|

काठमाडौं : युरोपा लिग फुटबलको उपाधिका लागि  स्पेनको सेभिया र इटालियन रोमाबीच प्रतिस्पर्धा हुँदैछ।

हंगेरीको बुडापेस्टस्थित पुस्कास एरिनामा हुने खेल नेपाली समयअनुसार राति पौने एक बजे सुरु हुनेछ।

रोमाका प्रशिक्षक जोजे मोरिन्होले प्रिम्याच कन्फरेन्समा सेभिया उपाधिको फेभरेट भएको प्रतिक्रिया दिएका छन्। सेभिया कीर्तिमानी ६ पटकको युरोपा लिग च्याम्पियन टोली हो। मोरिन्होले यसअघि सन् २००३ मा पोर्टो र २०१७ मा म्यानचेस्टर युनाइटेडका लागि उपाधि जितेका थिए।

सेभियालाई पराजित गरे मोरिन्हो तीन फरक क्लबबाट युरोपा जित्ने पहिलो प्रशिक्षक बन्नेछन्। दुवै टिमका लागि अर्को सिजनको च्याम्पियन्स लिगका लागि छनोट हुने यो सुनौलो अवसर हो।

घरेलु लिगमा रोमा र सेभिया शीर्ष चारमा रहन असफल भए। सेभिया ला लिगाको एघारौँ स्थानमा रहँदा रोमा सिरी ए को छैटौँ स्थानमा छ। 

रोमाका फरवार्ड पाउलो डिबालाले आजको फाइनल गुमाउने सम्भावना उच्च छ। उनी अझै पनि पुर्ण रुपमा फिट भइनसकेको बताइएको छ ।

यता सेभिया सातौँ उपाधि जित्ने लक्ष्यमा छ। सेभियाले अहिलेसम्म युरोपा लिगको फाइनलमा हार बेहोरेको छैन।

यस्तै मोरिन्होले युरोपमा फाइनल पुगेका कुनै पनि खेल हारेका छैनन्। मोरिन्होले दुई च्याम्पियन्स लिग, दुई युरोपा र एक युरोपा कन्फरेन्स लिग उपाधि आफ्नो नाममा लेखाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.