|

काठमाडौं :  कुनै वेला नेपाली ​कांग्रेसमा अत्यन्त प्रभावशाली नेता थिए, कृष्णप्रसाद सिटौला। 

सक्रिय राजनीतिक जीवनमा सिटौलाले जे जस्ता अवसर पाए, त्यो उनी आफ्नै लागि पनि अकल्पनीयजस्तै थियो। कांग्रेसको मुख्य नेतृत्वमा नपुगे पनि उनी पार्टीमा सधैँ शक्तिशाली नै रहे।  

तर, कुनै वेला पार्टीमा ‘थर्ड पोल’का रूपमा चिनिएका सिटौला अहिले पार्टीमा कमजोर बनेका छन्। आफूले अघि बढाएका युवा नेताले एकपछि अर्को गर्दै गुट फेरेपछि यति वेला उनी कमजोर देखिएका हुन्।

उमेरले ७० वर्ष कटिसकेका सिटौला शरीरसँगै राजनीतिकरूपमा पनि कमजोर बन्दै गइरहेका छन्। समूहबाट बनाएका नेताहरूबाट धोका अनि पार्टी भूमिका देउवाले खुम्च्याउँदै लैजाँदा सिटौला निराश पनि बनेका छन्। 

कांग्रेसमा सिटौलाको उदय

कांग्रेसको अहिलेको नेतृत्वमा रहेका शेरबहादुर देउवादेखि अधिकांश नेपाल विद्यार्थी संघको राजनीतिबाटै आएका हुन्। तर सिटौला जिल्ला सभापति हुँदै केन्द्रीय राजनीतिमा आएका हुन्।

०३३ सालदेखि नै कांग्रेसमा सक्रिय राजनीतिमा होमिएका उनी ०४६ सालको जनआन्दोलनपछि संसदीय राजनीतिमा प्रवेश गरे। ४८ को चुनावमा झापाको क्षेत्र नम्बर १ मा एमालेका द्रोणप्रसाद आचार्यसँग पराजित भए।

आचार्यको असामयिक निधन भएपछि झापा ०५० सालमा मध्यावधि चुनाव भयो, निर्वाचित हुँदै उनले संसद् छिर्ने मौका पाए। ०५७ साल माघमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा हेरफेर हुँदा उनी उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बने। 

शाही शासनकालमा कांग्रेसका तत्कालीन सहमहामन्त्री गोविन्दराज जोशीविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएपछि उनी पार्टीमा कमजोर हुँदै गए। जोशी गिरिजाप्रसाद निकट थिए। जोशी कमजोर भएपछि कोइरालाले उनी निकट मानिएका कृष्ण सिटौलालाई रोजे। गिरिजाप्रसादको विश्वास जित्न सक्नु नै सिटौलाको ‘टर्निङ प्वाइन्ट’ बन्यो।

यसपछि उनी लगातार कोइरालासँगै रहे। ०६२/०६३ को आन्दोलन, माओवादीसँगको १२ बुँदे सम्झौतामा पनि गिरिजाप्रसाद कोइरालाले सिटौलामार्फत आफ्ना काम गराए।

गिरिजाको ‘सारथी’ बनेर सिटौलाले नै प्रचण्ड र बाबुराम भट्टराईलाई ०६३ साल असारमा काठमाडौं भित्र्याए। त्यसअघि नै ०६३ वैशाख १९ गते  कोइरालाको नेतृत्वमा गठन भएको सरकारमा सिटौला गृहमन्त्री थिए।

कोइरालाको निधनपछि कांग्रेसभित्रबाटै धेरैले कृष्ण सिटौलाको पनि राजनीति सकियो भन्ने टिप्पणी गरे। तर, १२ औं महाधिवेशनमा सुशील कोइरालालाई सभापति बनाउन पर्दा पछाडि बसेर सक्रिय भए र टिम बनाउने सबै काम उनैले गरे।

सुशील सभापति बनेपछि संस्थापन समूहबाट सिटौलालाई महामन्त्री मनोनयन गर्न नै कठिन भयो। निर्वाचित महामन्त्री प्रकाशमान सिंह उनका प्रतिद्वन्द्वी भए भने उपसभापति रामचन्द्र पौडेल पनि उनलाई अघि बढाउन चाहेनन्, जसका कारण सिटौला र सुशीलको दूरी बढ्यो। 

ओरालो यात्रा

कांग्रेसमा सिटौलाले एउटा आफ्नै ‘ब्राण्ड’ बनाएका थिए। कोइराला परिवारले रुचाएका सिटौलाले कांग्रेसको १३ औँ महाधिवेशनमा तत्कालीन संस्थापन समूहबाट विद्रोह गरेर पहिलोपटक आफ्नै नेतृत्वमा छुट्टै गुट बनाएका थिए। 

त्यो वेला गगन थापा महामन्त्री र उमाकान्त चौधरी कोषाध्यक्षको उम्मेदवार बने। तर, थापा र चौधरी पराजित भए। सभापतिको उम्मेदवार बनेका सिटौलाले दोस्रो चरणमा भने देउवालाई सघाए। देउवाको जित उनकै कारण सम्भव भयो।

