|

काठमाडौं : पछिल्लो समय किशोरकिशोरीमा मानसिक स्वास्थ्यको समस्या बढ्दै गएको हुँदा सचेत हुने अवस्था आएको विज्ञहरुले बताएका छन्।

कान्ति बाल अस्पतालका वरिष्ठ मनोचिकित्सक डा.उत्कर्ष कार्कीले नेपालमा ठूलो संख्यामा किशोरकिशोरीले मानसिक समस्याको सामना गरिरहेको भए पनि मिडियामा त्यो समस्या प्राथमिकतामा पर्न नसकेको बताए।

डा कार्कीका अनुसार नेपालमा १३ प्रतिशत किशोरकिशोरी कुनै न कुनै रुपमा मानसिक समस्यामा परिरहेको विभिन्न अनुसन्धानले देखाएकाले अभिभावक सावधान रहनुपर्ने बताए।

उनका अनुसार पछिल्लो समय किशोरकिशोरी धेरै समय फेसबुक तथा अन्य विभिन्न प्रकारका सामाजिक सन्जाल तथा डिजिटल गेमहरुमा समय बिताउने र त्यही कारणले बिस्तारै उनीहरुमा विभिन्न प्रकारका मानसिक स्वास्थ्य समस्या देखिने गरेको पाइएको छ।

डा कार्कीले भने‚ ‘धेरै समय सामाजिक सन्जाल तथा डिजिटिल गेमहरुमा समय बिताउने किशोरकिशोरीमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको देखिन्छ, त्यसैले अभिभावकले पनि आफ्ना छोराछोरीलाई यस्ता डिजिटल गेमहरुमा समय बिताउन दिनु हुँदैन।‘

किशोरकिशोरीमा देखिने मानसिक स्वास्थ्य समस्या समयमा नै पहिचान गर्न सके पूर्ण रुपमा सन्चो हुने हुँदा समस्या आइहाले लुकाएर राख्ने नभइ चिकित्सकको परामर्श लिइ हाल्नुपर्ने समेत डा कार्कीले बताए।

डा कार्कीका अनुसार कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्योपचार गर्ने बालबालिका तथा किशोरावस्थाका बिरामीको सङ्ख्या सन् २०१८ मा २ हजार ४ सय, सन् २०२१ मा ५ हजार १ सय र सन् २०२२ मा ९ हजार ५९१ रहेको छ। मानसिक समस्या उपचारपछि निको हुन्छ भन्ने सूचना सम्प्रेषण गर्न मिडियाले कञ्जुस्याइँ गर्न नहुनेमा पनि उनले जोड दिए।

वरिष्ठ जनस्वास्थ्य विद् डा.अरुणा उप्रेतीले मानसिक समस्या गरिबीका कारण मात्र हुन्छ भन्ने भ्रम समाजमा व्याप्त रहेकोले यो समस्या सबै वर्ग, उमेर समूह र जातजातिलाई हुन सक्छ भन्ने सन्देश मिडियाले सम्प्रेषण गर्नुपर्ने बताइन्। मानसिक स्वास्थ्यबारे जनचेतना अभियानकै रुपमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिइन्।

किशोरावस्थाको मानसिक स्वास्थ्यबारे सञ्चारमाध्यमले महत्व दिनुपर्ने विज्ञहरुले सुझाव दिएका छन्। ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (रेष्ट) ले हेल्थ केयर पत्रकार समाजसँगको सहकार्यमा सोमबार राजधानीमा आयोजना गरेको ‘किशोरावस्थाको मानसिक स्वास्थ्यको मुद्दा र सञ्चारमाध्यमको भूमिका’ अन्तरक्रियामा डा.उप्रेतीले यस्तो बताएकी हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.