|
फाइल तस्वीर

काठमाडौँ : देशभरिको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट जोगिन जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सबैसँग अनुरोध गरेको छ।

महाशाखाका मौसमविद् सरोज पुडासैनीले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि चिसो बढिरहेकाले सर्तकता अपनाउन सबैमा अनुरोध गरे। अहिले देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ।

‘पश्चिमी वायुको आंशिक प्रभाव छ। केही दिनलाई ठूलो मौसमी प्रणालीको प्रभाव छैन,’ मौसमविद् पुडासैनीले भने। आज (सोमवार) कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ। 

रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाको विवरणमा विहान तराईका विराटनगर, जनकपुर र भैरहवामा बाक्लो हुस्सु/कुइरो लागेको थियो। आज काठमाडौँको न्यूनतम तापक्रम ५ दशमलव ४ र अधिकतम तापक्रम १८ डिग्रिसेल्सियस रहेको छ। तापक्रम घटेकाले काठमाडौँमा चिसो अत्यधिक बढेको छ।

दिउँसो घाम लागे पनि विहान र बेलुका बढी जाडो महसुस गरिएको छ। सबैभन्दा कम जुम्लामा माइनस २ दशमलव ८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको महाशाखाले उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.