‘नतिजा प्रकाशनमा ढिला भए भर्ना समय थपिन्छ’

|

काठमाडौं : कक्षा-१२ को नतिजा अझै प्रकाशन भएको छैन। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ। तर, कहिले प्रकाशित गर्ने भन्ने समय भने बोर्डले तोक्न सकेको छैन।

परीक्षा बोर्डका सूचना अधिकारी नारायण पोख्रेलले नतिजा प्रकाशनकाे काम अन्तिम चरणमा पुगेको जानकारी दिए। ‘प्रकाशनको काम अन्तिम चरणमा पुगेको छ,यही दिन प्रकाशित हुन्छ भन्न सकिँदैन,बोर्ड बैठक बस्नुपर्छ, त्यही भएर जुन दिन पनि नतिजा प्रकाशित हुन सक्छ,’उनले भने। उनका अनुसार यही साउन महिनाभित्र नतिजा प्रकाशित हुन सक्छ नभए भदौ पनि पुग्न सक्छ। 

तर,यता  त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले भने हतार गर्दै कक्षा-१२ को नतिजा प्रकाशन नभइ स्नातक तह(ब्याचलर)को भर्ना कार्यक्रम सार्वजनिक गरिसकेको छ। साउन २५ गते त्रिवि शिक्षाध्यक्षको कार्यालयले स्नातक तह प्रथम वर्षको भर्ना कार्यक्रम सार्वजनिक गरेको हो।

‘त्रिविका मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा शैक्षिक वर्ष २०८०/०८१ का लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्ना निम्नानुसार हुने भएकोले सम्बन्धित सबै संकाय र अध्ययन संस्थान, क्याम्पस तथा विद्यार्थीहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’सूचनामा भनिएको छ।

सूचना अनुसार आवेदन फाराम वितरण र बुझाउने समय  साउन २८ गतेदेखि भदौ मसान्तसम्म तोकिएको छ। भोलि(आइतबार) बाट नै फाराम भर्नुपर्ने मिति सूचनामा उल्लेख छ। यता भने अझै कक्षा १२ को नतिजा प्रकाशन भएको छैन। त्यसो त विद्यार्थीहरूको भविष्यमाथि खेलवाड भएको र मारमा पर्ने देखिन्छ।

कक्षा सञ्चालन भने मंसिर ५ गतेदेखि हुने त्रिविले जनाएको छ। यो भर्ना सूचनाले त्रिविको यतिखेर चर्को आलोचना भएको छ। सामाजिक सञ्जालमा समेत चर्को आलोचना र विरोध भइरहेको छ। जोत्सना अधिकारी फेसबुकमा लेख्छिन्, ‘यस्तो त छ पारा, नेपालको पुरानो र धेरै विश्वविद्यालयको अवस्था, बौद्धिक नालायक बसेको ठाउँ रहेछ क्या  हो, १२ को रिजल्ट हुन त दिनु पर्यो नि भर्ना खुल्नलाई।’

यसअघि पनि खुलाइयो स्नातकको नतिजा ननिकाली स्नातकोत्तरमा भर्ना

त्रिविले यसअघि पनि यस्तै गरी नतिजा प्रकाशन नगरी भर्ना कार्यक्रम निकालेको थियो। त्रिविको खेलवाड : स्नातकको नतिजा ननिकाली स्नातकोत्तरमा भर्ना ! 

त्रिविले २०७९ पुषमा ब्याचलर (स्नातक)को अन्तिम वर्षको नतिजा प्रकाशित नगरी त्रिविका मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययनअन्तर्गतका क्याम्पसहरूमा शैक्षिक वर्ष ०७९/०८० का लागि स्नातकोत्तर तह प्रथम सेमेष्टरको नयाँ भर्ना सूचना निकालेपछि यसको चौतर्फी विरोध र आलोचना भएको थियो।

त्रिविले वर्षेनी नतिजा प्रकाशनमा ढिला गर्ने तर भर्ना कार्यक्रममा भने हतार गर्ने गरेको देखिएको छ। १५ महिनासम्म पनि नतिजा प्रकाशित गर्दैन त्रिवि। जसकारण विद्यार्थीहरू आन्दोलन गर्न बाध्य छन्।

लामो समयसम्म पनि नतिजा प्रकाशन नभएपछि विद्यार्थीहरूले ०७९ पुस १९ गते त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खु अगाडि ६ महिना भित्र आउनुपर्ने नतिजा एक वर्षमा नाघ्दा पनि त्रिवि किन मौन ? त्रिवि हाम्रो रिजल्ट खोइ? रिजल्ट कुर्न नसकेर साथी खाडी गैसक्योलगायत प्ले-कार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए।

यतिमात्र होइन, त्रिविले नतिजा सार्वजनिक गर्ने बेला उल्टो उत्तरपुस्तिका हराएर पुनः परीक्षा लिएको घटना छ। त्रिविले २०७९ पुस २४ गते माघ (०७८) महिनामा सञ्चालन भएको व्यवस्थापन संकायको बिबिएस चौथो वर्षको रिसर्ज म्याथोलोजी विषयको २ सय ७ जना विद्यार्थीको पुनः परीक्षा लिएको थियो।

त्रिवि भन्छ : समन्वय भएर भर्ना सूचना निकालेको हो

त्रिविले भने परीक्षा बोर्डसँगको समन्वयमा स्नातकको भर्ना सूचना निकालेको जनाएको छ।

त्रिविका सूचना अधिकारी योगेन्द्रप्रसाद दाहालले भने, ‘समन्वय भएर नै भर्ना सूचना जारी भएको होला, हामीले वार्षिक क्यालेन्डर अनुसार जाने भनेर भर्ना कार्यक्रम निकालेको हो।’ कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएपछि भर्ना हुने समय थपिने उनको भनाइ छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.