ठूला दलले नाम नदिँदा समित गठन पनि अलपत्र

|

काठमाडौं : प्रतिनिधि सभाको बुधबारको बैठकमा संवैधानिक परिषद सम्बन्धी विधेयक पेस नहुने भएको छ । 

बुधबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलहरूबीच सहमति नजुट्दा प्रतिनिधि सभाको आजको बैठकमा संवैधानिक परिषद सम्बन्धी विधेयक पेस नहुने भएको हो।

साथै प्रतिनिधि सभाको आजको बैठकमा संसदीय सुनुवाइ समिति र अन्य विषयगत १० समितिका सदस्यहरूको नाम पनि पेस नहुने भएको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संवैधानिक परिषद सम्बन्धी विधेयकको विषयवस्तुमा केही विषयमा सहमति जुट्न नसक्दा आज संसदमा पेस हुन नसक्ने बताए ।

उनले संसदीय १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिका सदस्यहरू पनि आजको बैठकमा पेस नहुने बताए। उनले समितिमा सदस्यहरू पेस हुन नसक्नुमा नेपाली काँग्रेससहितका केही दलहरूले सदस्यहरूको नाम दिनका लागि बिहीबारसम्मको समय मागेको बताए।

संवैधानिक परिषदमा अध्यक्ष र उपस्थित संख्याको ५० प्रतिशत भन्ने कुराले समितिको बहुमतलाई अस्वीकार गर्न खोजेको देखिएको भन्दै अध्यक्ष अनिवार्य नै हुनुपर्ने, अध्यक्षले नमान्दा कुनै निर्णय नै नहुने, जस्तो गरी आएको प्रस्ताव सच्याउनुपर्ने पक्षमा एमाले रहेको उनले स्पष्ट पारे । 

‘संवैधानिक परिषद सम्बन्धी विधेयकलाई आज फुल हाउसबाट पारित गरेर लैजाने भन्ने शीर्ष नेता बीचमा सहमति थियो, तर त्यसका कन्टेनका बीचमा हामीले छलफल गरेका थिएनौँ । कन्टेनमा छलफल गर्ने सन्दर्भमा केही विषयमा सहमति जुट्न सकेन।’ गिरीले भने,  जसले गर्दा फेरि बैठक बस्नुपर्ने आवश्यकता देखियो । त्यसैले पनि आज त्यो विधेयक सदनमा पेस हुनसक्ने स्थिति बन्न सकेन।’

विषयगत समितिहरूमा नाम दिन आफूहरू तयारीका साथ आए पनि नेपाली काँग्रेस लगायत अरू दलहरूले तयारी नपुगेको र भोलिसम्मका लागि समय माग गरेको उनले बताए।

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले तीन दलका शीर्ष नेताहरूका बीचमा संसदभित्रका विषयमा भएका सहमति कार्यान्वयन गर्ने विषयमा छलफल सकारात्मक रहेको बताए।

उनले छलफल टुंगिन नसक्दा समितिहरू बन्न नसकेको स्पष्ट पारे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.