|

धनगढी : धनगढीको स्वस्तिक अस्पतालमा मिर्गौलाको पत्थरीको शल्यक्रिया गरेका एकजनाको मृत्यु भएको छ। शनिबार अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको अस्पतालले जनाएको छ।

चौधरीको अस्पतालले शल्यक्रिया गरेर बायाँ मिर्गौलामा जमेको ११ एमएम र ९ एमएमका दुईवटा स्टोन निकालेको थियो। सोही क्रममा अत्यधिक रक्तश्राव भएको थियो।

रक्तश्राव नरोकिएपछि अस्पतालका जर्नल सर्जन डाक्टर जोनस तिवारीले मृतकका परिवारलाई मिर्गौला झिक्नुपर्ने बताएका थिए।

मृतकका भतिजा राजकुमार चौधरीले डाक्टरले मिर्गौला चाहिन्छ कि मान्छेको ज्यान भनेपछि आफूहरूले मिर्गौला झिकेर भए पनि ज्यान जोगाइदिन आग्रह गरेको बताए तर डाक्टरले मिर्गौला निकालेपछि भने मृत्युको खबर सुनाएको बताउँदै चौधरीले लापरबाही गरिएकाले कारबाहीको माग गरेका छन्।

अस्पतालका सञ्चालक महेश जोशीले पत्थरीको शल्यक्रिया गर्ने क्रममा रक्तश्राव नरोकिएपछि डाक्टरले मिर्गौला झिकेको बताए। मिर्गौला झिकेपछि रक्तश्राव रोकिए पनि बिरामीको अवस्था सुधार नभएको बताउँदै भेन्टिलेटरमा राखेर उपचार गर्दासमेत बचाउन नसकिएको जोशीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.