|

काठमाडौं : शहरी विकासमन्त्री सीता गुरुङले निर्माणाधीन संघीय संसद भवनको ठेक्का अवधि थप गर्न नसकिने बताएकी छन्।

मन्त्री गुरुङले कार्य प्रगति सन्तोषजनक नभएको उल्लेख गर्दै हचुवाको भरमा सरकारले सो भवनको ठेक्का सम्झौता अवधि थप गर्न नसकिने प्रष्टयाएकी हुन्।

सोमवार संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समिति नेतृत्वको टोलीसँग सो भवनको अनुगमन गर्न पुगेकी उनले सञ्चारकर्मीमाझ असोज महिनाभित्र सम्पन्न गरिसक्ने शर्तमा पछिल्लो समय पनि आफूले ६ महिना म्याद थप गरिदिएको तर काम सोही अनुसार नभएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।

मन्त्री गुरुङले आफूहरुले हिउँदे अधिवेशन सोही भवनबाटै शुरु गर्नेगरी सम्बन्धित निकायलाई निर्माण सक्न पटकपटक ताकेता गरेको पनि बताइन्। म्याद थपेर समस्या समाधान नहुने भएकाले सम्बन्धित पक्षले असोजभित्र सो भवनको निर्माण सक्नुपर्ने उनको भनाई थियो।

मन्त्री गुरुङले सो भवनको निर्माण छिट्टै सम्पन्न हुनेगरी जनशक्ति बढाउन आग्रह गरेको भए पनि निर्माण कम्पनीले नटेरेको गुनासो गरिन्।

उनले भनिन्, ‘विगतभन्दा त यो ६ महिनाको अवधिमा काम अलिकति अगाडि बढेकै छ तर जुन स्पिडमा अगाडि बढ्नुपर्ने थियो, त्यो भएको छैन। हामीलाई नीतिगत रुपमै, त्यसपछि प्राविधिक रुपमै समस्याहरु छन् कि भनेर मैले सबै पक्षलाई मिटिङ नै बोलाएर उहाँहरुसँग संयुक्त मिटिङ राखेर कुरा गरेँ। आयोजना प्रमुखले एउटा कुरा गर्ने, निर्माण व्यवसायीले अर्को गर्ने, परामर्शदाताले अर्को गर्ने आ–आफ्नै खालको कुरा गर्ने परिस्थिति सृजना नहोस् भनेर सबैलाई एकै ठाउँमा राखेर छलफल गर्‍यौं। छलफल पछाडि जुनसुकै समस्या भए पनि मन्त्रालयको तर्फबाट गर्नुपर्ने काम ७ दिनभित्र समस्या समाधान गरिदिने भनेर त्रिपक्षीय निर्णय नै गर्‍यौं। काम छिटो गर्न मजदुरलाई थप्नुस् भनेर हामीले भनेको थियौं। अलिकति थप्नु भएको छ तर पर्याप्त छैन। छिटो गराउनुस् भनेर हामी लागेका छौं। हिउँदे अधिवेशन यहीँबाट गर्ने भनेर हामी धेरै पटक यहाँ आइरहेका छौं निरीक्षणमा। छिटोभन्दा छिटो काम अघि बढाउन सभामुख‚ सम्माननीय प्रधानमन्त्रीज्यु‚ समितिबाट सभापतिसहित माननीयज्युहरु आउनुभएको छ। सबैको चासो जहाँ प्रतिनिधिसभाकै भवनबाट बैठक संचालन गर्ने छ। अब अहिले हामी म्याद थपको सोचमा छैनौं। यसअघिको समझदारीअनुसार काम अघि बढ्नुपर्छ भन्नेमा सरकार छ। फेरि छलफल नगरी हचुवाको भरमा म्याद थप हुँदैन, गर्दैनौं।’

यता, निर्माणाधीन संसद भवनको निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनी तुँदी/सेक जेभीले भने ठेक्का अवधि पुनः ६ महिना थप गर्न सरकारसँग आग्रह गरेको छ।

६ महिनाभित्र सबै काम सक्न सरकारसँग म्याद थपको प्रस्ताव राखिएको सो निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर प्रमिन्द्रकृष्ण श्रेष्ठले बताए। उनले सो भवनको निर्माण छिटो सक्न आफूहरुले आवश्यकताअनुसार जनशक्ति बढाउँदै लगेको र राति पनि काम गर्ने योजना बनाएको बताए।

प्रोजेक्ट म्यानेजर श्रेष्ठले भने, ‘अर्को ६ महिना थप गर्नुपर्छ। ६ वटा बिल्डिङ हामी पूरा गर्छौं। पेमेन्टमा कुनै समस्या छैन। फिनिसिङमा म्यानपावर थप चाहिने हो। त्यो काम हामी गर्दैछौं। म्यानपावर पहिलाको भन्दा बढाइएको छ। अब हामी क्रमिक रुपमा काम बढाउँदै सक्छौं। अब नाइट सिफ्टमा पनि काम हुन्छ।’

सिंहदरबारको पुतली बगैंचामा निर्माणाधीन सो भवन ०७९ असोज १६ भित्र बनिसक्नुपर्ने थियो तर दुई पटक म्याद थप्दा पनि सकिएको छैन। तुँदी/सेक जेभीले सो भवनको ठेक्का ५ अर्ब ६८ करोड ३९ लाख रुपैयाँमा लिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.