|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले संघीय संसद्का दुवै सदन आफूहरूले अवरोध नगरेको स्पष्ट पारेका छन्। 

आइतबार विशेष पत्रकार सम्मेलन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले देश र जनताको पक्षमा आफूहरूले आवाज उठाएको बताउँदै सदनको अवरोध सत्तापक्षबाट भइरहेको आरोप लगाएका हुन्। 

‘संसद् अवरोध गर्नै हुँदैन। अवरोध गर्ने परिस्थिति ल्याउनु हुँदैन। संसद देश र जनताका लागि काम गर्ने थलो हो। जनता र देशका काम निर्वाध रूपमा काम गर्न पाउनुपर्छ। संसद् देश र जनताका पक्षमा आवाज उठाउने। सरकारमा भए रक्षा गर्ने, नभए रक्षाका निम्ति दबाब दिने थलो हो। संसद् निदाएर, सुतेर बस्ने ठाउँ होइन। संसद चलोस् न त। संसद चल्नुपर्छ तर, बरु बोल्नु हुँदैन भन्ने होइन। देश र जनताको पक्षमा बोल्नुपर्छ। देश र जनताको पक्षमा  बोलिएका कुरालाई सरकारले पनि गम्भीरताका साथ लिनुपर्छ। स्वस्थ बहस र छलफलमा आउनुपर्छ,’ उनले भने। 

अध्यक्ष ओलीले संसदमा देखिएको अवरोध एमालेले खुलाउने प्रयत्‍न गरिरहेको बताए। उनले सुन तस्करीको विषय आइरहेकाले यसलाई पार्टीगत रूपमा हेर्न नहुने बताए। 

‘अहिलेको संसदको अवरोध हामी चलाउन खोजिरहेका छौँ। तर, प्रतिपक्ष बोल्न उठ्नेबित्तिकै सत्तापक्ष होहल्ला गरेर बोल्न नदिने, बोल्यो भन्यो सुन तस्करीको सिलसिलेवार काण्डको विषय चुस्की लिने विषय हो? यो पार्टीगत पक्षधरताको कुरा हो र? देशमा सुशासन हुनुपर्छ भन्ने कुराको हामी सबै नेपालीको उत्तिकै चासो, चिन्ता हुनुपर्दैन? संसद् अवरोध हामीले गरेको होइन,’ उनले भने।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.