कर्मचारी भन्छन्- ढिला आउने ट्रेन नै बसिसक्यो

|

काठमाडौं :  गत मंगलबार (गते १७) मा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजेलाई तोकियो। भूकम्प प्रभावित क्षेत्रका विद्यालयहरूको अवस्था र पुर्नर्निर्माण सम्बन्धमा,गेटा,डडेल्धुरा मेडिकल कलेजलगायत विविध छलफल गर्ने बैठकको कार्यसूची थियो।

तर, समयमा बैठक सुरू हुन सकेन। कारण थियो सांसदहरूको उपस्थितिमा ढिलाइ। बरू शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई समयमा आइसके पनि अन्य सांसदहरू आउन ढिला गरे। जसकारण बैठक झण्डै ४० मिनेटपछि सुरू भयो।

त्यसपछि उक्त छलफलको अन्तिमतिर समितिका सभापति भानुभक्त जोशीले समितिका सदस्यहरूलाई अबदेखि समयमै आउन आग्रहसमेत गरे। 

उनले भनेका थिए,‘माननीयज्यूहरू आफैँ पनि अनुशासित हुने, हामी पनि अरूलाई नमुनाको रूपमा देखाउनुपर्छ त्यसैले भरसक बैठकभन्दा ५ मिनेट अगाडि नै बैठकमा उपस्थित भइदिन तपाईँहरूलाई समितिको तर्फबाट अनुरोध गर्छु।’

तर, उनको आग्रहलाई पनि फेरि बेवास्ता भएको छ। गत शुक्रबार पनि उक्त समितिमा पेन्सनपीडित शिक्षक संगठन, नेपाल राहत शिक्षक संगठनलगायतसँग विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल थियो।

त्यसबेला पनि समयमा सांसदहरू आएनन्। यसअघि नै सूचनामा भनिएको थियो,‘संघीय संसद, प्रतिनिधिसभा अन्तर्गत गठित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरूको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु। समय मध्यान्ह १२:३० बजे। स्थान : शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको हल, भवन नं २, (कोठा नं (१०२)।’ 

तर, १२:३५ बजे सम्ममा ४ जना मात्रै सांसद उपस्थित थिए। कोरम नपुगेका कारण त्यसबेला पनि समयमा बैठक सुरू भएन। सञ्चारकर्मीहरू भने उपस्थित भएर कति खेर बैठक सुरू होला र बैठक कक्षमा छिर्न पाइन्छ भन्दै बाहिर उभिएर कुरिरहे।

१२:४७ समयमा पूर्व शिक्षामन्त्री एवं समितिका सदस्य देवेन्द्र पौडेल आइपुगे। त्यसबेला समितिका सभापतिले पनि ढिला गरे। १२:५०  बजे मात्रै समितिका सभापति जोशी आइपुगे र बैठक आधा घण्टा अर्थात् १ बजेर १ मिनेट जाँदा मात्रै सुरू भएको थियो।  शिक्षामन्त्री राई भने उक्त बैठकमा उपस्थिति भएनन्।

सहमर्यादा पालकहरूका अनुसार त्यसबेला मात्रै होइन, कहिल्यै पनि समयमा सांसदहरू बैठकमा आइपुग्दैनन्। त्यसैले कहिले ३० मिनेट त कहिले १ घण्टापछि मात्रै बैठक सुरू हुन्छ। 

समयमै पुगेको सांसदहरूको दाबी 

समयमै सांसदहरू बैठकमा नपुगेको प्रत्यक्ष देखिइरहँदा पनि सांसदहरू भने आफूहरू समयमा पुगेको जिकिर गर्छन्। नेकपा एमालेका सांसद एवं समितिका सदस्य प्रभु हजराले आफू समयमै पुग्ने गरेको बताए।

 ‘म समयमा पुग्छु,एकदिन ढिला भएको छैन,अस्ति चाँहि कार्यक्रमले सभापतिसँगै आएको थिएँ, अरूका कुरा छोडदिनुस्,’उनले भने।

ढिला आउने ट्रेन नै भइसक्यो : कर्मचारी

कानुन बनाउने सांसदहरू नै कानुन मान्दैनन्। जहिले ढिला बैठकमा उपस्थिति हुने गरेका छन्। कोरम पुगेन भने बैठक पनि रद्द हुन्छ। उक्त समितिमा २५ जना सदस्यहरू छन्। जसमा बैठकको कोरम पुग्न कम्तीमा पनि १३ जना सदस्यहरू सहभागी भएको हुनुपर्छ। तर,यसरी समयमा कहिल्यै कोरम नपुग्दा बैठक सुरू हुँदैन।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी शाखा अधिकृत यमुना सुवेदीले सांसदहरू ढिला आउने अब ट्रेन नै बनिसकेको बताउँछिन्। उनले भनिन,‘खै के भन्ने,जहिल्यै सदस्यहरू ढिला आएका कारण बैठक ढिला सुरू हुन्छ,यो त अब ट्रेन नै भइसक्यो।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.