|

काठमाडौँ : संसद्को तेस्रो दलले देश हाँकिरहँदा प्रमुख प्रतिपक्षी बेञ्चमा थन्किएको दोस्रो ठूलो शक्ति नेकपा एमाले वर्तमान सत्ता गठबन्धन भत्काउने प्रयत्नमा छ। यसका लागि उसले विभिन्न प्रयत्न गर्नु र मौका हेर्नु अस्वाभाविक होइन। 

एमालेले आसन्न राष्ट्रियसभा निर्वाचनलाई सत्ता गठबन्धन भत्काउने मौकाको रूपमा प्रयोग गर्ने दाउ हेरिरहेको छ। आगामी फागुन २० गतेभित्र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालसहित एमालेका ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र एक स्वतन्त्रसहित २० सदस्यको पदावधि समाप्त हुँदै छ। रिक्त हुने स्थानमा माघ ११ गतेका लागि निर्वाचन हुँदै छ।

सीमित सिटका लागि हुन लागेको निर्वाचनमा दलहरूले धेरै सिट दाबी गर्दा सत्ता गठबन्धनभित्र भागबन्डाको विषय पेचिलो बनिरहेको छ। मतभार बलियो भएका कारण गठबन्धनबाट दर्जनौँ केन्द्रीय तहकै प्रभावशाली नेताहरू आकांक्षी छन्।

२०७९ मंसिरमा सम्पन्न संसदीय चुनावमा हारेका, समानुपातिक सूचीमा परेका र टिकटबाटै वञ्चित गराइएका प्रभावशाली नेताहरू राष्ट्रियसभा प्रवेशका लागि तँछाडमछाड गरिरहेका छन्। यसबाहेक पार्टीमा लामो समय योगदान गरेका तर अहिलेसम्म अवसर नपाएका सयौं नयाँ अनुहार पनि सत्ता गठबन्धनबाट आकांक्षी छन्। 

सत्ता गठबन्धनमा सिट बाँडफाँड र उम्मेदवार चयनको विषय जटिल बनिरहेका वेला एमाले भने यसलाई नयाँ राजनीतिक कोर्स निर्माणको मौका बनाउने दाउ हेरिरहेको छ। 

एमाले सचेतक महेश बर्तौला वर्तमान गठबन्धनले देशलाई भड्खालोतिर धकेलिरहेकाले यो भत्किनुपर्ने बताउँछन्। त्यसका लागि राष्ट्रियसभा निर्वाचनबाटै नयाँ राजनीतिक कोर्स निर्माण भए हुन्थ्यो भन्ने एमालेको चाहना रहेको उनले स्पष्ट पारे। ‘यो गठबन्धन र वर्तमान सरकार जति लम्बिन्छ, देश त्यति अँध्यारोतिर जाने निश्चित छ’, सचेतक बर्तौलाले थाहाखबरसँग भने, ‘त्यसकारण हामी के चाहन्छौँ भने यो गठबन्धन भत्किनुपर्छ। त्यसका लागि राष्ट्रियसभा निर्वाचनबाटै नयाँ राजनीतिक कोर्स निर्माण भए हुन्थ्यो भन्ने हाम्रो चाहना छ। त्यो देशको हितका लागि हुन्छ।’  

नेता बर्तौलाले सत्ता गठबन्धन अन्तरविरोधले थिलथिलो अवस्थामा पुगेकाले यो भत्किन असम्भव नरहेको पनि बताए। ‘अन्तरविरोधले गठबन्धन मक्किएको, थिलथिलो भएको र गलेको अवस्था छ। उहाँहरूले माथि भागबन्डा गरे पनि तल विद्रोह हुनेवाला छ। यसको अर्थ के भने यो गठबन्धनबाट गठबन्धनमै रहेका दलका कार्यकर्ता नेताहरूसँग वाक्क छन्’, उनले भने, ‘एमाले र कांग्रेस मिल भन्ने सन्देश पनि गत आमनिर्वाचनले दिएको हो।’   

