त्रिवि सुधारमा स्ववियुको निरन्तर दबाब

|

काठमाडौं : देशकै जेठो र पुरानो त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा अनेकौँ बेथिति ज्युँका त्युँ छँदै छन्। सुधारका निम्ति विभिन्न आन्दोलन भए‚ कार्यालयमा ताला लाग्यो। तर न राज्यले त्रिवि व्यवस्थित गर्न सक्यो न राजनीतिक हस्तक्षेप नै रोक्यो।

५७ दिनदेखि त्रिवि उपकुलपतिविहीन छ। रेक्टरविहीन विश्वविद्यालयमा गत सोमबारदेखि रजिस्ट्रारको कुर्सी पनि रिक्त भएको छ। त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको चारवर्षे कार्यकाल कात्तिक १७ गते समाप्त भएसँगै उक्त पद रिक्त भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शिक्षामन्त्री अशोककुमार राईले रेक्टर शिवलाल भुसाललाई उपकुलपतिको जिम्मेवारी दिएका छन्। अहिलेसम्म निमित्तकै भरमा त्रिवि चलिरहँदा दलीय भागबण्डामा उपकुलपति नियुक्ति गर्ने प्रक्रिया अघि बढेको चर्चापछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) त्रिवि केन्द्रीय क्याम्पसले पुस ११ गते बल्खुस्थित त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा रचनात्मक आन्दोलन थालेको छ।

विभिन्न मागसहित गेटमै कालो ब्यानर टाँगिएको छ। उनीहरूले ‘परीक्षा उत्तीर्ण गर्नभन्दा प्रमाणपत्र लिन किन यति धेरै सास्ती?, विश्वविद्यालय पदाधिकारी जागिर हो कि जिम्मेवारी?’ लगायत प्लेकार्ड देखाएर विरोध प्रदर्शन गरेका छन्। झापाको काँकरभिट्टा बहुमुखी क्याम्पसले पनि यसमा ऐक्यबद्धता जनायो।

उक्त क्याम्पसका विद्यार्थीहरूले ‘उपकुलपतिको परिचय दलको झण्डा नहोस्, ज्ञानको पुञ्ज होस्, विश्वविद्यालयको सुधार उपकुलपतिको खुला प्रतिस्पर्धाबाट, दलीय भागबण्डाकाे अन्त्य गर’ लगायत प्लेकार्डसहित विरोध प्रदर्शन गरेका थिए।

‘बेथितिको अन्त्य नभएसम्म आन्दोलन जारी रहन्छ’  

पछिल्लो समय स्ववियु त्रिवि केन्द्रीय क्याम्पस त्रिविमा भएको बेथितिविरूद्ध र सुधार गर्न लागि परेको छ। यसअघि पनि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय २४ सै घण्टा खोल्नुपर्ने माग राख्दै पुस्तकालय गेटमै धर्ना दिएको थियो। उक्त आन्दोलनपछि अहिले २४ सै घण्टा पुस्तकालय खुलेको छ।

स्ववियु त्रिवि केन्द्रीय क्याम्पसको कोषाध्यक्ष पद्मा भुषालले त्रिविमा भएको बेथितिको अन्त्य नहुञ्जेल आन्दोलन कायम राख्ने बताइन्। उनका अनुसार अहिले त्रिविमा ४ लाख ८२ हजार विद्यार्थी पढ्छन्।

‘यो स्ववियुको मात्रै मुद्दा होइन, यो ४ लाख विद्यार्थीहरूको मुद्दा हो। उहाँहरूले विभिन्न सास्ती खेप्नुपरेको छ, यसको अन्त्य हुनुपर्छ, त्यसैले दबाब दिन आन्दोलन गरेका हौँ, निर्णायक विन्दुमा नपुगेसम्म आन्दोलन गर्छौं,’ उनले भनिन्।

उनका अनुसार विभिन्न मागहरूमध्ये एउटा शैक्षिक क्यालेन्डर समयमा लागू गर्नुपर्ने माग छ। ‘नेपालमा ब्याच्लर पढ्न ५ वर्ष लाग्छ, त्यही मान्छे बाहिर गएर आउँदा माष्टर्स सकेर आउँछ। त्यही भएर पनि नेपालमा उनीहरू बस्दैनन्, त्यसैले शैक्षिक क्यालेन्डर लागू हुनुपर्छ,’ उनले भनिन्।

