकाले नयाँ दललाई एक पटक अवसर दिएका हुन्,’ उनले भनिन्, ‘हामीले समग्रतामा मूल्याङ्कन गर्नुपर्छ। लमो समय भइसक्यो सच्चिनुपर्छ भन्ने हो। अब हामी भाग्न पाउँदैनौं। कहाँ कमिकमजोरी भयो स्वीकार गरेर अगाडि बढ्नुपर्छ।’ 

तीन वटै क्षेत्रमा सत्ता सहयात्री दललाई समर्थन गरेको माअ‍ोवादी केन्द्र पछिल्ला दुई निर्वाचनबाट त्रसित बनेको छ। ०६४ देखि हालसम्म आइपुग्दा लगातार खस्कँदो स्तरमा रहेको माओवादी नयाँ दलको आगमनसँगै त्रसित बनेको हो। माओवादी केन्द्रका नेता लीलामणि पोखरेल दलहरू नसुध्रिए खैरियत नरहेको टिप्पणी गर्छन्। राजनीतिक सिद्धान्त विहीन दलहरूप्रति युवाको समर्थन बढ्नु स्टन्ट मात्रै भएको उनको तर्क छ। 

‘अब दलहरू नसच्चिए हाम्रो खैरियत छैन। जेलनेल भोगेर आएका दलका नेताहरू डिस्कर्ड हुने। तर, नारा लगाएर आएका उदाउनु दुःखद छ। त्यसो भए दलहरू किन अनपपुलर भए? भन्दा युवामा राजनीतिक चेतनाको स्तर खस्कियो। उनीहरू स्टन्टका पछाडि लागे। दलहरू विकृत र करप्टेड भए। उनीहरू ठूल्ठूला भ्रष्टाचार काण्डमा मुछिँदा पनि कारबाही भएन यसले जनतामा फ्रस्टेशन ल्यायो। स्टन्टमा आएका सिद्धान्तविहीन दल धेरै जाँदैनन्। उनीहरूका क्रियाकलापमा जनता जानकार छैनन्,’ पोखरेल भन्छन्।  

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली अहिलेको उपनिर्वाचनले जनतामा असन्तुष्टि बढेको र स्थापित राजनीतिक दलहरुलाई विश्वास गर्न नसकेको बताउँछन्। 

‘यो उपनिर्वाचनले हामीलाई गम्भीरतापूर्वक घच्घच्याएको छ। जनतालाई छुन नसकेको देखिन्छ। जनमतलाई स्वीकार गर्छौं। तर, मुलधारका राजनीतिक पार्टीलाई जनताले भरोसा गर्न नसकेको देखियो। हामीले तल्लो तहबाट रिपोर्टहरू मागिरहेका छौं। ती तथ्यहरू प्राप्त गरेपछि सुक्ष्म विश्लेषण गर्नेछौं,’ उनले भने। 

उपमहासचिव ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टीले जनअसन्तुष्टिलाई सजिलै  क्याच (समात्न) गरे पनि जवाफ दिन नसक्ने बताए।

‘नेपाल जस्तो बनोट भएको मुलुकमा जनताका असन्तुष्टिलाई क्याच गर्न सजिलो छ । रास्वपाले क्याच गर्नुभएको छ। प्रश्न उठाउने भन्दा पनि जवाफ दिने हो। उहाँहरुमा जवाफ दिनसक्ने अवस्था छैन। त्यसले मुलकुलाई झन् बढी अस्थिरतातर्फ लैजाने अवस्था देखिएको छ,’ उनले भने। 

 उपमहासचिव ज्ञवालीले प्रारम्भिक  विश्लेषणमा राजनीतिक दलसँग ग्याप भएका कारण जनताको मुड परिवर्तन भएको बताए। 

‘अहिले नै राजनीतिक दलसँग ग्याप भएर जनताको मुड परिवर्तन भयो। हाम्रो प्रारम्भिक विश्लेषणमा हाम्रो अपिल र सन्देशले जनताको मन जित्न नसकेको देखिन्छ,’ उनले भने।   

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दलहरूले समीक्षा गर्ने बेला आएको बताएका छन्। मंगलबार गोरखाको बारपाक पुगेका गृहमन्त्री श्रेष्ठले व्यवस्थामा परिवर्तन भएपछि अवस्थामा सापेक्षित परिवर्तन गर्न किन सकिएन भन्ने तर्फ दलहरूले समीक्षा गर्नुपर्ने बताए। 

‘राजनीतिक पार्टी जसले यो परितर्वन गर्यो यो व्यवस्था ल्यायो, तर यो व्यवस्थामा परिवर्तन भएपछि जनताको अवस्थामा परिवर्तन गर्नका निम्ति हामीले आजसम्म के गर्यौँ  र के गर्न सकेनौँ भन्ने विषयमा समीक्षा गरी आवश्यकता अनुसार आफूलाई बदलेर फेरि जनताको अपेक्षा र आवश्यकता पूरा गर्ने गरी समृद्ध नेपाल बनाउने तर्फ हामी अगाडि बढ्नुपर्छ’, उनले भने। 

गुम्यो मंसिरकाे शाख

उपनिर्वाचन भएका दुई वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमालेले पुरानो जनमत पनि गुमाएका छन्। गत मंसिर ४ गतेको निर्वाचनमा पाएको मत पनि यसपटक यी दलले पाउन सकेनन्।

तनहुँ–१ मा डा.स्वर्णिम वाग्ले ३४ हजार ४८० मतसहित विजयी हुँदा कांग्रेसका गोविन्द भट्टराई २० हजार १२२ मत र एमालेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत मात्रै पाए।

किनकी मंसिर ४ को निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल हालकै गठबन्धनको समर्थनमा २५ हजार ३६१ मतसहित विजयी भएका थिए। यसपटक कांग्रेसले ५ हजार २३९ मत गुमाएको छ।

उक्त क्षेत्रमा एमालेका एकबहादुर राना मगरले १९ हजार ९८१ मत पाएका थिए। तर, यसपटक सर्वेन्द्र खनालले ८ हजार ४८८ मत मात्रै पाए। एमालेले यसपटक ११ हजार ४९३ मत गुमाएको छ।

चितवन–२ मा रास्वपाका सभापति रवि लामिछाने ५४ हजार १७५ मतसहित विजयी भए। यसपटक उनी एमाले र कांग्रेसका युवा उम्मेदवारसँग भिडेका थिए। तर, उनीहरूले पनि मंसिर ४ को साख पनि जोगाउन सकेनन्।

कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार ११४ मत पाए। यस्तै एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाए। 

यसअघि चितवनमा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत पाएका थिए। तर, यसपटक एमालेले तीन हजार ७१६ मत गुमाएको छ। कंग्रेसका उमेश कुमार श्रेष्ठले १४ हजार ९८८ मत ल्याएका थिए। यसपटक कांग्रेसले थप तीन हजार ८७८ मत कम ल्याएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.