|

काठमाडौं : सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजिपी)को सरुवा गरेको छ। गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एआइजीपिहरूको सरुवा गरेको एक मन्त्रीले जानकारी दिए। 

उपत्यका प्रहरी प्रमुख रहेका श्याम ज्ञवालीलाई कार्य विभागमा सरुवा गरिएको छ। उनको ठाउँमा प्रशासन विभागका दीपक थापालाई ल्याइएको छ। ज्ञवाली उपत्यका प्रहरी कार्यालयमा आएको साढे चार महिना मात्रै भएको थियो।

थापाको ठाउँमा मिरा चौधरीलाई लगिएको छ। उनी कार्य विभागमा कार्यरत थिइन्। मानव स्रोत विभागमा टेकबहादुर राईलाई ल्याइएको छ। उनी यसअघि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए। प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सन्दीप भण्डारीको सरुवा भएको छ। भण्डारी मानवस्रोतमा कार्यरत थिए। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धानको तयारी गरिरहेका बेला सरुवा गरिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतको दबाबमा ज्ञवालीको सरुवा गरिएको स्रोतको दाबी छ। 

सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दालाई कमजोर बनाउन प्रहरी प्रमुखहरूको सरुवा गरेको हो। दोस्रो चरणको अनुसन्धानमा माथिल्लो तहका नेताहरू फस्ने डरले सरकारले प्रहरी प्रमुख नै परिवर्तन गरिएको स्रोतको दाबी छ। प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च तहका राजनीतिक संलग्नता रहेको बताउँदै आइरहेका बेला सरकारले एआइजीपीहरूको सरुवा गरेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.