|

पर्वत : २३ औँ संस्करणको आहा–रारा पोखरा गोल्ड कपमा आज दुई विभागीय टिम नेपाल पुलिस क्लब र एपीएफ क्लब भिड्दै छन्।

सहारा क्लब पोखराको आयोजनामा भइरहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित प्रतियोगितामा नेपाल प्रहरीको नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब दिउँसो साढे २ बजे पोखरा रंगशालामा भिड्न लागेका हुन्।

नेपालका ‘ए’ डिभिजनका क्लब, विभागीय टिमहरू, सुपर लिगका टिम, विदेशी टिम, मोफसलका टिमसहित आयोजक सहारा क्लबकै टिम गरी १२ टिमको सहभागिता छ।

शुक्रवारको खेलबाट विजेता बन्ने पुलिस वा एपीएफमध्येको एक टोलीले माघ १६ मा चर्च ब्वाइज युनाइटेड फुटबल क्लबसँग भिड्नुपर्ने छ। 

गत मंगलबारदेखि पोखरा रंगशालामा प्रतियोगिता चलिरहेको छ। यो संस्करणको विजेताले उपाधिसहित १२ लाख एक हजार रुपैयाँ र दोस्रो हुने टोलीले छ लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन्।

सहभागी टोलीले हरेक खेलमा प्रोत्साहन रकम पाउने सहारा क्लबका अध्यक्ष केशवराज बरालले बताए। प्रि–क्वार्टर खेल्ने दुवै टोलीले २० हजार, क्वार्टर फाइनल खेल्ने टोलीले ३० हजार तथा सेमिफाइनल खेल्ने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यसरी सबै पुरस्कारका लागि २८ लाख ३२ हजार ५५५ रुपैयाँ खर्च हुने छ। 

विगत २३ वर्षदेखि निरन्तर सञ्चालन भएको यो प्रतियोगिताबाट बचत हुन आएको रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गर्ने गरिएको छ। सहारा क्लबले २०६१ साल देखि आवासीय रूपमा निःशुल्क स्वास्थ्य, शिक्षा दीक्षा लगायत फुटबल प्रशिक्षण सहित सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आइरहेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.