एमाले एक नेताका अनुसार देशको प्रमुख शक्ति कांग्रेससँग सत्ता समीकरण बनाएर जाने एमालेको चाहना हो तर वाम सहकार्यलाई पनि एमालेले कहिल्यै अस्वीकार नगर्ने उनको स्पष्टोक्ति छ। ‘पुस १० मा बालकोट आएर वर्तमान प्रधानमन्त्रीले विगत बिर्सौं भनेर सहकार्यका लागि हात मिलाउनुभयो। हामी पनि जनचाहनाअनुसार कम्युनिष्ट सरकार बनाएर देशलाई समृद्धिको बाटोमा अगाडि बढाऔं भन्नेमा सहमत भयौँ। उहाँलाई प्रधानमन्त्री बनायौँ। प्रधानमन्त्रीको शपथ र संसद्‌बाट विश्वासको मत लिएपछि कांग्रेसँग प्रेम गर्न थाल्नुभयो। त्यो ठूलो राजनीतिक बेइमानी र धोकाधडी थियो’, ती नेता भन्छन्, ‘तथापि पनि एमाले वामपन्थी सहयात्रा र गठबन्धन कहिल्यै अस्वीकार गर्दैन।’

ती नेताका अनुसार जोसँग जसरी लाग्दा वर्तमान गठबन्धन भत्किन्छ, उसैगरी एमाले अगाडि जानेछ। 

गत आमनिर्वाचनबाट ३२ सिटसहित प्रतिनिधिसभाको तेस्रो दल बनेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हप्ता दिनअघिमात्रै प्रधानमन्त्रीमा आफ्नो तेस्रो कार्यकालको पहिलो वार्षिकोत्सव मनाए तर ७८ सिटसहित संसद्को दोस्रो ठूलो शक्ति बनेको एमालेले भने आफैँले बनाएको प्रधानमन्त्रीको चर्को आलोचना गरेर मात्र चित्त बुझाउनुपर्दा बेचैन बनेको छ।  

२०७९ पुस १० मा एमालेसहित रास्वपा, राप्रपालगायतका दलहरूको समर्थनमा प्रधानमन्त्री नियुक्त प्रचण्डलाई अहिले ८९ सिटे कांग्रेस, १२ सिटे जसपा, १० सिटे एकीकृत समाजवादी, ६ सिटे जनमत र चारसिटे लोसपाको साथ छ। केही भ्रष्टाचार प्रकरणको फाइल खोलेर प्रारम्भमा चर्चा कमाएको सरकार पछिल्लो समय आलोचनाको शिकार बन्दै आएका वेला विपक्षी एमाले पनि भत्काउने प्रयत्नमा लागेको हो। 

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पनि गणितीय रूपमा आफूहरू कमजोर भएको अवस्थामा नतिजा कसरी आफ्नो पक्षमा पार्ने भन्नेमा लागिरहेको बताए। ‘निर्वाचनमा जाने भनिसकेपछि चुनाव जित्ने सुनिश्चितता नै प्रमुख हो। त्यसका लागि हाम्रो प्रयास जारी छ’, उनले थाहाखबरसँग भने, ‘गणितीय हिसाबले हामी कम छौँ। यस्तोमा कसरी अनुकूल बनाउन सकिन्छ भन्ने प्रयास गरिरहेका छौँ।’

पछिल्लो समय साझेदारहरूले नै सरकारको आलोचना गर्दै आएका छन्। खासगरी सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसको संस्थापन इतर समूहले प्रधानमन्त्री प्रचण्डको चर्को आलोचना गर्दै आएको छ। सरकारविरुद्ध यो समूहको नेतृत्वकर्ता शेखर कोइरालाले प्रमुख प्रतिपक्षी एमालेकै जस्तो तिखो शब्द प्रहार गर्दै आएका छन्। पछिल्लो समय प्रधानमन्त्रीले मन्त्री फेर्ने चाहना व्यक्त गरेपछि पनि उनले प्रधानमन्त्री नै फेर्नुपर्ने तर्क गरे। कांग्रेस महामन्त्रीसमेत रहेका इतर पक्षकै अर्का नेता गगन थापाले पनि प्रधानमन्त्री र मन्त्रीहरूको चर्को आलोचना गर्दै आएका छन्। 

यही माैका छाेपेर एमालेले गठबन्धन परिवर्तनकाे आफ्नाे चाहना पूरा गर्न लागिरेकाे हाे। यद्यपि कांग्रेसकाे राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर आयाेजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले चलखेल गर्न नचाहेको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.