|

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पास हुन नदिने चेतावनी दिइएको छ। बजेटमा असन्तुष्ट रहेका सत्तारुढ ३ दलका संसदीय दलका नेतासहितका १० जना प्रदेशसभा सदस्यले प्रधानमन्त्रीलाई यस्तो चेतावनी दिएका हुन्।

सभामुख भीमबहादुर भण्डारी समेतका प्रमुख विपक्षी नेकपा एमालेका प्रदेशसभा सदस्यसहितले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका हुन्।

‘हामीले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट यथास्थितिमा हुबहु पारित गर्न सकिँदैन। संशोधन गरिनुपर्छ भनेर कुरा राखेका छौँ,’ भेटमा सहभागी एकजना प्रदेशसभा सदस्यले भने, ‘प्रधानमन्त्रीले माग सम्बोधन गर्ने प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको छ।’

उनका अनुसार भेटमा सहभागी भएका सभामुख भीमबहादुर भण्डारीले समेत बजेट सन्तुलित नआएको, मुख्यमन्त्री र मन्त्रीहरुको निर्वाचन क्षेत्रमा मात्र केन्द्रित भएको कुरा राखेका थिए।

माओवादी संसदीय दलका नेता खगराज भट्ट, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले एक स्वरमा बजेट संशोधनको माग गरेका थिए। उनीहरुको भनाईमा कांग्रेसका प्रदेशसभा सदस्यहरुले समेत समर्थन गरेका छन्।

प्रधानमन्त्रीसँगको भेटमा एमालेका प्रदेशसभा सदस्य चक्रबहादुर मल्लसमेत सहभागी थिए। नेपाली कांग्रेसका मेघराज खड्का, मानबहादुर रावल, बहादुरसिंह थापा, ललिता सुुनार, माओवादी केन्द्रका शिवसिंह ओली पनि सहभागी थिए।

यसअघि कांग्रेसका प्रदेशसभा सदस्यले पार्टी सभापति शेरबहादुर देउवालाई भेट्दै यथास्थितिमा बजेट पारित गर्न नसकिने बताएका थिए। ​देउवाले पूरक बजेट ल्याएर माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए।

प्रदेश सरकारले १ असारमा अगामी आर्थिक वर्षका लागि २९ अर्बको बजेट ल्याएको थियो। तर सत्तारुढ दलकै सांसदहरुले असन्तुष्टि जनाएपछि बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.