|

काठमाडौँ : चालु आर्थिक वर्षको पहिलो ५ महिनामा अधिकांश आर्थिक सूचकहरु सकारात्मक देखिएका छन्।

नेपाल राष्ट्र बैंकले आज (बिहीवार) सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मंसिर मसान्तसम्ममा मूल्यवृद्धि घटेको छ भने विप्रेषण र विदेशी मुद्रा सञ्चिति बढेको छ। शोधनान्तर स्थिति बचतमा देखिएको छ।

राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ४ दशमलव ९५ प्रतिशत छ। 

यस अवधिमा आयात ३ दशमलव ४, निर्यात ६ दशमलव १ र कूल वस्तु व्यापार घाटा ३ दशमलव १ प्रतिशतले घटेको छ। विप्रेषण आप्रवाह २७ दशमलव ६ प्रतिशतले वृद्धि भई ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ पुगेको छ।

यस अवधिमा शोधनान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोड रुपैयाँले बचतमा छ। कूल विदेशी विनिमय सञ्चिति १७ खर्ब ६७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ।

चालु आवको ५ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४ दशमलव १ महिनाको वस्तु आयात र ११ दशमलव ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

५ महिनामा सरकारको खर्च ४ खर्ब ५३ अर्ब रुपैयाँ र राजस्व परिचालन ३ अर्ब ६३ अर्ब ४३ करोड रुपैयाँ छ। यस अवधिमा विस्तृत मुद्राप्रदाय ४ प्रतिशतले बढेको छ। 

वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदायक १४ दशमलव ४ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४ दशमलव ६ प्रतिशत अर्थात् २ खर्ब ६३ अर्ब ७२ करोड रुपैयाँले बढेको छ। 

यही अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा २ दशमलव ३ प्रतिशत अर्थात् १ खर्ब १० अर्ब ६ करोड रुपैयाँले बढेको छ। वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३ दशमलव ५ प्रतिशत छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.