|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले आफ्नो सल्लाह प्रधानमन्त्रीले सुन्ने अवस्था नभएपछि पदबाट राजीनामा दिएको बताएका छन्। 

नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका ​गजुरेलले गत मंसिर २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सल्लाहकार पदबाट राजीनामा दिएका थिए। हालसम्म उनको राजीनामा भने स्वीकृत भइसकेको छैन। 

राजीनामा स्वीकृत भएपछि मात्रै राजीनामा दिनुको कारण खुलाउने बताइरहेका गजुरेलले आफूले नीतिगत विषय उठाएको बताए।

‘सल्लाहकार भइसकेपछि मैले दिएको सल्लाह प्रधानमन्त्रीले सुन्ने स्थिति सिर्जना गर्न नसकेकोले पदबाट राजीनामा दिएको हुँ’,थाहाखबरसँग कुरा गर्दै उनले भने।

गजुरेलले प्रधानमन्त्रीलाई सल्लाह दिन आफूले बाहिरबाटै पनि सक्ने अवस्था भए पनि आधिकारिक रुपमा सल्लाहकारको भूमिका दिइएको तर आफूले दिएको सल्लाह प्रधानमन्त्रीले सुन्ने अवस्था नबनेको बताए। उनले आफूले सल्लाहकारको वास्तविक भूमिका अहिले मात्रै बुझेको समेत टिप्पणी गरे। 

‘सल्लाहकार भनेको मैले बुझेजस्तो भूमिकामा नरहने रहेछन्। आवश्यक परेको बेलामा सल्लाह दिने र लिने काम भयो भने सफल सल्लाहकार हुन सकिन्छ। त्यो भएन भने सफल हुन सक्दैन’गजुरेलले भने। 

उनले राष्ट्रियसभाको नर्वाचनमा उम्मेदवार बन्नको लागि आफूले पदबाट राजीनामा नदिएको समेत स्पष्टिकरण दिए।

राष्ट्रियसभा सदस्य बन्ने चर्चा छ नि ? भन्ने  प्रश्नमा गजुरेलले भने, ‘राष्ट्रियसभामा उम्मेदवार बन्न त उम्मेदवारी दर्ताको अघिल्लो दिन राजीनामा दिए पनि भइहाल्थ्याे नि। विषय अर्कै हो।’ ​

गजुरेलले आफ्नो राजीनामा हालसम्म स्वीकृत नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले फोनमा आफूलाईराजिनामा नगर्न आग्रह गरेको बताए।

‘मेरो राजीनामा स्वीकृत नभएपछि हिजो प्रधानमन्त्रीलाई फोन गरेको थिएँ। उहाँले अहिले त्यस्तो नगर्नु भन्नुभयो। भेटेर कुरा गरौँला पनि भन्नु भएको छ’,गजुरेलले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.