|

काठमाडौँ : नेपालको स्वास्थ्य सुधारका लागि महिला स्वास्थ्य स्वयंसेविकाको महत्त्वपूर्ण भूमिका रहेको छ।

पछिल्ला दशकमा नेपालमा स्वास्थ्य सेवामा सुधार भएका स्वास्थ्य सूचकांक हेर्ने हो भने महिला स्वास्थ्य स्वयंसेविकामार्फत सेवा दिइएका कार्यक्रमकै सुधार उल्लेखनीय भएको देखिन्छ।​

विशेषगरी मातृ/शिशु मृत्युदर सुधारका लागि महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका विशेष मानिन्छ। ग्रामीण भेगको स्वास्थ्य सेवाका लागि महिला स्वयंसेविकाको भूमिका महत्त्वपूर्ण सिद्ध भएको छ।​

स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हीरादेवी निरौलाका अनुसार हाल देशभर गरेर ५१ हजार ४२३ स्वयंसेविका रहेका छन्।

महिला स्वास्थ्य स्वयंसेविका नेपालको स्वास्थ्य संरचनाको सबैभन्दा तल रहेको रहेको संगठन हो। नेपालको स्वास्थ्य प्रणालीमा जनताको स्वास्थ्य सुविधासँग पहिला भेटिने भनेकै स्वास्थ्य स्वयंसेविका हो।

जनस्वास्थ्यका कार्यक्रममा स्वयंसेविकाको भूमिका महत्त्वपूर्ण रहे पनि राज्यले आफूहरूले खेलेको भूमिकालाई राज्यले सम्मान नगरेको उनीहरूले बताउँदै आएका छन्।

सरकारले स्वास्थ्य स्वयंसेविकाले गरेको कामको मूल्यांकन गर्न नसकेको र सेवा सुविधामा पनि कन्जुस्याइँ गरेको काठमाडौँ महानगरमा कार्यरत स्वास्थ्य स्वयंसेविका गीता थिङको भनाइ छ। उनले भनिन्‚  ‘२० वर्षअघि तय गरेको भत्ता तथा यातायात खर्च अहिले पनि त्यही छ। मूल्यवृद्धि कति बढिसक्यो। कहिलेसम्म भोको पेटले महिला स्वयंसेविकाले काम गर्ने?’​

निर्देशक निरौलाका अनुसार देशभर रहेका स्वास्थ्य स्वयंसेविकाले हाल वार्षिक १२ हजार यातायात खर्च तथा वार्षिक रूपमा १० हजार पोशाक भत्ता पाउँछन्।

यसबाहेक उनीहरूले १० वर्ष सेवा पुगी बिदाइ हुँदा एकमुष्ट २० हजार रुपैयाँ पाउँछन्। ६० वर्ष उमेर पुगेमा स्वयंसेविकालाई सरकारले बिदा गर्ने गरेको छ।

यसैगरी सरकारले उनीहरूको एक लाख बराबरको स्वास्थ्य बीमामा तिर्नुपर्ने ३ हजार ५ सय रुपैयाँमा ५० प्रतिशत छुट दिएको छ।

स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. दीपेन्द्ररमण सिंहले नेपाली महिला तथा बालबालिकाको स्वास्थ्य सुधार्न महिला स्यास्थ्यस्वयंसेविकाले पुर्‍याएको योगदान निकै ठूलो भएको भन्दै उनीहरूको सेवा सुविधा बढाउन कन्जुस्याइँ गर्न नहुने बताएका छन्। त्यसका लागि सरकारले पहल समेत गरिरहेको बताउँछन्।

‘नेपालको स्वास्थ्य सुधारका लागि स्वयंसेविकाको भूमिका महत्त्वपूर्ण छ। त्यसैले हामीले सेवा सुविधामा वृद्धि गर्न कन्जुस्याइँ गर्न हुँदैन र हामीले त्यसका लागि पहल गरिरहेका छौँ।’

नेपालमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम विसं २०४५ सालदेखि सुरु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.