एक अर्कालाई दोष देखाउँदै त्रिवि र विद्यार्थी नेता

|

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अझै १२ क्याम्पसहरूमा रोकिएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार देशभर ५० वटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन सम्पन्न भएको छ। 

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले अझै १२ वटा क्याम्पसमा हुन नसकेको जानकारी दिए।

‘५० वटा क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भयो, १२ वटामा भएको छैन, अब यस्तै गरी हुँदैन होला,’ उनले भने। विद्यार्थी संगठनहरूको विवादका कारण समयमा निर्वाचन नभएको उनको भनाइ छ।

त्रिविका ६२ आंगिक क्याम्पस छन्। उनका अनुसार काठमाडौं उपत्यकाभित्र आरआर क्याम्पस, विश्वभाषा क्याम्पस, नेपाल कर्मस क्याम्पस र त्रिचन्द्र बहुमुखी क्याम्पससहित बाहिर जिल्लाका क्याम्पसहरूमा निर्वाचन रोकिएको छ।

स्ववियु विद्यार्थीको मतद्वारा चुनिने वैधानिक संस्था हो। यो निर्वाचनबाट योग्य नेतृत्व छानिन्छ र उसले विद्यार्थीको हक–अधिकारको निम्ति काम गर्छ। तर १५ वर्षदेखि यी रोकिएको ठाउँमा निर्वाचन नहुँदा विश्वविद्यालय सभादेखि क्याम्पसहरूका महत्वपूर्ण निकायमा विद्यार्थीको प्रतिनिधित्व हुन सकेको छैन।

अदालतको अन्तरिम आदेशमा क्याम्पसहरूको अटेर

१४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन त्रिविले गत चैत ५ गते देशभरका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा गर्न मिति तोकेको थियो तर उक्त दिन विद्यार्थी संगठनहरूकै विवाद, क्याम्पस प्रशासनको कमजोरीलगायत कारणले सबै क्याम्पसमा निर्वाचन हुन सकेन।

त्यसपछि त्रिविले विभिन्न विवादका कारण चुनाव रोकिएका क्याम्पसमा चैत १२ गतेभित्र स्ववियु निर्वाचन गर्न क्याम्पसहरूलाई निर्देशन दियो तर पनि निर्वाचन भएन। समयमा निर्वाचन नभएपछि छिटो गर्न माग गर्दै उच्च अदालत पाटनमा रिट पर्‍याे।

उच्च अदालत पाटनले चैत १४ गते रोकिएको रत्न राज्य, नेपाल कमर्श र पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तत्काल गर्न अन्तरिम आदेश जारी गरेको थियो। 

न्यायाधीश जगदीश घिमिरेको एकल इजलासबाट जारी आदेशमा भनिएको छ, ‘विद्यार्थीको हक हितका लागि स्थापित स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई अनिश्चितकालसम्म स्थगन गर्न मनासिव नदेखिँदा विद्यार्थीको हकहितलाई दृष्टिगत गर्दा सुविधा सन्तुलनको दृष्टिले यथाशक्य चाँडो सम्बद्ध सबै पक्षलाई समावेश गराई समन्वय गरी निर्वाचन हुने मिति तोकी निर्वाचनसम्बन्धी बाँकी काम कारबाही गर्नू/गराउनू’।

तर अदालतले अन्तरिम आदेश दिएको तीन महिना वितिसक्दा पनि निर्वाचन हुन सकेको छैन। क्याम्पस प्रशासनहरूले पनि रोकिएको निर्वाचन गराउनेबारे कुनै चासो र पहल गरेका छैनन्। यता, आरआर क्याम्पसमा स्ववियु निर्वाचनको लागि पटक पटक सर्वदलीय बैठक बस्यो।

आरआर क्याम्पस प्रमुख प्राडा जीवनधर ज्ञवालीले सहमति गरेर छिटो निर्वाचन गराउने बताउँदै आए पनि गराउन सकेका छैनन्। सर्वदलीय बैठकले गत चैत २६ गते निर्वाचन गर्ने निर्णय गरेको थियो तर उक्त समयमा निर्वाचन हुन सकेन। 

