|

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी गरेका छन्।

मंगलवार मन्त्रालयमा सरकारको वर्ष दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफू मन्त्री भइसकेपछि करिब १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आइसकेको दाबी गरे। 

उनले आफू मन्त्री भइसकेपछि एक महिनामा ई–टिकेटिङ लागू गरेको र अहिले दुर्गम क्षेत्रमा उडाउन तीनवटा जहाज खरिद प्रक्रिया अघि बढिरहेको बताए। 

उनले १२ वर्षदेखि बिग्रिएर बसेको एउटा ट्विनअटर जहाजलाई पुनः मर्मत गरी सञ्चालन गर्न लागिएको र योसँगै ६ वटा जहाज हुने बताए। उनले हवाई उडान हुन नसकेका २२ वटा खाली विमानस्थल सहज ढंगले सञ्चालन गर्ने काममा पनि आफू सफल भएको बताए।

उनले भने, ‘हाम्रो देशको पर्यटन पुरानो लयमा फर्किएको छ। करिब १० लाखको हाराहारीमा विदेशी पर्यटक आइसकेका छन्। वायुसेवा निगमको कुरा गर्ने हो भने आएको एक महिनामा ई–टिकेटिङ लागू गरेका थियौँ। अहिले भर्खरै दुर्गम क्षेत्रमा उड्ने जहाज खरिद प्रक्रियामा अघि बढिरहेका छौँ। १२ वर्षदेखि बिग्रिएर बसेको एउटा ट्विनअटर जहाज पुनःमर्मत गर्दै छौँ र चाँडै सञ्चालनमा ल्याउनेछौँ। त्यसपछि ६ वटा जहाज हुनेछन्। उडान हुन नसकेका २२ वटा एयरपोर्ट सञ्चालन हुँदै छन्।’

मन्त्री किरातीले पशुपति क्षेत्रमा अहिले निःशुल्क शव दहन गर्ने गरी विद्युतीय मेसिन जडान अन्तिम चरणमा पुर्‍याएको बताए। लुम्बिनी क्षेत्रको तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न अन्तिम बिन्दुमा पुग्न आफू सफल भएको दाबी पनि गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.