|

पोखरा : कास्कीको मादी गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ। गोरु संरक्षण गर्न हलगोरु पाल्ने किसानलाई अनुदान दिइने गापा अध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए।

गुरुङले भने‚ ‘गोरु संरक्षण र कमजोर किसान संरक्षणअन्तर्गत हलगोरु पाल्ने कृषकलाई अनुदान दिइनेछ।’

भूमि बैंक स्थापना गरी बाँझो जग्गा गाउँपालिकाले लिजमा लिई वास्तविक किसानलाई जग्गा लिजमा दिई उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित गर्ने गरिने अध्यक्ष गुरुङले बताए। यसैगरी जग्गा चक्लाबन्दी गरी उत्पादन बढाउन आवश्यक कार्यक्रम सञ्चालन गरिने नीति कार्यक्रममा समावेश छ।

गापाले ‘किसानसँग गाउँपालिका’ कार्यक्रम सुरु गर्ने भएको छ।

उत्पादनमा अनुदानअन्तर्गत दूध अण्डामा अनुदान दिइने पालिकाले जनाएको छ। त्यसबाट गापालाई तरकारी, फलफूल, रैथाने बाली संरक्षण र उत्पादन र मौरीपालनको पकेट क्षेत्रमा विकास गर्ने नीति कार्यक्रममा रहेको छ।

मादीको नीति तथा कार्यक्रममा कृषि एम्बुलेन्स खरिद, स्थानीय कृषि उत्पादन सिन्की, गुन्द्रुक तथा राडी, भ्राङ्ग्रा र बख्खुको ब्राण्डिङ गरिने उल्लेख छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारअन्तर्गत हरेक शुक्रबार विद्यालयमा अतिरिक्त क्रियाकलाप गरिने र त्यसको लागि ‘नो ब्याग, नो बुक’ कार्यक्रम ल्याइएको छ।​

यसैगरी मादीको गौरव आयोजनाका रुपमा सिक्लेस–कोरी–मनाङसम्म जाने पदमार्गलाई शान्ति मार्गको रूपमा विकास गरिने नीति कार्यक्रममा उल्लेख छ।

गापाले ६० देखि ६८ वर्षका विपन्न एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरेको छ। विधुर कार्यक्रमअन्तर्गत विपन्न विधुरको सामाजिक सुरक्षाका लागि मासिक भत्ता उपलब्ध गराउने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.