|

काठमाडौँ : कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषद्का सदस्यहरूसँग समसामयिक विषयमा छलफल गरेका छन्। 

रक्षा मन्त्रालयमा आज सबै मन्त्रीहरूसँग छलफल गर्दै उनले आ–आफ्नो मन्त्रालयको काम जनता सन्तुष्ट हुने गरी कार्यसम्पादन गर्न सबै लाग्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणमा रहेका बेला पनि जनतासँग जोडिएका र सेवा प्रवाहका काममा कुनै गुनासो नआउने गरी काम गर्ने विषयमा छलफल भएको कावा प्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ।

छलफलमा उनले देशको शान्तिसुरक्षामा खलल पुर्‍याउने र नागरिकमा वितृष्णा फैलाउने तत्वहरू सक्रिय हुन खोजेकाले त्यसप्रति सजग भई सबै मन्त्रालयले काम गर्नुपर्नेमा जोड दिए। 

साथै उनले संविधान दिवस र नजिकिँदै गरेका चाडपर्वहरूमा शान्तिसुरक्षादेखि बजारको आपूर्तिमा सहजता ल्याउँदै कालोबजारी र महँगी नियन्त्रणमा नतिजा आउने गरी तथा आम नागरिकले राहत महसुस गर्ने गरी समयसीमा तोकेरै सबैले काम गर्नुपर्नेमा जोड दिए।

छलफलमा सबै मन्त्रालयको कार्यसम्पादन बढाउने र जनतालाई प्रदान गर्ने सेवाप्रवाह थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो। 

बैठकमा चाडपर्वको बेला सवारी आवागमन बढ्ने भएकाले सडक सुधार तथा सुरक्षालाई थप प्रभावकारी बनाउन तत्काल कार्ययोजना बनाई महत्वका साथ सरकारले लाग्नुपर्ने कावा प्रधानमन्त्री खड्काले जोड दिए।

छलफलमा सहभागी उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत सबै मन्त्रीहरूले नागरिकको दैनिक जीवनसँग जोडिएका शान्तिसुरक्षालगायत बजारको आपूर्ति व्यवस्थाबारे आ–आफ्नो मन्त्रालयबाट हुने काममा कुनै कसर बाँकी नराख्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.