|

काठमाडौं : लामो समयदेखि बन्द गरिएको ऐतिहासिक खुलामञ्च अब सर्वसाधारणका लागि खुला हुने भएको छ। काठमाडौं महानगरपालिकाले अहिले ढलान गरिएकाे पीच र कंक्रिट हटाउने काम गरिरहेको छ। 

काठमाडौं महानगरपालिकाले उक्त खुलामञ्चको व्यवस्थापन र संरक्षणको जिम्मा महानगरपालिका वडा २७ र २८ लाई दिएको छ। महानगरपालिका २८ का वडाध्यक्ष भाइराम खड्गीका अनुसार अहिले त्यहाँ भएका कंक्रिट निकाल्ने काम जारी छ। सबै ठाउँ सम्याइसकेपछि हरियाली बनाइने छ।

‘त्यहाँ दुबो रोपिने छ,वृक्षरोपण गरिने छ,सबै काम सकिएपछि खुलामञ्च खुला गर्छौ,’ उनले भने, ‘यति समयभित्र सकिन्छ भन्ने भन्दा पनि काम छिटो सक्ने पहल गरिरहेका छौँ, काम सकिएपछि खुलामञ्च खुल्ला हुन्छ।’ उनका अनुसार खुला भएपछि सर्वसाधारणले खेल मैदानको रूपमा प्रयोग गर्नेदेखि आफ्नो स्वतन्त्र अभिव्यक्तिसमेत दिन पाउने छन्।

काठमाडौं महानगरपालिकाले २०७८ सालदेखि सर्वसाधारणलाई प्रवेश गर्न रोक लगाएको खुलामञ्चमा गत वर्ष तीनतले कंक्रिट भूमिगत पार्किङ बनाउने योजना अघि सारेको थियो। महानगरपालिकाको दशौँ कार्यपालिका बैठकले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने निर्णय गरेको थियो।

५ हजारभन्दा बढी सवारीसाधन अट्ने गरी तीनतले भूमिगत पार्किङ बनाउने योजना महानगरमा सम्पदाप्रेमी र सरोकारवाहरूले विरोध जनाएपछि महानगरपालिका उक्त निर्णयबाट पछि हट्यो।

‘खुलामञ्च खुलामञ्चकै रूपमा प्रयोगमा आउनुपर्छ’

पहिलादेखि नै खुलामञ्च खुलै हुनुपर्ने माग उठ्दै आएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत पनि  खुलामञ्च खुलामञ्च कै रूपमा प्रयोगमा आउनुपर्ने बताउँछन्।

असोज १४ गते सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८० कार्यक्रममा उनले भने, ‘प्रदर्शन गर्न मन लागेका नेपाली जनताले त्यहाँ गएर अभिव्यक्ति राख्न पाउनुपर्छ, त्यो कसैले ताला लगाएर बन्द गर्न पाउँदैन।’

पछिल्लो समय माइतीघर मण्डलामा विरोध प्रदर्शन कार्य दैनिक रूपमा भइरहेको छ।​जसकारण माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्मै सडकमा ट्राफिक जामले अस्तव्यस्त भइरहेको छ। यही कारण पनि आन्दोलनका लागि खुलामञ्चमा ठाउँ उपलब्ध गराइनुपर्ने उनले बताए। 

‘अहिले माइतीघरदेखि नयाँ बानेश्वरसम्म दैनिक सडक अवरूद्ध छ, हजारौँ व्यक्तिले प्रदर्शन गरेका छन, हामीले उहाँहरूलाई नियमन गरेर साइड लगाउन सकेका छैनौँ, यो राजधानीमा प्रदर्शनकारीलाई प्रदर्शन गर्ने ठाउँ पनि छैन तर लामो समयदेखि आन्दोलन गर्ने थलो खुलामञ्च त्यत्तिकै थन्किरहेको छ, ’उनले भने।

उनले उक्त खुलामञ्च सरकारको नाममा रहेको बताए। ‘खुलामञ्च कसको मातहतमा छ भन्ने पनि थाहा छैन, अस्ति मालपोत कार्यालयमा कसको नाममा पूर्जा रहेछ भनेर चासो व्यक्त गरेँ, त्यो सरकारको नाममा रहेछ, अब यो सरकारले प्रयोग गर्ने हो की स्थानीय तहले हो की कसले प्रयोग गर्ने, त्यसको अत्तोपत्तो छैन, ’उनले भने। उनले व्यवस्थित रूपले उक्त खुलामञ्च सञचालनमा ल्याउनुपर्ने बताए।

अतिक्रमण रोक्न सुरु भएको अकुपाइ अभियान

२०७२ सालपश्चात खुलामञ्चमा विभिन्न संरचना बनाउने नाममा अतिक्रमण हुँदै गयो। खुलामञ्च खुला थिएन। यसरी  खुलामञ्च र टूँडिखेलको अतिक्रमण बढ्दै गएपछि पहिला कै अवस्थामा फर्काउन २०७६ साल २३ असोजबाट विशाल मानव साङ्लो निर्माण गरी तीन महिने ‘अकुपाइ टूँडिखेल अभियान’ सुरू भएकाे थियाे।

सम्पदा अभियन्ताले प्रत्येक शनिवार विभिन्न चेतनामूलक कार्यक्रम गर्दै उक्त अभियान चलाएका थिए। त्यसपछि महानगरपालिकाले त्यहाँ बनेका संरचनाहरू हटायो। त्यसपछि खुलामञ्च खुला भएको थियो।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विरूद्ध २०७९ भदौ २८ गते  खुलामञ्चमा आमसभा पनि गर्‍याे। पछि फेरि महानगरपालिकाले त्यहाँ भूमिगत पार्किङ बनाउने योजना बुनेपछि यसविरूद्ध चर्को विरोध भयाे। पार्किङ पनि त्यहाँ गर्न दिइएन।

अकुपाइ टूँडिखेल अभियन्ता विजय श्रेष्ठ खुलामञ्चकाे मौलिक स्वरूप ब्यूँताउन खोजिएको बताउँछन्। ‘अब वडाको जिम्मेवारीमा छ, यो जनताको हो, खुला हुनुपर्छ, यहाँ क्रिकेटलगायत खेल खेल्न पाउनुपर्छ, सबैले निःशुल्क भोगचलन गर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो, ’उनले भने।

(याे पनि)



सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.