जग्गामा गोकर्णेश्वर नगरपालिकाको भवन बन्दै

|
फाइल तस्बिर

काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले लामो समयदेखि व्यापारीहरूले हडपेको जोरपाटी चोकको ३ रोपनी सार्वजनिक जग्गा खाली गराएको छ। नगरपालिकाले सानोबजार व्यवसायी समूहले चलाएको सबै पसल व्यवसाय हटाएको हो। 

नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले हप्ता दिनअघि नै उक्त जग्गा खाली गराएको जानकारी दिए। उनका अनुसार नगरपालिकाले ती पसल व्यवसायीहरुलाई जोरपाटी ओरालो नजिकमा रहेको चामुण्डा साझा संस्थाभित्र सारेको छ। नगरपालिकाले त्यहाँ सटर बनाइदिएको छ।

उक्त जग्गामा ३२ वर्षदेखि व्यापारीहरूले रजाइँ गर्दै आएका थिए। खिया लागेको जस्तापाताले जोरपाटी चोक नै कुरुप देखिएको थियो। स्थानीयबासीहरुले ती पसल हटाउन माग समेत गर्दै आएका थिए। यस विषयमा थाहाखबरले यसअघिदेखि नै विषयकाे उठान गर्दै आएको छ।

२०७६ पुस महिनामै तत्कालीन गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपालले थाहाखबरसँग आफू जनप्रतिनिधिहरू आउनुभन्दा अगाडिदेखि नै पसल सञ्चालन भएको जानकारी दिएका थिइन्।

उनले भनेकी थिइन्, ‘हामी जनप्रतिनिधि भएर आउनुभन्दा अगाडि पञ्चायतकालबाटै सार्वजनिक जग्गामा पसल सञ्चालन गरिएको थियो, २८ वर्ष भइसक्यो।’ उनको भनाइअनुसार उक्त सार्वजनिक जग्गा व्यवसायीले कब्जा गरेको ३२ वर्ष भइसक्यो। 

गोकर्णेश्वर नगरपालिका र सानोबजार व्यवसायी समूहबीच २०७६ साल भदौमा प्रतिसटर कौडीको भाउ अर्थात् मासिक १५ सय रूपैयाँका दरले लगाउने गरी सम्झौता भएको थियो।

सो सम्झौतामा प्रथम पक्ष भनिएको गोकर्णेश्वर नगरपालिकालाई चौमासिक रूपमा जोरपाटी चोकमा रहेको कृषि विकास बैंक खातामा बहाल बुझाउनुपर्ने उल्लेख छ।

उक्त सम्झौतापत्र अनुसार २०७६ साउन १ गतेदेखि २०७६ पुस मसान्तसम्म बहाल अवधि कायम गरियो। नगरपालिकाले भवन निर्माण अगाडि नबढाएको अवस्थामा सो सम्झौता २०७७ साल असार मसान्तसम्म पुनः कायम हुने पनि उल्लेख थियो। तर म्याद पटक पटक थपिँदै यो समयसम्म लगियो। 

पटक-पटकको निर्देशनपछि पसल हटाउन सफल नगरपालिका 

नगरपालिकाले उक्त जग्गा खाली गराउन पटक पटक व्यवसायीहरूको नामा निर्देशन जारी गराए पनि खाली गराउन भने सकेको थिएन। तत्कालीन गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले पुस २०७६ मै उक्त जग्गामा नगरपालिकाले भवन बनाउन लागेको भन्दै १५ दिनभित्रमा टहरा खाली गराउने आश्वासन दिए।

तर,सकेनन्। यस्तै,२०७८ साउन २० गते पनि नगरपालिकाले प्रशासनिक भवन बनाउने भन्दै ७ दिनभित्र जग्गाको सबै पसल टहरा खाली गर्न व्यवसायीहरूलाई पत्र काट्यो। तर कार्यान्वयन भने भएन। अन्ततः लामो समयपछि नगरपालिकाले जग्गा खाली गराउन सफल भएको छ।

असार दोस्रो हप्ताबाट नगरपालिकाको भवन निर्माण थालिने

नगरपालिकाका प्रवक्ता सुवेदीले खाली गराएको सार्वजनिक जग्गामा गोकर्णेश्वर नगरपालिकाको प्रशासनिक भवन बनाउने जानकारी दिए। ‘नगरपालिकाको भवन बनाउने काम आगामी असार दोस्रो हप्तादेखि सुरूहुँदै छ,’उनले भने। नगरपालिकाले २०७४ सालमै जोरपाटी चोकमा रहेको उक्त जग्गामा सात तले गोकर्णेश्वर भवन बनाउने भनेर योजना ल्याएको थियो।

नगरपालिकाले आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा गौरवका योजनाअन्तर्गत नै राखेर भवन निर्माण गर्ने योजना ल्याई ५ करोड रूपैयाँ बजेटसमेत विनियोजन गरेको थियो। तर,योजना ल्याएको ६ वर्ष वितिसक्दा पनि हालसम्म नगरपालिकाको भवन ठडिन सकेको छैन। अहिले नगरपालिकाले छहारी क्लब अगाडिको एक निजी घरबाट सेवा दिँदै आएको छ। 

(याे पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.