|

काठमाडौँ : नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ।

आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। साउन ८ गते प्रधानमन्त्री तथा सरोकारवाला मन्त्रालयहरूमा ज्ञापनपत्र बुझाउने, साउन ९ गते प्रदेश महासंघले मुख्यमन्त्री र ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ।

साउन ७ गते भएको राष्ट्रिय सम्मेलनले साउन १० देखि १३ गतेसम्म विभिन्न राजनीतिक दलका प्रमुख र सम्बन्धित संघीय सरकारी निकाय, प्रदेश र राजनीतिक निकायमा आफ्ना मागका सम्बन्धमा जानकारी गराउने निर्णय भएको आइतवारको पत्रकार सम्मेलनमा महासंघका महासचिव रोशन दाहालले बताए।

त्यस्तै आफ्ना माग पूरा नभए दोस्रो चरणमा साउन १४ गते महासंघले सार्वजनिक खरिद अनुगमन कार्यालयमा एक घण्टा धर्ना दिने र ७ वटै प्रदेशका मुख्यमन्त्रीको कार्यालयअघि धर्ना दिने महासचिव दाहालले बताए।

उनले साउन १५ गते प्रधानमन्त्री निवासअघि एक घण्टा धर्ना दिने निर्णय गरेको पनि बताए। महासचिव दाहालले दोस्रो चरणको आन्दोलनलाई पनि सरकारले माग पूरा नगरे साउन १६ गते निर्माण उपकरणसहित संघीय राजधानी केन्द्रित प्रदर्शन गर्ने कार्यक्रम तय भएको बताए।

महासंघले साउन ७ गते काठमाडौँमा सम्पन्न राष्ट्रिय भेलाबाट सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सरकारबाट जारी म्याद थपको आदेशमा संशोधन गरी सम्पूर्ण आयोजनाको एकमुष्ट रूपले म्याद थप गर्न पुनः आदेश जारी गर्नुपर्ने, रुग्ण आयोजना अन्योलग्रस्त र बजेट नभई काम हुन नसक्ने एवं काबु बाहिरका निर्माण कार्य सुविस्तारको आधारमा अन्त्य गर्नुपर्ने लगायतका ९ बुँदे माग राखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.