|

जनकपुरधाम : विगत केही दिनदेखि शुरु भएको शीतलहरका कारणले स-साना विद्यार्थी प्रभावित हुन थालेको भन्दै जनकपुरधाम उपमहानगरले सम्पूर्ण विद्यालयहरू बन्द गर्ने भएको छ।​

जनकपुरधाम उपमहानगरले बिहीबार सार्वजनिक गरेको सूचनामा पुस २९ गतेदेखि माघ ९ गतेसम्म नगर क्षेत्रका सम्पूर्ण विद्यालयमा जाडो बिदा दिने निर्णय गरिएको छ।

अहिले दिएको जाडो बिदा वर्षे बिदाबाट कट्टा हुने गरी दिइएको प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीद्वारा जारी सूचनामा उल्लेख छ।

विगत एक सातादेखि बिहानदेखि चिसो हावासँगै शीतलहर चलेका कारणले जनजीवन नराम्ररी प्रभावित बनेको छ।

खास गरी शीतलहरका कारणले बालबालिका, वृद्ध वृद्धा, अशक्त, अपाङ्ग, गरिब तथा खुला ठाउँमा काम गर्ने मजदुर बढी प्रभावित बनेका छन्। बढेको चिसोका कारणले दम तथा रुघाखोकीको मात्रामा वृद्धि हुनुका साथै गठिया तथा दमका रोगीहरूमा थप समस्या उत्पन्न भएको छ।

यसैगरी शीतलहर तथा बाक्लो कुहिरोका कारणले विमान सेवा पनि प्रभावित भइरहेको छ। यता शीतलहरबाट जोगिन व्यक्ति विशेषले ठाउँ ठाउँमा दाउरा बाले पनि धनुषाका कुनै पनि स्थानीय तहले आगो ताप्ने व्यवस्था मिलाएका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.