|

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता जनतालाई दुःख दिनका लागि नआएको बताएका छन्। बिहीबार जनकपुरधाममा शिक्षा तथा समाज कल्याण मन्त्रालय तथा निकायहरुको आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले संघीयताको अनुभूति हुने गरी कार्य सम्पादन गर्न राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशनसमेत दिए।

जनताको काम छिटो छरितो हुनुपर्छ, जनताले दुःख पाउँदै जाने हो भने संघीयताको के काम भन्दै मुख्यमन्त्री यादवले प्रश्न गरे। उनले मधेश प्रदेशको शिक्षाको स्तर उकास्न सम्बन्धित निकायका प्रमुखहरुलाई कडा निर्देशन दिँदै इमानदारीपूर्वक काम गर्न जरुरी रहेको बताए।

प्राविधिक शिक्षाको क्षेत्रमा ४८ करोड बजेट लगानी भए पनि त्यसको उपलब्धि चित्तबुझ्दो नभएको उनले स्पष्ट गरे। ‘अहिलेसम्म पनि जति उपलब्धि हुनुपर्ने हो, त्यति भएको छैन्,’ असन्तुष्टि व्यक्त गर्दै मुख्यमन्त्री यादवले भने।

आफू समस्या समाधान गर्न तयार रहेको तर लापरबाही गर्नेहरुलाई कारबाही गर्न पनि पछि नपर्ने दृढता मुख्यमन्त्री यादवले व्यक्त गरे। ११औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सबै जिल्लामा स्टेडियम निर्माणको लागि प्रदेश सरकार लगानी गर्न तयार रहेको उनले बताए।

जनकपुरधामको रामजानकी अन्तरराष्ट्रिय रंगशाला निर्माणको लागि भारत सय करोड रुपैयाँ दिन सहमत भएको जानकारी गराउँदै मुख्यमन्त्री यादवले रंगशालामा लाग्ने थप खर्च पनि भारतले बेहोर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी गराए।

सोही अवसरमा प्रदेशमा गुणस्तरीय विद्यालय स्थापना गर्ने आफ्नो अठोट रहेको जानकारी पनि उनले दिए। समीक्षा गोष्ठीमा शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादवले संघीयतामाथि चौतर्फी प्रहार भइरहेको चर्चा गर्दै कर्मचारीहरु कर्तव्य र दायित्व वोधका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

‘संघीयता जोगाउने जिम्मेवारी कर्मचारीमाथि आएको छ,’ उनले भने‚ ‘कर्मचारीले कर्तव्य र दायित्व वोध गरेर अघि बढ्नुपर्छ। उक्त अवसरमा मधेश प्रदेशका निमित्त प्रमुख सचिव किशोरकुमार चौधरीले अन्तिम समयमा आएर काम गर्दा गुणस्तर र परिमाणमा असर पर्ने हुँदा समयसीमा तोकेर योजना अघि बढाउनुपर्ने आवश्यकतामा जोड दिए।

गोष्ठीमा शिक्षा तथा समाज कल्याण मन्त्रालयमातहत रहेको शिक्षा विकास निर्देशनालय, मधेश विश्वविद्यालय, कृषि विश्वविद्यालय लगायतको कार्यालयले प्रगति विवरण प्रस्तुत गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.