|

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिने प्रयोजनका लागि आफैंले बोलाएको बैठक छलेर उपसभामुख सिर्जना दनुवार काठमाडौं लागेकी छिन्। बिहान ७ बजेको यति एयरलाइन्सको फ्लाइटबाट उनी काठमाडौं लागेकी हुन्।

उनले प्रदेशसभा सचिवालयले आफू आज उपस्थित हुन नसक्ने जानकारी गराएकी छिन्।  बिरामी भएर उपचारका लागि उपसभामुख काठमाडौ लागेको  स्रोतले जनाएको छ। स्रोतका अनुसार उपसभामुखको गाडी हिजो नै काठमाडौ लगिएको र उपसभामुख दनुवार भने आज प्लेन मार्फत उपचारका लागि काठमाडौं लागेकी हुन्।

मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयमा आइतबारका लागि समय माग गरेका थिए। उपसभामुख दनुवारले भने आजका लागि बैठक आव्हान गरेकी थिइन्। उनै दनुवारले आज बिहान ८ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाएकी थिइन्।

थापालाई विश्वासको मत लिन नदिनका लागि एमालेले उपसभामखुलाई अनुपस्थित गराउने आशङका गरिँदै आएको थियो। उक्त आशङ्कालाई बल पुग्ने गरी उपसभामुख दनुवार प्रदेशसभाको बैठकै छलेर काठमाडौं लागेकी हुन्।

यसअघि हिजै एमालेले ७ जना र राप्रपाले २ जना प्रदेशसभाका जेष्ठ सदस्यहरुलाई विदामा बस्न लगाएको छ। उनीहरुले ‘घरायसी समस्या’ देखाउँदै संसद सचिवालयमा आजको प्रदेशसभा बैठकमा उपस्थित हुन नसक्ने जनाएका छन्।

थापाले विश्वासको मत लिनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक बोलाईएको थियो। उपसभामुखले राजीनामा दिएको वा अनुपस्थित भएको अवस्थामा जेष्ठ सदस्यले सभा संचालन गर्नुपर्ने भएकोले एमाले र राप्रपाले उनीहरूलाई विदामा राखेको हो। सभा संचालन गठबन्धन दलकै सांसदले गर्नुपर्ने अवस्था आए मुख्यमन्त्री थापालाई बहुमत ४७ संख्या पुर्याउन कठिन हुनेछ।

सत्तापक्षमा रहेका ४७ सांसदमध्ये १ सांसदले सभा संचालन गर्नुपरेको अवस्थामा गठबन्धनलाई १ सांसद अपुग हुने देखिन्छ।

कोशीमा यसअघि सरकार बनाउन गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएको थियो भने प्रदेश सभाका ज्येष्ठ सदस्य कांग्रेस सांसद गयानन्द मण्डललाई बैठकको अध्यक्षता गर्न नदिन राज्यमन्त्रीमा नियुक्त गरेको थियो।

हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली कांग्रेसको २९, नेकपा माओवादीको १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन्। एमाले थापा नेतृत्वको सरकार ढालेर पुनः आफ्नै नेतृत्वमा सरकार गठन गर्न चाहन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.