|

काठमाडौं : बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस सोमबार नेपालमा पनि मनाइँदैछ। बाल श्रम हटाउनका लागि आवश्यक काम र प्रयासहरूमा ध्यान केन्द्रित गर्दै प्रत्येक वर्ष १२ जुनमा दिवस मनाइन्छ। 

अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले सन् २००२ बाट यो दिवस मनाउन थालेको हो । नेपालमा बालश्रम घट्दै गए पनि धेरै बालबालिका अझै बालश्रममा छन् । श्रम सर्वेक्षण २०७८ का अनुसार नेपालमा बालश्रम प्रतिवेदन पाँचदेखि १८ वर्षसम्मका बालबालिकामध्ये १५.३ प्रतिशत श्रममा संलग्न रहेको देखिन्छ। 

नेपालको संविधानले बालश्रम प्रयोगलाई निषेध गरिसकेको छ। नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार सम्बन्धी महासन्धिमा हस्ताक्षर गरेर बाल अधिकारप्रति आफ्नो प्रतिबद्धता जाहेर गरेको छ तर कार्यान्वयन पक्ष फितलो छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाँच वर्ष पहिले राष्ट्रिय गुरुयोजना जारी गर्दै २०७९ सम्ममा निकृष्ट प्रकार तथा शोषणयुक्त बालश्रम अन्त्य गर्ने र २०८२ सालसम्म सबै किसिमका बालश्रम अन्त्य गर्ने योजनाका साथ काम गरेको छ। 

सबै प्रकृतिका बालश्रम र औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने ५–१७ वर्ष उमेर समूहका बालबालिकालाई गुरुयोजनाले समेटेको छ। श्रम मन्त्रालयले गुरुयोजना अनुसार बालश्रम अन्त्य गर्नका लागि स्थानीय तह केन्द्रित गरेर विगत चार वर्षदेखि कार्यक्रम सञ्चालन गर्दै आएको छ। आर्थिक वर्ष २०७७/७८ देखि १०४ वटा पालिकामा बालश्रम निषेध गर्ने कार्यक्रम सञ्चालन गरिएकामा दुई वटा पालिका मात्रै पूर्ण रूपमा बालश्रम मुक्त भएका छन्। 

अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको तथ्यांकअनुसार विश्वभर १५ करोड २० लाख बालबालिका श्रममा संलग्न छन्। त्यसमध्ये सात करोड ३० लाख बालबालिका जोखिमपूर्ण श्रममा लागेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.