|

काठमाडौं : विम्बल्डन टेनिसको महिलातर्फको उपाधि चेक खेलाडी मार्केता भोन्द्रोसोभाले जितेकी छन्। अल इंग्ल्यान्ड क्लबमा भएको फाइनलमा उनले ट्युनिसियाकी अन्स जबेरलाई सोझो सेटमा पराजित गरिन्।

भोन्द्रोसोभा विम्बल्डन टेनिसको एकलतर्फ उपाधि जित्ने पहिलो बिना वरीयताकी खेलाडी हुन्। विश्व वरीयताको ४२ औँ स्थानमा रहेकी उनले छैटौँ वरीयताकी जबेरलाई पहिलो सेटमा ६–४ ले पराजित गरेकी थिइन्। २१ वर्षीया भोन्द्रोसोभा २– ४ पछि परेकी बायाँ हाते उनले उत्कृष्ट पुनरागमन गर्दै सेट आफ्नो पक्षमा पारेकी थिइन्।

दोस्रो सेटको सुरुवातमा पनि जबेरले अग्रता लिएकी थिइन्। तर यो पटक उच्च फर्ममा रहेकी भोन्द्रोसोभाले ६–४ ले सेट जित्दै करियरको पहिलो ग्रान्डस्लाम उपाधि आफ्नो नाममा लेखाइन्। गत सिजन नाडीको चोटका कारण उनी ६ महिना कोर्ट बाहिर रहेकी थिइन्।

विम्बल्डन अघि भोन्द्रोसोभाले आफ्नो ग्रास कोर्ट करियरमा चार खेल मात्रै जितेकी थिइन्। २८ वर्षीया जबेरले भने अहिलेसम्म खेलेका तीन ठूला प्रतियोगिताको फाइनलमा हार बेहोरिन्। फेरि एक पटक जबेर पहिलो ग्रान्डस्लाम जित्ने अफ्रिकन अरब महिला बन्नबाट चुकिन्।

पुरुषतर्फको फाइनलमा आज विश्व वरीयताको शीर्ष दुईमा रहेका कार्लोस अल्काराज र नोभाक जोकोभिचबीच प्रतिस्पर्धा हुँदैछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.