|
प्रतीकात्मक तस्वीर ।

सर्लाही : सर्लाहीको धनकौल गाउँपालिका–७ बैरिया टोलमा आज दिउँसो तस्करीको मल नियन्त्रणमा लिन खोज्दा गाउँलेबाट अवरोध भएपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। 

स्थानीय राजु सहनीको घरमा लुकाइछिपाइ राखिएको भारतीय अवैध मल जिल्ला प्रहरी कार्यालय मलंगवाको टोलीले नियन्त्रणमा लिन खोज्दा एक्कासी गाउँले आएर अवरोध गरेका हुन्।

बरामद मल सदरमुकाम मलंगवातर्फ ल्याउन खोज्दा गाउँलेले ढुङ्गामुढा गरेर अवरोध गर्न थालेपछि पाँच सेल अश्रुग्याँस प्रहार गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी तथा डीएसपी दीपेन्द्र पञ्जियार थारूले जानकारी दिए। जिल्लाबाट इन्स्पेक्टर सुमित कुशवाहको नेतृत्वमा गएको प्रहरी टोली र स्थानीय प्रहरीमाथि गाउँलेले ढुङ्गामुढा गर्न थालेपछि डीएसपी थारूको नेतृत्वमा गएको टोलीले तस्करीको मल बरामद गरी नियन्त्रणमा लिएर सदरमुकाम मलङ्गवा ल्याएको छ।

डीएसपी थारूका अनुसार सहनीको घरभित्र लुकाइराखेको ७२ बोरा मल बरामद भएको छ। केही बोरा मल गाउँलेले खोसेर लगेका छन्। गाउँलेले ढुङ्गा प्रहार गर्दा इन्स्पेक्टर कुशवाह सामान्य घाइते भएका छन्।

अवैध मल भण्डारण गरेर राख्ने घरधनी राजु सहनी फरार रहेका र उनको खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.