|

सल्यान : सल्यानका भूमिहीन तथा सुकुम्बासीलाई लालपुर्जा वितरणको तयारी गरिएको छ।

राष्ट्रिय भूमि आयोग र जिल्लाका दशवटै स्थानीय तहबीच सम्झौता भई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलनलगायत काम अगाडि बढाइएको छ। केही पालिकाले काम अन्तिम चरणमा पुर्‍याएकाले लालपुर्जा वितरणको तयारी गरिएको हो।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति सल्यानका अध्यक्ष वीरबहादुर सेजवालले त्रिवेणी गाउँपालिकाका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीका लागि मंसिरभित्र लालपुर्जा वितरण गरिसक्ने बताए।

‘जग्गा नापजाँच भएर लालपुर्जा अन्तिम चरणमा छन्‚ मन्त्रालयले आवश्यक कर्मचारी पठाइदियो भने मंसिरभित्र भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्छौं‚’  उनले भने‚ ‘अव्यवस्थित बसोबासीका सन्दर्भमा अझै केही समय लाग्छ।’

कालिमाटी गाउँपालिकामा लगत संकलन गरेर कम्प्युटरमा इन्ट्री भइसकेको र अब नापजाँच गर्नमात्र बाँकी रहेको उनको भनाइ छ। जसमध्ये त्रिवेणी गाउँपालिकामा भूमिहीन दलित १७, भूमिहीन सुकुम्बासी १२ र अव्यवस्थित बसोबासी १ हजार ६७ छन्।

यस्तै कालिमाटी गाउँपालिकामा भूमिहीन दलित ५०, भूमिहीन सुकुम्बासी २८ र अव्यवस्थित बसोबासी २ हजार ६३९ छन्।

जिल्लाका केही पालिकाले लगत संकलनको काम थालेका र केही पालिकाले प्रक्रिया नै अघि नबढाएकाले जिल्लामा कतिले लालपुर्जा पाउँछन् भन्ने तथ्यांक नभएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति सल्यानले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.