एक अर्कालाई दोष देखाउँदै सम्बन्धित निकाय र विद्यार्थी संगठन

मर्यादित ढंगले यो निर्वाचन गराउनमै विद्यार्थी संगठनहरू लाग्दैनन्। युद्धको झझल्को दिने खालका गतिविधिमा क्रियाशील हुन्छन्। यसअघि क्याम्पसहरूमा भएका घटनाले नै यो कुराको पुष्टि गर्छ।

गत माघ २३ गते नेपाल विद्यार्थी संघका संस्थापन र इतर पक्षका दुईबीच नेपाल कमर्श क्याम्पस (मीनभवन) क्याम्पसमा ढुङ्गा हानाहान भयो।

शेखर कोइराला–पक्षका विद्यार्थी नेता धर्मराज शाहीका अनुसार शेखर–गगन पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका थिए। उक्त भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडपको स्थिति आयो।

यस्तै, गत फागुन २७ गते रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा चुनावको उम्मेदवारी दर्ताको दिन प्रहरीले नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनका सन्दीप चन्दलाई खुकुरीसहित पक्राउ गर्‍याे।

आरआरमा भएको उक्त घटनाको प्रतिकार गर्दै एमालेनिकट अनेरास्ववियुले  घटनामा संलग्नलाई कारबाहीको माग गर्‍यो तर नेकपा समाजवादीनिकट विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुलीले कैँचीलाई खुकुरी भनिएको दाबी गरे। रिबन काट्न कैँची लिएर आएका विद्यार्थीलाई खुकुरी बोकेको आरोप लगाइएको उनको तर्क थियो। 

रोकिएको निर्वाचन गराउने भन्दा पनि यतिखेर एक अर्कालाई दोष देखाउँदै छन् सम्बन्धित निकाय र विद्यार्थी संगठन। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले विद्यार्थी संगठन मिल्न नसक्दा समयमा निर्वाचन हुन नसकेको जनाएको छ।

तर यता नेकपा समाजवादीनिकट विद्यार्थी संगठनका अध्यक्ष पराजुलीले निर्वाचन गराउने त्रिवि र क्याम्पस प्रशासनहरूको कमजोरीका कारण निर्वाचन रोकिएको आरोप लगाउँछन।

‘यसमा विश्वविद्यालयकै लाचारीपन छ, उनीहरूकै कमजोरीले निर्वाचन रोकियो। अहिले त कामको सिजन छ, विद्यालय बन्द छन्, केही समयपछि जसरी नि निर्वाचन गराउनुपर्छ,’ उनले भने।

उनले निर्वाचन गर्न आतुर रहेको भन्दै सबै विद्यार्थी संगठनका दलहरूसँग मिलेर निर्वाचन सम्पन्न गराउने बताए। उनले आंगिक क्याम्पसमात्र नभई सम्बन्धनप्राप्त सबै कलेजहरूमा पनि उक्त निर्वाचन गराउनुपर्ने माग गरे।

एमालेनिकट अनेरास्ववियुले अनेरास्ववियुका अध्यक्ष समिक बडालले भने जहाँ सत्ता गठबन्धनले जित्ने क्याम्पस छन्, त्यहाँ निर्वाचन गराउने तर हार्ने सम्भावना भएको क्याम्पसहरूमा भने रोक्ने काम गर्दा निर्वाचन नभएको आरोप लगाए।

उनले भने, ‘विश्वविद्यालयमा एक त सुरक्षा नै छैन, क्यालेन्डर पनि लागू गर्दैन, रातो किताबमा भएका कुरा कार्यान्वयन हुन्न। भागबन्डामै यो सरकार व्यस्त छ अनि कसरी स्ववियु निर्वाचन गराउनेमा ध्यान जान्छ।’ 

विश्वविद्यालयको कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तक्षेप गरेकै कारण निर्वाचन रोकिएको उनको आरोप छ। 

(याे पनि)


सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.