सांसदको गुनासो, ‘संसदमा वादविवाद प्रतियोगिता गरेको जस्तो भयो’

|

पर्वत : गण्डकी प्रदेश सभामा चलिरहेको बैठक अन्तर्गत नेकपा (एमाले) ले दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा बुधबारदेखि छलफल सुरु भएको छ।
कृषिजन्य उत्पादन तथा पशुपालनको पनि राम्रो क्षेत्र रहेको गण्डकीमा गाई, गोरु र भैँसीमा देखिएको ‘लम्पी स्किन’ को प्रकोपले कृषकहरू चरम समस्यामा परेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको थियो। एमालेका तर्फबाट सांसद भिमबहादुर कार्की ले गण्डकी प्रदेश सभाको नियमावलीअनुसार प्रस्ताव छलफलमा ल्याएका हुन्।

बुधबारको बैठकमा ‘लम्पी स्किन’ को बारेमा आफ्ना भनाइ राखेका सांसदहरूले यो अवस्थामा कृषकलाई राहत, क्षतिपूर्ति र बीमा रकम उपलब्ध गराउन नसक्ने हो भने प्रदेश सभाको औचित्यमाथि नै प्रश्न उठ्ने बताएका छन्। रोगका कारण भएको क्षतिले कृषकहरू उठ्नै नसक्ने अवस्थामा आएको र यो बेलामा प्रदेश सरकारले थप नियन्त्रणका लागि थप कदमहरू चाल्नुपर्ने उनीहरूले बताएका छन्।

प्रस्ताव दर्ता गराएका सांसद कार्कीले नेपालका सात लाख ८२ हजार गाई भैँसी संक्रमित भएका र तीमध्येका २८ हजार भन्दा बढीको मृत्यु हुँदा करिब ३८ अर्ब ४१ करोड रुपैयाँ बराबरको क्षति भएको बताए। ११ जिल्लामा ८५ वटा स्थानीय तहहरू रहेको प्रदेशका ८२ वटा स्थानीय तहमा ‘लम्पी स्किन’ को प्रकोप पुगेको उनको भनाई छ। प्रदेशमा आठ लाख ५४ हजार नौ सय २५ गाई भैँसी दर्ता भएका र तीमध्येका ६९ हजार चार सय ८१ गाई भैँसीमा रोगको संक्रमण भएको तथ्याङ्क कार्कीले प्रस्तुत गरे। संक्रमितमध्ये तीन हजार दुई सय भन्दा बढी गाई, गोरु र भैँसी मरेको र हिले पनि करिब ४० हजार पशु संक्रमित अवस्थामा रहेको उनको भनाइ छ।

‘यो औपचारिक डाटा मात्रै हो। अनौपचारिक तथ्याङ्क पनि खोज्दै जाँदा त कति हुन्छ कति। यसका विरुद्धमा खोप दिनुपर्ने छ। हालसम्म एक लख तीन हजार दुई सय ३० खोप दिइएको छ। केन्द्रले ५१ हजार चार सय, स्थानीय तह अन्तर्गत ४६ हजार सात सय दुई र कृषक आफैंले पाँच हजार एक सय दुई डोज खोपको व्यवस्थापन गरेका छन्’ सांसद कार्कीले भने, ‘प्रदेशका तर्फबाट यसबारेमा उपलब्धिपूर्ण काम देखिएको छैन। संघीयता भनेको प्रदेश सरकारको सफलता हो। जनताको नजिकको सरकार भनेको प्रदेश सरकार हो। बीमा कम्पनीहरू भागिरहेको अवस्था छ। उनीहरूले पैसा दिन नसक्ने भनेका छन्। पशु मरेर क्षति भोगेका कृषकले बीमाको रकम समेत पाएका छन्। किसानहरू उठ्नै नसक्ने गरी समस्यामा परेका छन्।’

प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दूध, मासु र अण्डामा प्रदेशलाई आत्मनिर्भर बनाउन खोजेको बताएको  भए पनि ‘लम्पी स्किन’ बाट क्षति बेहोरेका कृषकहरूलाई केही सहयोग गर्न नसक्दा आत्मनिर्भर हुन सक्ने स्थिति नरहने पनि कार्कीको भनाई छ। कृषकहरूको जनजीवन निकै कष्टकर बनेको बेलामा सरकार छ भन्ने अनुभूति दिन सकिएन भने प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठ्ने उनको तर्क छ।

