|

रौतहट :  जिल्लाको चन्द्रपुर नगरपालिका ६ मा रहेको महिला फुटबल एकेडेमीको भवन अलपत्र परेको छ।

शेरबहादुर दर्लामी स्मृति खेल मैदानमा रहेको महिला फुटबल एकेडेमीको काम सम्पन भएको भए पनि सर्वोच्च अदालतले सञ्चालनमा रोक लगाएपछि भवन अलपत्र भएको हो।

वन क्षेत्रमा अनधिकृत रुपमा महिला फुटबल एकेडेमी निर्माण सुरु गरेको भन्दै अधिवक्ता सुजित केसीले दायर गरेको मुद्दामा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले एकेडेमीका विषयमा भए/गरेका निर्णय यथास्थितिमा राख्न २०७६ माघमा अन्तरिम आदेश जारी गरेपछि भवन अलपत्र परेको हो।

अदालतले समयमा फैसला नगरेका कारण भवन अलपत्र पर्नुका साथै खेलाडीको प्रशिक्षणमा असर परेको मधेस प्रदेश फुटबल संघका अध्यक्ष नेपाल कार्कीले बताए।

अखिल नेपाल फुटबल संघले गर्मी देशमा हुने महिला फुटबल प्रतियोगितामा खेल्न जाने खेलाडी तथा मधेश प्रदेशका महिला फुटबल खेलाडीको प्रशिक्षणका लागि रौतहटको चन्द्रनिगाहपुरमा महिला फुटबल एकेडेमीको निर्माण प्रक्रिया अघि बढाएको थियो।

रौतहट चन्द्रपुर नगरपालिका ६ को हातेमालो सामुदायिक वनभित्रको जग्गामा उपभोक्ता समूहका अध्यक्ष रामलाल ठोकर र रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवानबहादुर दर्लामी मगरबीचको सम्झौताका आधारमा एन्फाले फुटबल मैदान निर्माण गर्न थालेपछि मुद्दा सर्वोच्च पुगेको थियो।

वन क्षेत्रको जग्गा मन्त्रिपरिषदको निर्णयको आधारमा राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाका लागि भोगचलनको अनुमति दिन सकिने तर अवैधानिकरुपमा खेलकुद मैदान बनाउन खोजिएको भन्दै मुद्दा परेको।

महिला फुटबलको कारखानाको रुपमा पहिचान बनाउँदै आएको रौतहटको चन्द्रनिगाहपुरमा महिला फुटबल एकेडेमी बनेको देख्न नचाहनेहरुका कारण भवन हाल सम्म अलपत्र अवस्थामा रहेको रौतहट फुटबल संघका सदस्य बाबुराम दाहालको भनाइ रहेको छ।

देशभरबाट छनोट गरी १२ वर्षमुनिका ४४ जना खेलाडी एकेडेमीमा राखिने लक्ष रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.