'सापुले चाहिँ आँखै सुकाएर कुरूप बनाइदिन सक्छ'

|

काठमाडौं : पछिल्लो समय देशभर आँखा पाक्ने रोगले सताएको छ। कतिपय स्थानीय तहहरूले त यसै समस्याका कारण केही दिनका लागि विद्यालयसमेत बिदा दिएको छ।

त्यस्तै,  स्वास्थ्य मन्त्रालयले समेत आँखा पाक्ने रोग तथा संक्रमणबाट बच्‍न सतर्कता अपनाउन अपिल गरेको छ।

अहिलेको आँखा पाक्ने रोग र सेतो पुतलीले सार्ने सापु रोगको बारेमा केन्द्रित भएर नेत्र रोग विशेषज्ञ डा.रञ्जु खरेल सिटौलासँग भएको कुराकानीमा आधारित सामग्री प्रस्तुत गरेका छौँ।

आँखा पाक्ने सबैला हुनसक्छ

पश्चिमबाट सुरु भएको आँखा पाक्ने रोग देशैभरी फैलिएको छ। एडिनो भाइरसबाट हुने कन्जङ्क्टिभाइटिसले आँखाको सेतोभागमाथि पातलो झिल्लीमा तीव्र गतिमा असर गर्छ। यो जति छिटो फैलिन्छ त्यतिकै छिटो निको पनि हुन्छ।

एउटा आँखादेखि अर्को आँखामा, व्‍यक्तिदेखि अर्को व्‍यक्तिमा तुरुन्तै सर्नसक्ने संक्रमणले ५ देखि १० प्रतिशतमा आँखाको केही थप समस्या पारे पनि बाँकी ९० प्रतिशतलाई केही दिनमा आफैँ निको हुन्छ। आँखाको यो खतरनाक समस्या होइन तर सबैलाई हुनसक्छ।

रोगसँग लड्ले प्रतिरोधी क्षमता बलियो भएकालाई भरिशक्य लाग्न नै पाउँदैन र लागिहाले पनि सामान्य अवस्थामा नै निको हुन्छ।

धेरै मात्रामा पहिलोपल्ट फैलियो

अहिलेको आँखा पाक्ने समस्या बर्सेनि हुन्थ्यो तर यति धेरै मात्रामा फैलिएको पहिलोपल्ट हो। गर्मी सकिएर जाडो आउनेबेलामा र जाडो सकिएर गर्मी सुरु हुने बेलामा मौसमी समस्याको रुपमा देखिने गरेको छ।

ब्याक्टरियाबाट लाग्ने आँखापाक्ने रोग चैँ बाह्रै महिना हुन सक्छ भने भाइरसबाट लाग्ने आँखापाक्ने रोग मौसमी रूपमा देखापर्छ।

आँखामा केही परेको जस्तो हुनु, बिझाउनु चिलाउनु, आँखा रातो हुँदै जानु सुरुवाती लक्षण हुन् भने विस्तारै आँखामा कचेरा लाग्नु,  आँसु बग्नु, उज्यालोमा हेर्न गाह्रो हुँदै जानु, ढकनी सुन्निनु थप लक्षण हुन्। एकैदिनमा र केही घण्टामै यस्तो लक्षण देखिन सक्छ।

आँखा पाक्ने यो समस्यासँगै ज्वरो आउने घाँटी दुख्ने  र टाउको पनि दुख्न सक्छ। कतिलाई पहिला आँखा पाक्ने समस्या देखिएपछि त्यस्तो हुनसक्छ कतिलाई पहिले नै त्यो खालको लक्षण हुनसक्छ।

आँखा पाक्ने समस्याकै कारणले कानको अगाडिको ग्रन्थी सुन्निएर कानको अगाडिको भागमा सानो डल्लो नै भेटिए पनि कतिलाई यी कुनै पनि लक्षण नभई आँखामा मात्र समस्या हुनसक्छ।

