'सरकारले माइतीघरको निषेधाज्ञा तत्काल हटाओस्'

|

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाकै लापरबाहीका कारण भएको बताएका छन्।

आन्दोलनबारे थाहा हुँदाहुँदै पनि आन्दोलन भइरहेको बाटोबाट सवारी गर्नु लापरबाही भएको बताएका हुन्। सोमवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समितिले मन्त्रीको लापरबाहीलाई हेरेर आवश्यक निर्णय लिनुपर्ने बताए।

उनले लापरबाही गर्ने मन्त्रीलाई कारबाही हुनुपर्ने बताए। उहाँले श्रम मन्त्रालय र गृह मन्त्रालयको पनि कमजोरी रहेको बताए। उनले साउनदेखिको इपिएसको विषय सरकारले सम्बोधन नगर्नु सरकारको लापरबाही भएको बताए।

उनले भने, ‘पर्सनल सेक्युरिटिज अफिसरहरुले सूचना लिइसक्दा पनि राज्य नेतृत्वले होइन होइन भनेर ठिक छ भन्यो भने त्यो बेलामा उसले रोक्दैन। त्यहाँ घटना हुँदैछ भन्ने थाहा पाउँदा पाउँदै यो जबरजस्ती हो। चरम लापरवाही हो, हेपेको हो। सामान्य व्यक्तिले गर्ने लापरवाहीले त कतिथोक व्यहोर्नुपर्छ। त्यत्रो ओहोदामा रहेको व्यक्तिले गरेको लापरबाहीले गर्दा यत्रो ठूलो दुर्घटना भयो। यो समितिले मन्त्रीको लपरबाही हेर्छ कि हेर्दैन?'

महामन्त्री थापाले माईतीघरको निषेधित क्षेत्र तत्काल खारेज गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरे। उनले माइतीघरलाई निषेधित क्षेत्र तोक्नुको कुनै औचित्य नरहेको बताए।

उनले भने, ‘माईतीघरको निषेधित क्षेत्र हटाइदिनुस्। यसको पनि कारण छ। हेर्दा सामान्य लाग्छ। आज धोती जुलुस भयो, पोल्टिकल स्टेटमेण्ट हो। उहाँहरुले सरकारले सुन्छ भनेर माईतीघरमा देखाउन खोज्नुभएको हो। हिजो हामीले त्यही गरेको हो। तर अहिले माईतीघरलाई निषेधित क्षेत्र बनाइसकेपछि बल प्रयोग गर्नुपरेको छ। बल प्रयोग गर्ने घटनाले बढाउँदै लैजाने त हो।'

महामन्त्री थापाले बालकुमारी घटनाका परिवारलाई राज्यले उचित क्षतिपूर्तिसहित उनीहरुको जीवन हेर्नेगरी अघि बढ्न सुझाव दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.