सांसद भक्त कुँवरले पशुका बीमा गरेका कम्पनीहरूले बीमाको रकम समेत दिन नमानिरहेको कुरा आएको भन्दै यसमा सरकारको ध्यानाकर्षण हुनुपर्ने बताए। बीमा कम्पनीले रकम दिन चाहेको अवस्थामा पनि यसको प्रक्रिया झन्झटिलो हुँदा कृषकहरू समस्यामा परेको उनको भनाई छ। प्रदेशका कतिपय ठाउँमा ‘बीमा भनेको के हो?’ भन्ने थाहा नै नभएर हैरान भएको पनि उनले सुनाए।

जरुरी सार्वजनिक महत्वको प्रस्ताव समर्थक सांसद राजकुमारी भुजेलले गण्डकीमा २८ हजार भन्दा बढी पशु मरेको बताउँदै यो तथ्याङ्क दर्ता भएर सञ्चालनमा रहेका फार्म वा बीमा गरिएका पशुहरूको भएको बताइन्। कृषकहरू उठ्नै नसक्ने गरी पिडामा परेको बेलामा सरकारले राहत दिन सकेन भने संघीयताको महत्त्व घट्ने भन्दै उनले  रेडियो र टिभीबाट सूचना दिने, क्वारेनटाइन बनाउने, बीमा कम्पनीहरूले गरेको आलटाल लगायतका समस्या समाधानको लागि प्रदेश सरकारले काम गर्नुपर्ने सुझाव राखिन्।

अर्की सांसद बिन्दु पौडेलले प्रदेश सरकारले संक्रमण निगरानी सेन्टर स्थापना गर्न आवश्यक देखिएको बताइन्।  ‘लम्पी स्किन’ को बारेमा नागरिकमा पुगेर सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने देखिएको भन्दै उनले बीमा कम्पनीहरूलाई समयमै रकम दिन सरकारले सचेत बनाउनुपर्ने सुझाइन। पशु पुनर्स्थापना कार्यक्रमहरू चलाउनुपर्ने, सित्तैमा खोप दिनुपर्ने, पशु बीमा नगरेकाहरूलाई राहत राहत दिनुपर्ने पौडेलको माग छ।

अर्को प्रसङ्गमा उनले संसद्लाई वादविवाद प्रतियोगिता जस्तो नबनाई सबैले रिसलाई नियन्त्रणमा राखेर सांसदहरूका सुझाव सङ्कलन गर्न अपिल गरेकी छिन्। ‘संसदमा बोल्नेहरू बोलिरहेका छन्। तर तल बस्नेहरू आफ्नै धुनमा। एउटाले प्रश्न सोध्ने अर्कोले जवाफ दिने मात्रै रहेछ। तल बसेकाहरूको कुरा सुन्ने कोही छैन। प्रतिपक्षी हुँ भन्दैमा विरोध गर्नै पर्छ भन्ने पनि छैन। राम्रा कुरालाई राम्रा भन्न सकौँ।’, उनले भनिन्।

सांसद रेखा गुरुङले गण्डकीमा गत साउन २८ गतेसम्म गण्डकीका ७९ हजार नौ ८७ पशुमा ‘लम्पी स्किन’ संक्रमण भएको तथ्याङ्क प्राप्त भएको बताइन। उनका अनुसार तीमध्येका ४२ हजार चार सय ९४ लाई निको भएको छ भने चार हजार पाँच सय ५४ मरेका छन्। रोगको नियन्त्रणको लागि सरकारले गरिरहेका कामहरूको बारेमा बताउँदै उनले सरकारको बचाउ गरिन्।

‘कृषकहरू निकै पीडामा छन्। विनियोजित बजेट नभएता पनि अघिल्लो वर्षको अन्त्यमा एक करोडको व्यवस्थापन गरेर खोप दिने काम भइरहेको छ। कृषकहरू आँ फैले लगानी गरेर पनि खोपको व्यवस्थापन गरेका छन्’, उनले भनिन, ‘अहिलेसम्म भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र स्थानीय व्यक्ति गरेर एक लाख १० हजार चार सय १९ पशुलाई खोप लगाइएको छ। औषधि अहिलेसम्म पत्ता नलागेकोले खोप नै यसको उत्तम विकल्प हो। बाँकी रहेका गाई भैँसी सबैलाई खोप दिनुपर्छ। बीमालाई निःशुल्क बनाइएको छ। संघ सरकारले दिएको रकम नपुगेको प्रदेश सरकारले दिने गरेको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.