|

काठमाडौँ : ललितपुर सिटी एफसी आइतवार एफसी चितवनमाथि २–० को जितसँगै जारी नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा पुगेको छ।​

अपराजित टोली ललितपुरले आफ्नो पाँचौँ खेलमा दशरथ रंगशालामा एफसी चितवनलाई हराएपछि दोस्रो जित निकाल्दै जारी दोस्रो सिजनको शीर्ष स्थानमा उक्लिएको हो। ललितपुरको जितमा विवेक पौडेल र पापा केबेले गोल गरे। समान पाँच खेलमा ललितपुरले दुई जित र तीन बराबरीसहित ९ अंक बटुल्यो।

चितवन भने एक जित, समान दुई बराबरी र हारसँगै पाँच अंकसहित छैटौं स्थानमा झर्‍यो। काठमाडौं रेजर्सको पनि समान पाँच अंक भए पनि गोलअन्तरको पाँचौं स्थानमा छ।

त्यसअघि खेलको पहिलो अवसर ललितपुरले १३ औं मिनेटमा सिर्जना गर्‍यो। दिनेश हेन्जनले ड्रिब्लिङ गर्दै पेनाल्टी क्षेत्रबाट गरेको सट एफसी चितवनका विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे। दुई मिनेटपछि नै सनिष श्रेष्ठले उत्कृष्ट क्रस गर्दै ललितपुरका लागि अवसर सिर्जना गरे पनि पेनाल्टी क्षेत्रमा रहेका पापा केबेले भेटाउन सकेनन्।

केबेले १७ औं मिनेटमा पनि अवसर खेर फाले। निखिल कदमले चितवनका अन्तिम डिफेन्डर बिट गर्दै उपलब्ध गराएको पासमा उनी विशालसँग वान भर्सेस वानमा चुके। त्यसको दुई मिनेटपछि भने केबेले अवसर सदुपयोग गरे।

दिनेश हेन्जनको फ्लिक पासलाई उनले वान टचमार्फत गोलमा परिणत गराए। चितवनले २९औं मिनेटमा पहिलो अवसर बनायो। विमल घर्ती मगरले १२ यार्डबाट गरेको सट ललितपुरका गोलकिपर जेफ्री विली मार्सेले पन्च गर्दै बाहिर पठाए। चितवनले ३१औं मिनेटमा गरेको अर्को आक्रमणमा जेफ्री विली नै बाधक बने।

रफिक अमिनुले ललितपुरका चार खेलाडीलाई छकाउँदै पेनाल्टी क्षेत्रबाट गरेको सट जेफ्री विलीले बचाउ गरेका हुन्। ललितपुरले ४१औं मिनेटमा काउन्टर अट्याकमा २० यार्डबाट फ्रिकिक सिर्जना गरे पनि सदुपयोग गर्न सकेन।

पहिलो हाफको थप समयमा ललितपुरले कर्नर प्रहार आक्रमण बनाए पनि चितवनका गोलकिपर विशालले उत्कृष्ट बचाउ गर्दै संकट टारे। पहिलो हाफमा ललितपुरले १–० को अग्रता लियो। ४९औं मिनेटमा इमोन इकिजिलको करिब १० यार्डबाट हेडर चितवनका गोलकिपर विशालले बचाउ गरे।

सेसेहाङ आङदेम्बेको पासमा उनको हेडर सफल हुन सकेन। ५७औं मिनेटमा ललितपुरले अग्रता दोब्बर पारे। विवेक पौडेलले पेनाल्टी क्षेत्रबाहिरबाट उत्कृष्ट गोल गरे। चितवनका डिफेन्डर एबमुबारिक युसिफले हेडरमार्फत क्लियर गरेको बल नियन्त्रणमा लिँदै विवेकले गोल गरेका हुन्।

चितवनका लागि ६४ औं मिनेटमा एफ्रिई एक्वाहले ३५ यार्डबाट गरेको फ्री किक माथिल्लो बार हुँदै बाहिरियो। चितवनको अर्को आक्रमण पनि सफल भएन। तोरिक जेब्रिनले ड्रिब्लिङ गर्दै पेनाल्टी बक्सभित्रबाट गरेको सट ओमलाजा करिमको खुट्टामा डिफ्लेक्ट हुँदै माथिल्लो बारबाट बाहिरिन पुग्यो। ८९औं मिनेटमा रफिक अमिनुले गोल गर्दै चितवनलाई खेलमा फर्काए। विमल घर्ती मगरको पासमा उनले ललितपुरका तीन डिफेन्डरलाई छकाउँदै गोल गरे।

इन्जुरी समयको पहिलो मिनेटमै पेनाल्टीमार्फत ललितपुरले अग्रता बढाउने अवसर पायो। उत्सव राईले पेनाल्टी क्षेत्रमा आदित्य शाक्यलाई लडाएपछि ललितपुरले पेनाल्टी पाएको हो। केबेले सो अवसर सदुपयोग गर्दै ललितपुरलाई ३–१ ले अग्रता दिलाए। ललितपुर र चितवनको समान एक आक्रमण माथिल्लो बारमा लागेर फर्किंदा थप गोल हुन सकेन। योसँगै ललितपुर दोस्रो जितसहित शीर्ष स्थानमा पुग्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.