|

काठमाडौँ : रजनीकान्तको नामले चिनिने थलाइवा रजनीकान्तका कुनै पनि फिल्म रिलिज हुँदा प्रशंसकहरूका लागि चाडपर्व आएजस्तै हुन्छ। योपटक करिब २ वर्षपछि रजनीकान्त फिल्म 'जेलर'मार्फत ठूलो पर्दामा उपस्थित भए।

'जेलर' हिजो रिलिज भयो। रिलिज भएकै दिन ‘जेलर’ले अत्यधिक कमाएर कीर्तिमान बनाएको छ।

फिल्म प्रदर्शन भएकै दिन भारतका चेन्नई, बेङलोर‚ हैदराबादलगायत शहरमा कर्मचारीलाई बिदा दिइएको थियो। फिल्मको पहिलो दिनको पहिलो शो हेर्न कर्मचारीलाई बिदा दिइएको हो। निजी कम्पनी र कार्यालयले पनि कर्मचारीलाई फिल्म हेर्न टिकट दिएका थिए।

रजनीकान्तको ‘जेलर’ मूलतः तेलुगु र तमिल भाषामा मात्र प्रदर्शन शुरु भएको छ। यस्तो अवस्थामा पनि फिल्मले राम्रो प्रतिक्रिया पाएको छ भने पहिलो दिन भव्य व्यापार गरेको छ।

बिहानै ६ बजेदेखि सिनेमाघरमा दर्शक भरिभराउ थिए। फिल्ममा तमन्ना, जैकी श्राफ‚ मोहनलाल‚ योगी बाबु‚ राम्या कृष्णन, वसन्त रवि र मीरा मेननले अभिनय गरेका छन्।

‘जेलर’ ले पहिलो दिन (तमिल र तेलुगु)बाट खुद साढे ४४ करोड भारतीय रुपैयाँ संकलन गरेको छ। यसको कुल संकलन ५० करोड थियो। फिल्मले पहिलो दिन तमिलनाडुमा २३ करोड, कर्नाटकमा ११ करोड, केरलमा ५ करोड‚ आन्ध्र प्रदेशमा १० करोड कमाएको थियो।

कथा
फिल्ममा रजनीकान्तले आफ्नो छोरालाई सधैँ सत्यको मार्गमा हिँड्न प्रेरित गर्ने बुबाको भूमिका खेलेका छन्। मुथुवेल पाण्डियन उर्फ ​​मुथु सेवानिवृत्त जेलर हुन्। उनी परिवारसँग सादा जीवन बिताउँछन्।

यो फिल्ममा रजनीकान्तले मुथुवेल पाण्डियनको भूमिका खेलेका छन्। उनका छोरा अर्जुन (वसन्त रवि) इमानदार प्रहरी अधिकारी हुन्। अर्जुनको पुरातन वस्तु र देवताका मूर्तिहरू तस्करी गर्ने बर्मा (विंकयान) सँग लडाइ हुन्छ।

अचानक एक दिन अर्जुन बेपत्ता हुन्छ। एक दिन मुथुले आफ्नो छोराको हत्या भएको थाहा पाउँछन्। मुथुले आफ्ना छोराका हत्याराहरूलाई योजनाबद्ध तरिकाले मार्छन्। त्यसपछि उनको छोराको हत्या नभएर अपहरण भएको थाहा हुन्छ। यहीबाट कथामा नयाँ मोड आउँछ।

फिल्ममा रजनीकान्त लामो समयपछि सशक्त भूमिकामा देखिएका छन्। फिल्मका निर्देशक नेल्सनले रजनीकान्तको चरित्रलाई निकै सशक्त तरिकाले प्रस्तुत गरेका छन्। फिल्मको पूर्वार्धमा रजनीकान्त धनी बुबाको भूमिकामा देखिएका छन्। कथा अघि बढ्दै जाँदा उनको खतरनाक पक्ष खुलासा हुन्छ।

फिल्ममा रजनीकान्तको कमेडी टाइमिङको राम्रो प्रयोग गरिएको छ र योगी बाबुसँगको उनको कमेडीले औधी हँसाउँछ। राम्या कृष्णनले जेलरकी पत्नीको ‍भूमिका निर्वाह गरेकी छन्।

फिल्मको पटकथा अलि सुस्त छ। पटकथामा अलिकति ध्यान दिएको भए फिल्म अझ कसिलो बन्न सक्थ्यो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.