त्यसपछि कांग्रेसभित्र ‘निर्णायक’ बनिरहेका सिटौला १४ औँ महाधिवेशनमा पनि सभापति र पदाधिकारीको निर्वाचनमा आफ्नो समूहलाई निर्णायक रूपमा अगाडि सार्न चाहन्थे। तर, गगन थापाले साथ नदिँदा उनको गुट कमजोर बन्यो। 

१३ औँ महाधिवेशनमा थापालाई महामन्त्रीमा अघि सारेका सिटौलाले १४ औं महाधिवेशनमा प्रदीप पौडेललाई अघि बढाए। १४ औँ महाधिवेशनमा गगनले धोका दिएको भन्दै सिटौलाले प्रदीपलाई सभापति शेरबहादुर देउवाको गुटमा अटाएर महामन्त्रीमा भिडाएका थिए। तर,पौडेल हार्न पुगे। 

अघिल्लो महाधिवेशनमा जस्तै यसपटक पनि अन्तिम समयमा उनी शेरबहादुर देउवाको पक्षमा उभिएर आफ्नो गुट जोगाउने प्रयत्नमा लागे। त्यसैको प्रतिफल यसपालिको निर्वाचनमा आफूसहित आफ्नो गुटका केही नेतालाई टिकट दिलाउन सफल भए।

देउवासँग सहकार्य गरेर काठमाडौं–५ बाट सांसद बनाइएका प्रदीप संसदीय दलको चुनावसम्म पुग्दा भने सिटौलालाई छाडेर गगन थापाको समर्थक बस्न पुगे। विगतमा सिटौलानिकट मानिएका अरु नेता पनि अहिले उनको साथमा देखिँदैनन्।  

पुन: किन बढ्दैछ सक्रियता?

यतिबेला सिटौला पुनः राजनीतिमा सक्रिय हुन आफ्नै सम्भावना परीक्षण गर्दैछन्। 

गत मंसिरको निर्वाचनमा पराजित भएपछि निस्क्रिय बसेका सिटौला पुनः सक्रिय आफ्नै परीक्षणमा छन्। 

सिटौला निगरानीमा खोलिएको ‘टल्क सेन्टर’ बाट सिटौलाले देशव्यापीरूपमा बहस अभियान सञ्चालन गरिरहेका छन्। गत साउन २१ गते आइतबार सिटौला आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा स्रोता भएर बसेका थिए । 

‘यहाँ तीनजना मात्र वक्ता छन् । प्रमुख वक्ता कोही पनि छैन । यहाँ प्रमुख स्रोता छन् । प्रमुख स्रोता कृष्णप्रसाद सिटौला हुनुहुन्छ । विशिष्ठ स्रोताको रूपमा सहमहामन्त्री उमाकान्त चौधरी, नेता भिमसेनदास प्रधान र शिव हुमागाईं हुनुहुन्छ’, कार्यक्रमका वक्ताबारे जानकारी दिँदै समूहका नेता नवराज त्रिपाठीले भनेका थिए।

बागलुङ कांग्रेसका सभापति तथा गण्डकी प्रदेशसभा सदस्य जीत शेरचन, कोशी प्रदेशका महामन्त्री तथा प्रदेश सभामा कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राई र केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभामा कांग्रेसका प्रमुख सचेतक कुन्दनराज काफ्लेले भाषण गर्दा सिटौला दर्शकदीर्घामा  थिए ।

सिटौलानिकट कांग्रेस नेता भीमसेनदास प्रधानको अनुसार सिटौला देशमा संविधान कार्यान्वयनको अवस्था,संविधानप्रति जनताको धारणा,जनताको विचार,समस्या सबै सुन्न सातै प्रदेशमा जाँदैछन्। 

‘अहिले उहाँ आफू स्रोता भएर जनताको कुरा सुन्ने र ती सबै कुरालाई समेटेर पार्टी सभापति र प्रधानमन्त्रीलाई बुझाउने तयारीमा हुनुहुन्छ’,प्रधानले भने। 

सिटौलालाई सहयात्रीले छोडेर गएको विषयमा भने प्रधानले विद्यार्थी राजनीतिबाट आएका गगन थापा र प्रदीप पौडेलजस्ता नेता अवसरको खोजीमा गएको टिप्पणी गरे। 

कांग्रेसको १५ औँ अधिवेशनको तयारीको लागि यो अभियान चलाउनु भएको हो ? भन्ने  प्रश्नमा प्रधानले त्यस विषयमा कोइरालाले आफूहरूलाई नबोल्नु भनेको बताए। उनले १५ औ महाधिवेशन आउन अझै समय बाँकी नै रहेकोले अहिले नै तयारी गर्न आवश्यक नरहेको समेत बताए। 

‘उहाँ निष्क्रिय नै त कहिल्यै पनि हुनुभएन। उहाँ कुनै न कुनै रूपमा राजनीतिमा फेरि सक्रिय हुनुहुनेछ। अहिले उहाँ जनताको बिचमा जनतालाई बुझ्न जाँदै हुनुहुन्छ’, प्रधानले भने।

कांग्रेस बागमती प्रदेश प्रमुख सचेतक कुन्दनराज काफ्लेले पार्टीको लागि समय दिन नभ्याएको भन्दै सोमबार राजीनामा दिए। तर सिटौलाको सक्रियता बढाउन सहयोग गर्नैकै लागि उनले राजीनामा दिएको हुनसक्ने कांग्रेस नेताहरू बताउँछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.