-७ दिनमा आफैँ ठिक हुन्छ

एडिनो भाइरस दीर्घजीवी नभएकाले आँखा पाकेको यो समस्या घटीमा ४-५ दिनदेखि बढीमा १४ दिन सम्ममा आफैँ ठिक हुन्छ। आँखा हेर्न नै समस्या भयो, ज्वरो बढ्दै गयो,ज्यादै धेरै चिप्रा लागेर आँखा खोल्न नसक्ने अवस्था भएमा मात्र अस्पतालमा जानुपर्छ। धेरैले आँखा पाक्ने रोगबाट जोगिन भनेर कालो चस्मा लगाएको पनि पाइएको छ, कालो चस्माले अहिलेको आँखा पाक्ने रोग रोक्दैन।

घरमै बसेर शरीरको प्रतिरोधी क्षमता बढाउने खाना खाने, सरसफाइ गर्ने, प्रशस्त मात्रामा पानी पिउने र दिनमा ३-४ पल्ट सफा पानीले राम्रोसँग आँखा सफा गरेमा केही दिनमा निको हुन्छ।

आँखा छुनुअघि र आँखा छोएपछि सफा साबुनपानीले मिचीमिची हातधुने बानी बसाल्नु पर्दछ।

आँखा पाकेकाले आफला अलग राख्नुपर्दछ   

आँखा पाकेको व्‍यक्ति आफू अलग बसेमा यो संक्रमण हुने थिएन। कम्तीमा ५ दिन अरूदेखि अलग्गै राख्ने, हातले जथाभावी नछुने, आफूले प्रयोग गरेको सामान अरूलाई छुन नदिने गरेमा यो रोग अरूलाइ सर्दैन।

आफूले प्रयोग गरेको औषधि छ भने त्यो ओखती पनि अरूलाई प्रयोग गर्न,  छुन, चलाउन दिनु हुँदैन। यो रोग हावाबाट नसर्ने भएकाले सावधानी अपनाउँदा सजिलै जोगिन सकिन्छ।

यदि आँखा पाकेको बिरामीलाई अरूले हेरचाह गर्नु पर्नेछ भने बिरामीको हेरचाह गर्नु,  छुनुअघि र पछि राम्रोसँग साबुनपानीले हातधुने गरेमा, सरसफाइमा ध्यान दिएमा खासै डराउन पर्दैन। एडिनो भाइरस १४ दिनसम्म पनि जीवितै रहने हुनाले जथाभावी छुने चलाउने गर्नु हुँदैन। हल्लाको भरमा कुनै पनि ओखती आँखामा लगाउने खाने नगरौँ।

सापु भन्ने खतरनाक रोगको सम्भावना 

नेपाली जोर वर्षमा विगत ४८ वर्षयता केही निश्चित क्षेत्रमा सेतो पुतलीले सार्ने सापु रोग आउने गरेको छ। सापु अहिलेको आँखापाक्ने कन्जङ्क्टिभाइटिस जस्तो सामान्य छैन।

सापुले आँखा सुकेर कुरुप बनाउने, आँखाको ज्योति कमजोर पार्नेदेखि दृष्टि नै गुम्न सक्छ। कोशी, बाग्मती, गण्डकी र लुम्बीनी प्रदेशका मध्यपहाडी क्षेत्रका केही जिल्लामा सापुको सम्भावना भएकाले यो सिजनमा ती ठाउँमा उच्च सतर्कता अपनाउन आवश्यकक छ।  

रातो आँखामा सेतो नानी देखिनु सापु हो तर सर्दैन

सापुले आँखा रातो र नानी सेतो हुँदै जान्छ। केही घण्टामै आँखामा गम्भीर खालको लक्षण देखिन थाल्ने भएकाले सापुको उपचार तुरुन्तै थाल्नु पर्दछ। साउनको अन्तिमदेखि कात्तिकसम्म मात्र सापु रोगको भय रहन्छ। उच्च पहाडी भाग,हिमाली भाग र तराइमा सापुको सम्भावना हालसम्म देखिएको छैन।

आँखा पाक्ने सामान्य समस्या भन्दाभन्दै सापु लागेको पनि हुनसक्छ, त्यसैले जोखिमको क्षेत्रमा उच्च सर्तकता आवश्‍कक छ। सापु रोग सबै उमेरकालाई हुने भए पनि बालबालिका बढी प्रभावित भएको विगत छ।

अहिलेको आँखा पाक्ने रोग एउटा आँखाबाट अर्को आँखामा र एउटा ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्छ तर सापु व्‍यक्तबाट व्‍यक्तिमा र एउटा आँखाबाट अर्कोमा पनि सर्दैन।

सापु र अहिलेको आँखा पाक्ने कसरी चिन्ने?