त्रिवि अझै पनि ढुंगे युगमै रहेको भन्दै डिजिटलमा जान आवश्यक रहेको उनको भनाइ छ। ‘अझै पनि पनिका ढुंगेयुगमा छ, त्यसैले सबै डिजिटलाइजेसन हुनुपर्छ भनेका छौँ,’ उनले भनिन्, ‘७ वटै प्रदेशमा त्रिविको क्षेत्रीय कार्यालय छ तर विद्यार्थीले यहीँ आउनुपर्ने बाध्यता छ, त्यसैले सेवाको विकेन्द्रीकरण हुनुपर्छ भन्ने माग राखेका हौँ।’

उनका अनुसार त्रिविमा आवश्यक दक्ष जनशक्ति नभएको भन्दै समयमा काम हुँदैन। ‘त्रिवि आवश्यक दक्ष कर्मचारी छैन भन्छ, यता रोजगारी छैन। त्यसैले दक्ष जनशक्ति विदेश पलायन भए, उनीहरूलाई यहाँ अवसर दिनुपर्छ भन्ने पनि हाम्रो माग छ। टियूको डकुमेन्ट, सेवासुविधा पनि अनलाइनमै राख्नुपर्ने, ब्रेक टाइममा एक घण्टा समय छ, यसको पनि व्यवस्थापन हुनुपर्ने माग छ,’ उनले भनिन्।

त्रिवि दलीय भागबण्डामा चल्ने गरेको छ। ‘त्रिविको राजनीतिक भागबण्डा, दलीय हस्तक्षेप, अहिले कुलपतिबाटै उपकुलपति, रेक्टर, रजिष्ट्रार सबै कार्यवाहकबाट चलाएको अवस्था छ, त्यसैले क्राइटेरिया तोकेर जतिसक्दो प्राज्ञिक व्यक्तिलाई नियुक्ति दिनुपर्छ,’ उनले भनिन्।

स्ववियुले रिक्त भएका पदहरुमा राजनीतिक भागबण्डाका आधारमा नियुक्त नगर्न कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पनि गराएका छन्।

उनका अनुसार उक्त आन्दोलनमा नेपाल ल क्याम्पस, जनप्रशासन क्याम्पस, कान्तिपुर कलेज, कैलाशकुट बहुमुखी क्याम्पस पनि आएर ऐक्यबद्धता जनाएका छन्। अन्य विद्यार्थी संगठनहरूको पनि ऐक्यबद्धता जारी छ।

स्ववियुले हिजो त्रिविको गाडी चढ्ने तर काम छिटो नगर्ने भन्दै पदाधिकारीको गाडीमा रोक लगाउन गेटमा ताला लगाइएको बताएको छ। स्ववियु त्रिवि केन्द्रीय क्याम्पसका सदस्य गोमा राईले माग पूरा नहुञ्जेल आन्दोलन जारी राख्ने तर आन्दोलनको क्रममा कुनै पनि सेवाहरू अवरूद्ध नहुने जानकारी दिएकी छन्। 

मेरिटका आधारमा पदाधिकारी नियुक्ति गर्ने प्रतिबद्धता

प्रधानमन्त्री प्रचण्डले त्रिविमा राजनीतिक भागबण्डाको अन्त्य भएको र ‘मेरिटोक्रेसी’ लागू गर्ने बताएका छन्। त्यसो त उनले बारम्बार राजनीतिक भागबण्डा नभइ मेरिटको आधारमा उपकुलपतिलगायत पदाधिकारी नियुक्ति गर्ने प्रतिबद्धता जनाएका छन्। 

उनले त्रिविको ४९ औँ दीक्षान्त समारोहमा भनेका थिए, ‘आज म यस अवसरमा त्रिविबाट नै राजनीतिक भागबण्डाको अन्त्य गर्ने, मेरिटका आधार उपकुलपति लगायतका पदाधिकारी नियुक्ति गर्ने प्रतिबद्धता तपाईंहरूको अगाडि व्यक्त गर्दछु। यसका निम्ति खुला प्राज्ञिक प्रतिस्पर्धामा आउन देशभित्र र विश्वभर रहेका विज्ञ नेपालीहरूलाई विशेष आह्वान पनि गर्दछु, राजनीतिक दलहरूलाई त्रिभुवन विश्वविद्यालयमा भागबण्डा होइन मेरिटको आधारमा नियुक्ति गर्नका लागि अग्रसर हुन अपिल गर्दछु।’

तर उनले भनेजस्तै मेरिटको आधारमा नियुक्ति हुन्छ हुँदैन त्यो भने हेर्न बाँकी छ।

(याे पनि)



तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.