अहिलेको आँखा पाक्ने रोग दुवै आँखामा हुन्छ भने सापु एउटा मात्र आँखामा हुने रोग हो। आँखा पाक्ने रोगमा सामान्य ज्वरो आउने, घाँटी दुख्ने, टाउको दुख्ने जस्ता लक्षण देखिन्छ भने सापुमा ती कुनै पनि लक्ष्यण नदेखिई आँखामा मात्र समस्या हुन्छ।

सापु लागेको केही घण्टामा होइन केही मिनेटमै आँखा निकै सुन्निने, चिलाउने, कचेरा लाग्ने, धेरै रातो हुँदै जाने हुन्छ, मिनेट मिनेटमा यो समस्या बढेर जान्छ।

त्यसैले तुरुन्तै स्वास्थ्य संस्थामा गइहाल्नुपर्छ। सापु रोग आउने जोर वर्ष र उपयुक्त सिजन यही हो, अब सुरु भयो।

सापुबाट बच्न सेतो पुतली नष्ट गर्ने,  घर आँगन सफा राख्ने, खेतबारीमा जाँदा पनि सेतो पुतलीबाट जोगिने, घरको झ्याल– ढोकामा जाली लगाउने, झुल टाँगेर सुत्ने गरेमा केही जोगिन सकिन्छ।

आँखालाई सधैँको सरसफा

खेतबारीमा काम गर्दा,  वनजंगल मेलापात जाँदा, उद्योग कल कारखानामा काम गर्दा आँखाको सुरक्षामा ध्यान पुर्‍याउनुपर्छ। आँखामा केही परिहाल्यो भने बेस्सरी मिच्नु हुँदैन, सफा पानीले हल्का रूपमा धुनुपर्छ।

डाक्टरको सल्लाह बेगर कुनै पनि ओखती आँखामा राख्नु हुँदैन र एउटाले प्रयोग गरेको आँखाको ओखती कहिल्यै पनि अर्कोले प्रयोग गर्नु,  गराउनु हुँदैन।

स्वस्थकर आहारबिहार र विश्राम आँखालाई पनि चाहिन्छ। आँखालाई पनि प्रशस्त पानी चाहिने भएकाले पानी आवश्‍यक मात्रामा पिउनु पर्दछ। दिनमा २-३ पल्ट सफा पानीले आँखा धुनुपर्छ। तर, धेरैपल्ट आँखा धोइरहनु राम्रो होइन।

आँखामा केही पर्‍यो, चिलायो बिझायो, रातो भयो वा दुख्यो, पाक्यो र सामान्य घरेलु उपचार गर्दा निको भएन भने तुरुन्तै अस्पताल जानुपर्छ।

आँखा नियमित जँचाउनुपर्छ

खासगरी बच्चाको आँखा ६-६ महिना र ठूला व्यक्तिहरूको १- १ वर्षमा आँखा जाँच गर्नुपर्छ।  साबुन पानीले हात धोयर मात्र आँखामा छुनुपर्छ। हातले बारम्बार आँखा, नाक र मुखमा छुने बानी तुरुन्तै हटाउनु पर्दछ भने हामी हिँड्दा पनि जथाभावी छुँदै हिँड्ने बानी गर्नुहुँदैन।

मोबाइल कम्प्युटर, ल्यापटप, टेलिभिजन जस्ता डिभाइसहरू भरसक कम प्रयोग गरेमा आँखाका लागि राम्रो हो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.